महोत्तरीको मनरासिस्वा नगरपालिकामा 'जनतासँग मेयर' कार्यक्रम

महोत्तरीको मनरासिस्वा नगरपालिकामा 'जनतासँग मेयर' कार्यक्रम

काठमाडौं: महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाले जनताको समस्या बुझ्न 'जनतासँग मेयर' कार्यक्रम लागू गरेको छ। नगरप्रमुख मोहन पाण्डेले नगरभित्रका जनताको दुःख बुझ्न र जनाताले चाहेअनुसार विकासका कार्यक्रम गर्न जनतासँग मेयर कार्यक्रमको सुरुआत गरेको बताए।

उनले पालिकाको कार्यालयमा बसेर योजना बनाउँदा जनताको दुःख पीडाको जानकारी नभएको, समस्या सामाधान गर्न नसकेको र आवश्यक विकासको कामसमेत नभइरहेको गुनासो आउन थालेपछि नगरभित्रका प्रत्येक गाउँ टोलमा गएर जनताका समस्या बुझ्दै योजना बनाउन लागेको बताए।

नगरप्रमुख तथा जनप्रतिनिधिको टोलीले नगरबासीकै चाहनाअनुरूप काम गर्ने प्रतिबद्धता जनाउँदै गाउँमै गएर राय सुझाव सङ्कलन गर्दै आएका छन्। गाउँमै योजना बनाउन थालेपछि मनरासिस्वा –४ का नरेश राउत, शिवजी सहनी, दुःखा मुखियालगायतका स्थानीयले आफ्नो टोलमा बाटो, नाला, किसानका लागि सिँचाइको व्यवस्थापन, शिक्षामा देखिएको कमी कमजोरी र स्वास्थ्यचौकीमा पर्याप्त औषधिको व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

वडा नं ५  सुदीश सहनी, रामबाबु यादव र बेचन रायले गाउँका लागि गाउँमै योजना बनाउँदा दिगो हुने बताए।

१० वडा रहेको सो नगरपालिकाको जनसङ्ख्या करिब ५० हजारको हाराहारी छ।

५ पुस, २०७९, ११:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।