नुवाकोट–१ मा माओवादी केन्द्रका तामाङ विजयी

नुवाकोट–१ मा माओवादी केन्द्रका तामाङ विजयी

काठमाडौं: नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा तामाङ २६ हजार ५४८ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार बद्री मैनालीले २३ हजार ४६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए। यही मङ्सिर ४ मा भएको निर्वाचनमा खसेको ६३ हजार ३७९ मतको आज बिहान सम्पन्न गणनाको अन्तिम परिणामअनुसार माओवादी केन्द्रका तामाङ तीन हजार ११२ मतान्तरले विजयी भएका हुन्।

पूर्वमन्त्रीसमेत रहेका तामाङ यसअघि विसं २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. प्रद्युम्न महतले ६ हजार ११३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदर्शन सिटौलाले एक हजार ६११ मत प्राप्त गरे।

चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित १७ उम्मेदवार भए पनि अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको निर्वाचन अधिकृत भुसालले जानकारी दिए।

१० मंसिर, २०७९, ०८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।