डाक्टर लोहनीलाई कालोमोसो दलेर लखेट्ने वीरका कर्मचारीको धम्की

डाक्टर लोहनीलाई कालोमोसो दलेर लखेट्ने वीरका कर्मचारीको धम्की

स्वास्थ्य मन्त्री विरोध खतिवडाले विवादित छविका लोहनीलाई वीर अस्पतालको प्रमुख प्रशासकीयमा नियुक्त गरेपछि कर्मचारीले बुधबार विरोध प्रदर्शन गरेका हुन्। 

विगतमा स्वास्थ्य बिमा बोर्ड, स्वास्थ्य सेवा विभाग, कोसी अस्पताल लगायतमा असफल र मेडिकल माफियासँग विशेष सम्बन्ध भएका डा लोहनीले पहिलै देखि वीर अस्पताल विरोधी रवैया देखाएको कर्मचारीले आरोप लगाएका छन्। 

अस्पतालका कर्मचारी सङ्घ सङ्गठनले न्याम्सलाई स्वायत्त हुन नदिने, न्याम्स सेवा आयोग गठनमा अवरोध गर्ने, सर्किजल भवन सञ्चालनमा बजेट माग गर्दा बजेट नदिएर भूत बगंला बनाउने काम गरेको आरोप लगाउँदै डा. लोहनीको नियुक्तिको विरोध गरेका हुन्। 

उनीहरूले दुवाकोट परियोजना अगाडि बढ्न नदिने, वीर अस्पतालका कर्मचारीको तलब भत्ता पटक पटक रोक्ने, समायोजन भएका कर्मचारीसँग आर्थिक कारोबार गर्ने, रमाना नदिने जस्तो अस्पताल विरोधी कार्य डा. लोहनीले गर्दै आएको आरोप पनि लगाएका छन्। 

कर्मचारीहरूले वीर अस्पतालमा बाहिरबाट आउने प्रमुखलाई नमान्ने चेतावनी पनि दिएका छन्। १२ औ तहमा बढुवा भएपछि स्वास्थ्य मन्त्रालयले वीर अस्पताल  पठाउन  खोजे पनि अस्पताल विरोधी छवि बनाएका र अस्पतालमा आर्थिक सङ्कट छ भन्दै आउन नचाहेका डा. लोहनी अहिले आउनुमा रहस्य रहेको कर्मचारी सङ्घ सङ्गठनको आरोप छ। 

गत साउन देखि अस्पताल सुधारतर्फ उन्मुख रहेको भन्दै कर्मचारीले तलब भत्ता समयमै पाउन थालेको उल्लेख गरेका छन्। चिकित्सक, कर्मचारी सङ्घ सङ्गठन र न्याम्स पदाधिकारीले वीर अस्पतालको सुधार विरोधी र विवादितलाई प्रवेश निषेध गर्ने, आन्दोलन गर्ने र अन्तमा कालोमोसो दलेर लखेट्ने धम्की समेत दिएका छन्।

२८ पुस, २०७८, १२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।