तेस्रो पटक संसद् छिर्दै एमालेका छविलाल विश्वकर्मा, घनश्याम भुसाल ३५ सय मतान्तरले पराजित

तेस्रो पटक संसद् छिर्दै एमालेका छविलाल विश्वकर्मा, घनश्याम भुसाल ३५ सय मतान्तरले पराजित

बुटवल: एमालेका सचिव छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश गर्दै छन्। विश्वकर्मा रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट आफ्नै पूर्वसहकर्मी घनश्याम भुसाललाई तीन हजार ५६४ मतान्तरले पराजित गरेका हुन्।

बुटवल उपमहानगरपालिका–११, रुपन्देहीका स्याथी बासिन्दा विश्वकर्मा २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए। यसपटक उनले २४ हजार ८७२ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

निकटतम प्रतिस्पर्धी भुसालले २१ हजार ३०८ मत प्राप्त गरे। भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

२०६४ सालमा विश्वकर्मा कृषि तथा सहकारीमन्त्री बनेका थिए भने २०५१ सालमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य र २०५५ सालमा उपेक्षित, उत्पीडित र दलित वर्गको उत्थान विकास समितिको उपाध्यक्ष बनेका थिए।

विश्वकर्मा २०६४ सालमा समानुपातिकतर्फ एमालेबाट संविधान सभा सदस्य चयन भएका थिए।

१० मंसिर, २०७९, ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।