बालुवाटार सर्वदलीय बैठकबारे बोल्यो प्रधानमन्त्रीको सचिवालय

बालुवाटार सर्वदलीय बैठकबारे बोल्यो प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बस्ने गरी सर्वदलीय बैठक बोलाएको समाचार सबै सञ्चारमाध्यममा आए।

शनिबार बिहान 'सर्वदलीय बैठक बस्ने, एमालेलाई जानकारी छैन' भन्ने समाचार बाहिरिएपछि प्रधानमन्त्रीको सचिवालयले समाचारको खण्डन गरेको छ। 

प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बालुवाटारमा शनिवारका लागि सर्वदलीय बैठक आव्हान नभएको बताए। ‘प्रधानमन्त्रीले सर्वदलीय बैठकको कुरा नै गर्नु भएको छैन,’देउवाले उकेरासँग भने,‘बैठक बोलाउनेबारे सचिवालयमा जानकारी आएकै छैन।’ 

उनले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको समाचार गलत भएको बताए। ‘खोइ कसले लेख्यो?’देउवाले प्रश्न गरे।

उनले कसैले लेखेको समाचार अरूतिर पनि त्यही साभार भएको हुनसक्ने बताए। ‘सचिवालयले सर्वदलीय बैठक बस्ने जानकारी नै दिएको छैन,’देउवाले भने,‘कसैले लेख्यो होला, त्यही सबैतिर आयो होला,यहाँबाट सर्वदलीय बैठक बस्ने जानकारी दिइएको छैन।’ 

बालुवाटारमा शुक्रबार सत्ता गठबन्धन दलको बैठक बसेको थियो। गठबन्धन दलको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनबारे कानुनका विज्ञसँग छलफल गर्ने बताएका थिए। 

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले स्थानीय तह निर्वाचनबारे एक दुई दिन भित्र कानुनविद्हरूसँग छलफल गर्ने जानकारी दिएको बताइन। उनले सर्वदलीय बैठक बस्नेबारे सत्ता गठबन्धन दलको बैठकमा कुरा समेत नउठेको सुनाइन।

‘स्थानीय चुनाव गराउन संविधान र कानुनमा रहेको व्यवस्थाबारे एक दुई दिनमा सत्ता गठबन्धन दलले कानुनका विज्ञसँग छलफल गर्ने कुरा भएको हो,’पौडेलले उकेरासँग भनिन्,‘सर्वदलीय बैठक बस्ने र एमालेलाई बोलाउने भन्ने कुरा नै भएको छैन।’ 

८ माघ, २०७८, ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।