ललितपुर–३ मा पम्फा र अमृतलाई डा. तोसिमाको चुनौती, स्थानीय भन्छन्– ‘नेताले घाट जाने बाटोसमेत बनाएनन्’

ललितपुर–३ मा पम्फा र अमृतलाई डा. तोसिमाको चुनौती, स्थानीय भन्छन्– ‘नेताले घाट जाने बाटोसमेत बनाएनन्’

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर क्षेत्र नंं ३ मा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल, एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसहित २० जनाले उम्मेदवारी दिएका छन्।

मंगलबार उकेराकर्मी खोकना पुग्दा बसपार्क नजिकैको दोबाटोमा रहेको पाटीमा चार व्यक्ति गफिँदै थिए। ६६ वर्षका श्रीभक्त महर्जन, ७४ वर्षका माइला महर्जन, ७१ वर्षका जुजुभाई र ५४ वर्षका सुमन महर्जन पाटीमा पारिलो घाम ताप्दै चुनावकै गफ गरिरहेका थिए।

उनीहरूको कुराकानीमा यसअघि चुनाव जितेर जाने नेताले स्थानीयका सामान्य समस्या सम्बोधन नगरेको बुझियो। खोकनामा सिंचाइको लागि कुलो मेटिएको, खानेपानीको अभाव र घाटसम्म शव लैजाने बाटो नबनेको समस्या सुनाए, खोकना  व्यागल बुँका श्रीभक्त महर्जनले।

बालिग भएपछिका चुनावमा श्रीभक्तले मत दिँदै आएका छन्। यो बीचमा उनले मत दिएका धेरै जना नेता भए, केही मन्त्री पनि। तर, स्थानीय समस्य भने समाधान भएको महसुस गरेका छैनन् उनले। बाटो, खानेपानी, सिंचाइ, मलको असुविधाका कारण आफूहरू समस्यामा रहेको उनले सुनाए।

कृषिमा उत्पादनको तुलनामा लागत बढि लाग्नुका साथै मलखाद र सिंचाइको समस्या छ अहिले यहाँका स्थानीयमा। खानेपानीको समस्या पनि उस्तै।

दक्षिणकालीको मुहानबाट पानी ल्याएर वितरण गरिए पनि खोकना, बुंमति, छम्पी, पाटन, चुनिखेल, नख्खुडोल, पाटन जस्ता ठाउँमा बाँड्ने भएकाले पर्याप्त पानी नपुगेको उनले सुनाए।

अर्कातर्फ, खोकना लगायत वरिपरीका ठाउँबाट घाट जाने बाटो कच्ची छ। बर्खाको समयमा शव लैजाँदा आफैँ मरिने डर भएको श्रीभक्तले सुनाए। ‘खोकनाबाट एक किलोमिटर पुगनपुग छ। वर्खामा शव लिएर जान कष्ट छ’, उनले भने।

पाटीमा बसिरहेका चारै जनाको समस्या सुनाए। जनप्रतिनिधिहरूले गरेका काम आफ्ना लागि पर्याप्त नभएको उनीहरूबाट बुझियो। उनीहरूसँगको गफपछि लागियो छम्पीतर्फ।

छम्पीमा तीन बाजेको कुरा, भान्सा सस्तो होस्
बाटोमा हिँड्दै जाँदा कतै मोटरसाइकलमा नेपालका झण्डा राखिएको त केही गाडीमा विभिन्न राजनीतिक दलका झण्डामा राखिएको देखियो। कतै भित्तामा उम्मेदवारको पोष्टर टाँसेको देखियो। ठाउँ–ठाउँमा दलका चिह्न सडकमा नै लेखिएको देखिन्थ्यो। केही बेर हिँडेपछि बुङमतिको छेउबाट गाडी चढेर छम्पीतर्फ अगाडि बढिरहँदा अधिकांश सडक कच्ची र अस्तव्यस्त देखियो।

राजधानीबाट नजिक भए पनि यहाँका सडक पहाडी दुर्गमको कच्ची सडक भन्दा कम छैन। केही मिनेटको यात्रापछि छम्पी बसपार्क पुगियो। जहाँ गोदावरी नगरपालिका वडा. नं. ९ को वडा कार्यालय पनि रहेछ। दायाँबायाँ हेर्दा कतै उम्मेदवारको चलपहल तथा चुनावी अभियान देखिएन।

त्यसपछि हिँड्दै सडकै सडक फर्किएँ। सडकका तल र माथि खेत बारीमा कतै ट्याक्टरले खेत जोतिरहेको देखिन्थ्यो। व्यक्तिहरू खेतबारीमा काम गर्न व्यस्त देखिन्थे। गहुँ छर्ने बेला भएको रहेछ। ठाउँ–ठाउँमा बारीमा पहेंलै तोरी फूलेको देखिन्थ्यो। 

केही वर आएपछि एउटा चौतारीमा तीन जना पाका उमेरका बाजे गफ गरेर बसिरहेका रहेछन्। तीन मध्ये दुईजना स्थानीय रहेछन्। खडानन्द पन्थी बाजे भने गुल्मीबाट आएको करिब ६ महिना भएको रहेछ। उनी चुनिखेलमा बस्दा रहेछन्।

चौतारीमा बसेका मध्ये ८९ वर्षका स्थानीय कृष्णबहादुर थापासँग कुरा गर्दा उनले भान्सा महंगिएकाले समस्या परेको सुनाए।  नेताहरूले सामान सस्तो बनाइदिउन् भन्ने उनको आशा छ।

‘सस्तो भएन,’ थापाले सुनाए, ‘हाम्रो भत्ता पनि नदियोस् तर लिनदिन राम्रो गरिदेओस्। त्यो भनेको छ हामीले।’

यसअघि पानी भने नेताले ल्याइदिएपछि खान पाएको थापाले सुनाए। ८९ वर्षे वर्षका थापालाई नेताहरूले आफूले नखाई अरुलाई दिँदैनन् भन्ने लाग्दो रहेछ। नेताले आवश्यक परेको पैसा राखेर बाँकी मात्रै विकासका लागि खर्च गर्ने उनले बताए।

थापा बाजेले भने, ‘आफूलाई राखेर दिन्छन्। आफूले कति खानुपर्छ उताबाट निकालेर खाए। बाँकी रहेको त दिन्छन्।’

गुल्मीबाट आएका पन्थी बाजेले भने नेताहरूले न्याय निसाप राम्रो दिनुपर्ने तर्क गरे। ती बाजे बसेको ठाउँ चुनिखेलमा भने पानीको अभाव रहेछ।

‘शीतल शान्ति होस्। पानी खानले मरेका छौं हामी। पानी खान पाइयोस्,’ पन्थी बाजेले भने।

स्थानीय समस्या समाधान गर्न सक्ने इमान्दार नेतालाई मत दिनुपर्ने चौतारीमा भेटिएका तीनै जना बाजेको मत छ। उनीहरूले नेपाली कांग्रेस र एमालेका नेता तथा कार्यकर्ता धेरै मत माग्न आए पनि अन्य फाट्टफुट्टमात्रै पुगेको सुनाए।

बुङमतिको चहलपहल
चौतारीमा बसेका बाजेहरूसँगको कुराकानीपछि केही बेर पैदल हिँडेपछि बस चढेर बुङमति फर्किएँ। बुङमति बजार छिरेँ। त्यहाँ पनि खासै चुनावी प्रचारप्रसार देखिएन। बुङमति बजारमा पुरानो घरको पिँढी छेउमा पुरानो काठको टेबलमा ४/५ जना पाको उमेरका बाजेहरू बसिरहेका थिए।

उनीहरूसँग कुराकानी गर्दा नेताहरूले मल नदिएकाले खेती नै गर्न नपाएको गुनासो सुनाए। एक जना करिब ८० वर्षका देखिने बाजेले भने, ‘हामीलाई मल खोइ, खेती गर्न नपाएपछि अब के खानु?’

तर, उनीहरूले औपचारिक कुरा गर्न भने मानेनन्। बुङमतिमा मात्रै हैन, अन्य धेरै व्यक्तिले औपचारिक कुरा गर्न डराएको पाइयो।

खोकनाको घाट जाने कच्ची बाटो
बुङमतिपछि पुनः खोकना नै फर्किन मन लाग्यो। खोकना फर्किएँ। किनकी खोकनाबाट घाट जाने बाटो कच्ची भएकाले समस्या परेको खोकनाका श्रीभक्तले गुनासो पोखेका थिए। त्यसैले त्यो बाटोका बारेमा थप बुझ्न मन लाग्यो।

केही मिनेटको पैदलयात्रापछि खोकना पुग्दा बसपार्क नजिकै ७० वर्षीय बुद्धि बहादुर शाही भेटिए। उनी साथीहरूसँग नेताहरूकै विषयमा गफ गरिरहेका रहेछन्। शाही खोकनाकै पुराना स्थानीय रहेछन्।

कुरा गर्दै जाने क्रममा ७० वर्षीय शाही बाजेले पनि घाट जाने बाटो कच्ची भएकाले अप्ठेरो परिरहेको सुनाए। नेताले राजकुलो, सिखलचौर घाट जाने बाटो बनाइदिन्छन् की भन्ने आशा रहेछ।

‘मुर्दा लानुपर्छ नि! उ पर पर्छ सिखली चौर,’ खोकनाका ७० वर्षीय शाहीले सुनाए, ‘बाटो भएर के गर्नु। यहाँ–यहाँ सम्म हिलोमा डुबेर (घुँडासम्म देखिउँदै) मुर्दा बोकेर जानुपर्ने बाटो। त्यो बाटोलाई सुविधा गर्नुपर्यो।’

शव लिएर हिँड्ने कच्ची बाटो फराकिलो नभएको हैन। तर, हिउँदको समयमा हिँड्न केही सहज भए पनि वर्षाको समयमा भने हिलोमा पछारिँदै शव लिएर हिँड्नुपर्ने अवस्था रहेको उनले सुनाए।

‘हिउँदमा त सुख्खा छ। वर्षा लागेपछि डुबेर हिँड्नुपर्छ,’ उनले सुनाए, ‘मुर्दा लाँदा कतै हिलोे हुन्छ। बाटो अप्ठेरो हुन्छ। २/३ घण्टा पनि लाग्छ।’

ठूलो बस्ती भएकाले केही दिनको अन्तरालमा नै त्यो बाटो हुँदै शव लिएर गइरहनुपर्ने अवस्था रहेको उनले सुनाए। धेरै नेताहरूले गर्न नसक्ने कामलाई गर्छु भनेर आफूहरूलाई झुक्याउँदै भोट माग्ने गरेको उनले गुनासो पोखे।

सिंचाइका लागि पानी नहुँदा खेत बारी नै बाँझो रहेको उनले पनि सुनाए। खेतीका लागि मल पनि पाउन कठिन भएको शाहीले दुःखेसो पोखे। 

केही बेर कुराकानी गरिसकेपछि ७० वर्षीय शाहीले घाट जाने बाटोको अवस्था देखाउन लगे। खोकना लगायत वरिपरिका बस्तीबाट शव लैजाने गौंडा र दोबाटाहरू उनले देखाउँदै हिँडे। मैले बाजेलाई पछ्याएँ। पुरानो शहरका बीचमा घरका पेटीबाट ठाउँ–ठाउँमा दोबाटोबाट मिसिँदै घाट जोडिने रहेछ।

केही मिनेट खोकना बस्ती छिचोलेपछि ढुंगाले छापेको ओरालो बाटो भेटियो। त्यो बाटो केही मिटर ठूला–ठूला ढुंगाले पुरानो तरिकाले छापिएको रहेछ। त्यसपछि ठूलो फाँट खेत भेटियो। त्यो खेतको बीचमा बाटो रहेछ। त्यही बाटोबाट शव लगिँदो रहेछ। आँखाले भ्याउन्जेल परसम्म हेर्दा बाटो कच्ची र धुलाम्मे देखियो।

शव लैजाने बाटो हेर्दासम्म बेलुकाको घाम डाँडामा बसिसकेको थिए। त्यसपछि शाही बाजेसँग बिदा माग्दै फर्किएँ। मंगलबार दिनभरी हिँडेका यी ठाउँ ललितपुर क्षेत्र नं. ३ मा पर्छन्।

रोचक भिडन्त 
यसपटक यस क्षेत्रको चुनावमा रोचक प्रस्तिपर्धा हुने देखिन्छ।

भुसाल सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर चुनावी मैदानमा होमिएकी छन्। उनी यो क्षेत्रबाट सांसदको रूपमा दुई पटक प्रतिनिधित्व गरिसकेकी छिन् भने डा. कार्की र खड्का पहिलोपटक यस क्षेत्रको नेतृत्व गर्ने दाउमा छन्। कार्की पहिलो पटक संसदीय निर्वाचनमा होमिएकी हुन्। यो क्षेत्रमा ९४ हजार मतदाता छन्।

आउने सांसदले खोकनाबासीका समस्या समाधान गरिदिने आशा छ। यस क्षेत्रको अर्को समस्या निजगढ जोड्ने फास्ट ट्रयाक हो। फास्ट ट्रयाकको सुरुवाती विन्दु बनाउन खोजिएपछि खोकनाबासीले यसको विरोध गर्दै आएका छन्।

भुसाल र खड्कालाई तोसिमाकै चुनौती
ललितपुर क्षेत्र नं. ३ मा सानेपा, इन्द्रायणी बखुण्डोल, झम्सिखेल, पुल्चोक, पूर्वचण्डी, जावलाखेल, महालक्ष्मिस्थान, लगनखेल, सातदोबाटो, एकान्तकुना, तिखेदेवल, भनिमण्डल, बागडोल, नखिपोट, कुपण्डोल, राजतिर्ठाथ, कालोपुल, ठाडोढुंगा, गुसिंगाल, ज्वागल, बुङमति, नख्खु, सैंबु, भैंसेपाटी, खोकना, चुनिखेल, धापाखेल, सुनाकोठी, ताल्छिखेल, ढोलाहिटि, चापाफल, हात्तिबन, हरिसिद्धि, ठेचो, ठैब जस्ता ठाउँ पर्छन्।

ललितपुर क्षेत्र नं. ३ मा गोदावरी नगरपालीकाका वडा नं. १२ र १४ पर्छन् भने ललितपुर महानगरपालिकाका १ देखि ५, १०, १३, १४, १५, १८ र २० देखि २९ गरी जम्मा २२ वटा वडा छन्।

स्थानीय तहको मत हेर्ने हो भने यस क्षेत्रमा नेपाली कांग्रेसको १९ हजार ७४४, एमालेको १९ हजार ७११, माओवादीको ७ हजार ९५८, एकीकृत समाजवादीको पाँच हजार १२९, राप्रपाको चार हजार ४४० र स्वतन्त्रको तीन हजार ५६६ मत देखिन्छ।

यस क्षेत्रमा गत स्थानीय चुनावमा सात वटा वडामा कांग्रेस, आठ वटा वडामा एमाले, तीन वटा वडामा माओवादी केन्द्र र दुई–दुई वटा वडामा एकीकृत समाजवादी र स्वतन्त्रले नेतृत्व गरेका छन्। 

स्थानीय तहको मतलाई आधार मान्ने हो भने सत्ता गठबन्धनको मत राम्रो देखिन्छ। तर, माओवादी केन्द्रकी उम्मेदवार भुसालले कांग्रेसको राम्रो साथ पाए मात्रै जित्ने देखिन्छ।

कांग्रेसको साथ नपाएको खण्डमा उनले जित्न मुस्किल देखिन्छ। भुसाललाई कांग्रेसको पूर्ण साथ पाउन भने त्यति सहज छैन। किनकी यसअघि कांग्रेस नेता मदन आमत्य भुसालसँग हारेका थिए। उनी अहिले गुमनाम जस्तै छन्।

२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भुसाल एमालेको मतको सहयोगमा सांसद बनेकी थिइन्। तर, यस पटक भुसाललाई कांग्रेसको भरमा संसद छिर्न चुनौती देखिन्छ।

अर्कातर्फ डा. कार्कीले पनि भुसालको राम्रो मत काट्ने देखिएको छ। यस क्षेत्रको प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेसको नभएकाले असन्तुष्ट कांग्रेसको मत समेत कार्कीलाई जाने देखिन्छ। स्वतन्त्र र युवाको लहडका कारण पुराना र पाको उमेरकालाई भन्दा युवालाई नै मत दिनुपर्छ भन्ने मतदाताहरूको मतसमेत डा. कार्कीलाई जाने देखिन्छ।

भुसालका अर्का चुनौति हुन् एमालेका उम्मेदवार खड्का। उनी स्थानीय भएकाले खड्कालाई नै मत दिनुपर्छ भन्ने जनमत पनि राम्रै देखिन्छ। तर, यसरी मत बाँडिदा माओवादीकी उम्मेदवार भुसाल र एमाले उम्मेदवारलाई चुनौती थपिएको छ।

त्यसैले पार्टीकै र कांग्रेसको मत सुरक्षित गरेर डा. कार्कीलाई जाने मतसमेत जोगाउन सकेको खण्डमा भुसालले जित्ने देखिन्छ। नत्र खड्का र कार्की दुईमध्ये एक ललितपुर क्षेत्र नं. ३ को सांसद बन्ने देखिन्छ।

नेपाल मेडिक काउन्सिलकी सदस्य डा. कार्की विरुद्ध उम्मेदवारी अयोग्यताको प्रश्न उठाउँदै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेजी गरिदिएको थियो। त्यसपछि सर्वोच्च अदालत पुगेकी कार्कीको उम्मेदवारी खारेजी नगर्न आदेश आइसकेको छ। त्यसपछि डा. कार्की जनतामाझ झन् परिचित बनिन्।

१ मंसिर, २०७९, १८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।