रेसम पावर : थारु मुक्तीको नारामा श्रीमती र बाबु बने सांसद

रेसम पावर : थारु मुक्तीको नारामा श्रीमती र बाबु बने सांसद

काठमाडौं : आठ सुरक्षाकर्मी अनि एक नाबालकको हत्याको शड्यन्त्रणमा संलग्न रहेको अभियोग अदालतबाट पुष्टि भएसँगै जन्मकैद पाएका रेसम चौधरी डिल्लीबजार कारागारमा छन्। थारु आन्दोलनकोक्रममा सुरक्षाकर्मीमाथि भएको हमलामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ८ जना मारिएका थिए भने एक नाबालक घरमै मारिएका थिए।

सोही घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालत र उच्च अदालतबाट चौधरीलाई दोषी ठहर गर्दै जन्मकैद सुनाइएको थियो। उनै चौधरी संरक्षक बनेर खुलेको नागरिक उन्मुक्ति पार्टीबाट उनकै श्रीमती र बाबु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

२०७४ मा  रेसम फरारै रहेको अवस्थामा वारेसमार्फत उम्मेदवारी दिएर निर्वाचित भएका थिए। पछि उनी पक्राउ परेर जेल चलान गरिए। जेलमै रहेको बेलामा उनले संसद् सचिवालयमा गएर प्रतिनिधि सभा सदस्यको शपथ खाए पनि पद भने निलम्बनमा रह्यो।

२०७९ को निर्वाचनका लागि नौ महिना अगाडि उनकै योजनामा पार्टी दर्ता भएर स्थानीय तहको निर्वाचनमा सहभागी भएको थियो। वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले भजनी, टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका गरेर चार ठाउँमा जितेको थियो।

नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा तीन उम्मेदवार र प्रदेशमा पाँच उम्मेदवारले जिते। बर्दिया-२ का स्वतन्त्र उम्मेदवारलाई उन्मुक्ति पार्टीले समर्थन मात्र गरेको हैन उनी रेसमको बाबु समेत भएकाले उनले समेत सोही पार्टीलाई सघाउँदा सांसद सङ्ख्या ९ हुने देखिन्छ।

कैलाली क्षेत्र नम्बर १ बाट जितेकी रन्जिता श्रेष्ठ चौधरी रेसमकी श्रीमती हुन्। कानुनी रूपमा उनी अध्यक्ष भएर पार्टी दर्ता सम्भव नभएपछि रन्जितालाई पार्टीको अध्यक्ष राखिएको छ। उनले ३० हजार ४ सय ४ मत पाएकी छिन्। उनले कांग्रेस उम्मेदवार रामजनम चौधरीलाई हराएकी हुन्। यस अगाडि यो क्षेत्रबाट रेसमले जितेका थिए। निर्वाचन आयोगमा राखिएको विवरणमा रन्जिताको शैक्षिक योग्यता केही उल्लेख छैन।

रेसमले बर्दिया २ बाट उम्मेदवारी दिए। तर आफ्नो उम्मेदवारी खारेज हुनसक्ने शङ्का गर्दै उनका बाबु लालवीर चौधरी स्वतन्त्र उम्मेदवार बनेका थिए। निर्वाचन आयोगले रेसमको उम्मेदवारी खारेज गरिदियो।

स्वतन्त्र उम्मेदवार बनेका लालवीरलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्यो र उनी २६ हजार ५ सय २० मतले विजयी भए। उनले एसएलसीसम्म अध्ययन गरेका छन्।

उनको पार्टीबाट कैलाली क्षेत्र नम्बर २ बाट अरुन चौधरी र क्षेत्र नम्बर ३ बाट गङ्गाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन्। उनको शैक्षिक योग्यता एलएलसी हो। गंगारामले स्नातक अध्ययन गरेको आयोगको विवरणमा उल्लेख छ।

प्रदेश सभातर्फ १ को (क) बाट कैलाश चौधरी, (ख) बाट लक्ष्मण किशोर चौधरी, २ को (ख) बाट रामेश्वर चौधरी र ३ को (क) बाट घनश्याम चौधरी, (ख) बाट खुसीराम डंगौरा थारु निर्वाचित भएका छन्।

कैलालीमा भएको आन्दोलन हिंसात्मक बन्दै सुरक्षाकर्मी र एक नाबालक मारिए। त्यसको प्रतिकार भन्दै सो क्षेत्रका थारु बस्तीमा आक्रमण हुँदा राज्यले घटनामा संलग्नहरूमाथि कारबाही नगरेपछि स्थानीय आक्रोशित भएका थिए।

आन्दोलनपछि सो क्षेत्रका स्थानीयको भएको भौतिक क्षति बापत राज्यले क्षतिपूर्ति दिइसकेको छ। मुख्य योजनाकारको आरोपमा रेसमले जन्मकैद पाएका छन्। उनी डिल्लीबजार जेलमै बसेर कैलालीमा राजनीतिक गतिविधि बढाउन सक्रिय छन्।

उनले राज्यले थारुहरूमाथि अन्याय गरेको भन्दै आफ्नो पक्षमा माहौल बनाइरहेका छन्। प्रतिनिधि सभा र प्रदेश सभाको नतिजाले सो क्षेत्रमा रेसमको प्रभाव पुष्टि भएको छ।

९ मंसिर, २०७९, २०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।