लुम्बिनीको राजधानी देउखुरी सरेपछि गाउँपालिकाले तोक्यो तीन किसिमका कोठाभाडा

लुम्बिनीको राजधानी देउखुरी सरेपछि गाउँपालिकाले तोक्यो तीन किसिमका कोठाभाडा

बुटवल : लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट भालुवाङ सारेपछि दाङको राप्ती गाउँपालिकाले भाडामा दिने कोठाभाडा निर्धारण गरेको छ।

मुख्यमन्त्री कार्यालय, प्रदेशका मन्त्रालयहरू र प्रदेशसभा भवनसमेत बनिसकेको अवस्थामा त्यहाँ बस्न जानेहरूका लागि गाउँपालिकाको बैठकले अधिकतम ३ हजार रूपैयाँ कोठाभाडा निर्धारण गरेको हो।

‘अब यहाँ कर्मचारीहरू, प्रदेशसभा सदस्यहरूले कोठा भाडामा लिएर बस्नुपर्ने भएकाले सहुलियत दरमा कोठाको भाडादर तोकेका हौं। यसले कर्मचारीहरूलाई सहज र प्रदेशसभा सदस्यहरूका लागि समेत सहज हुनेछ’ उनले भने।

उनका अनुसार अटेचसहितको राम्रो कोठा भाडामा करबाहेक मासिक ३ हजार, मध्यमलाई २ हजार ८ सय र सामान्य कोठालाई २ हजार २ सय रूपैयाँ घरबेटीले लिन पाउनेछन्। योभन्दा बढि मूल्यमा कोठा भाडामा नलगाउन उनले पालिकावासीलाई आग्रहसमेत गरेका छन्।

बुटवलबाट सामानहरू ल्याउन थालेसँगै देउखुरी क्षेत्रको सरसफाइलाई तीव्रता दिइएको छ। प्रमुख राजमार्ग, सहायक राजमार्गहरूको दायाँबायाँ दुवैतर्फ सरसफाइ तथा सौन्दर्यकरण गर्न सबै राजनीतिक दल, भातृ संगठन, सामाजिक संघसंस्था तथा आम राजधानीबासीलाई अपिल गरिएको छ।

‘राजधानीमा आउने पाहुनाको स्वागत सत्कारका लागि मित्रवत व्यवहार अपरिहार्य छ’, अध्यक्ष बिष्टले भने,  ‘उद्योगी, व्यवसायी, होटल व्यवसायीलगायत आमसर्वसाधारण यस महान अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछौं।’

राजधानी क्षेत्र परिसरभित्र मुख्यमन्त्री कुलप्रसाद केसीले व्यवस्थापनको नेतृत्त्व सम्हालेका छन्। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा केसीले घाँस काटेर सरसफाइ अभियानको शुरूवात गरेका छन्।

२१ मंसिर, २०७९, १२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।