राजविराज नगरपालिकाले शहीद परिवारलाई मासिक ५१ सय भत्ता दिँदै

राजविराज नगरपालिकाले शहीद परिवारलाई मासिक ५१ सय भत्ता दिँदै

काठमाडौं: सप्तरीको राजविराज नगरपालिकाले विभिन्न आन्दोलनमा शहीद भएका नगरभित्रका शहीद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराउन थालेको छ। आर्थिक वर्ष ०७९/८० को नगरसभाको निर्णयानुसार शहीद परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ।

हालसम्म उक्त सहयोग राशि पाउने शहीद परिवारको सङ्ख्या तीन पुगेको छ। मासिक पाँच हजार एक सयका दरले शहीद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने नगरसभाको निर्णयानुसार सहयोग राशि वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले जानकारी दिए।

उक्त सुविधा प्राप्त गर्न शहीद परिवारले शहीद प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिसलगायत आवश्यक कागजात पेश गर्नुपर्ने प्रावधान राखिएको छ। सो अनुसार नगरपालिकाले सूचनासमेत जारी गरेको छ।

नगरसभाको पहिलो बैठकबाटै निर्णय भएबमोजिम गत साउनदेखिकै मासिक भत्ता जोडेर सहयोग प्रदान गर्न थालिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीनले जानकारी दिएकी छिन्।

२ पुस, २०७९, १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।