गुल्मी–१: प्रदेश सभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी–१: प्रदेश सभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

काठमाडौं: गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधि सभासहित दुवै प्रदेश सभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधि सभामा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीसँगै प्रदेश सभा (क) मा एमालेका चिन्तामणि पाण्डे र प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।

यस क्षेत्रमा कुल ६९ हजार ६८३ मत खसेको थियो। जसमा कांग्रेसका भण्डारीले ३३ हजार ७४४ मत प्राप्त गरे। उनीसँग प्रतिस्पर्धीमा रहेका प्रदीप ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गरे।

त्यस्तै प्रदेश सभा (क) मा एमालेका उम्मेदवार पाण्डेले ८६४ मतको अग्रतासहित १५ हजार १२७ मत प्राप्त गरी विजयी भए। उनीसँग सत्ता गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा रहेका माओवादी केन्द्रका सुदर्शन बरालले १४ हजार २३६ मत प्राप्त गरेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए।

साथै प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की ६०५ मतको अग्रतासहित १८ हजार ५९६ मत प्राप्त गरी विजयी भए। उनीसँग प्रतिस्पर्धामा रहेका एमालेका फर्सराम पाण्डेले १७ हजार ९९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए।

यस क्षेत्रमा कुल एक लाख १९ हजार २८८ मतदाता थिए। जसमध्ये खसेको मत ६९ हजार ७५९ हो। यस क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका ७ देखि १४ सम्मका वडा पर्दछन्।

योसँगै गुल्मीमा प्रत्यक्षतर्फका दुवै प्रतिनिधि सभा र चार प्रदेश सभाको मतगणना सकिएर अन्तिम परिणामसँगै ६ प्रतिनिधि निर्वाचित भएका छन्। यतिबेला समानुपातिक तर्फको मतगणना सुरु भएको छ।

१० मंसिर, २०७९, १०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।