बिरासत र नातावादले गाँजिएको नेपाली राजनीति; श्रीमती, बहिनी, ज्वाईं, छोरी सांसदकाे लाइनमा

बिरासत र नातावादले गाँजिएको नेपाली राजनीति; श्रीमती, बहिनी, ज्वाईं, छोरी सांसदकाे लाइनमा

काठमाडौं : राजनीतिक क्षमता तथा योगदान भन्दा आफन्त तथा नातागोतालाई राजनीतिमा अगाडि बढाउनु नेपाली राजनीतिक संस्कारका लागि नौलो हैन। यसपालीको प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा पनि आफन्त तथा नातागोता नेताको प्राथमिकतामा परेको देखिन्छ।

बाबुरामकी छाेरी मानुषी
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी हुन्, अस्मिता सिंह अर्थात् (मानुषी) यमि भट्टराई। उनी पहिलो पल्ट काठमाडौं निर्वाचन क्षेत्र नं. ७ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छिन्।

मानुषीले गठबन्धनको तर्फबाट माओवादी केन्द्रको कोटाबाट टिकट पाएर चुनावी प्रतिष्पर्धा गर्ने मौका पाएकी हुन्। उनले भट्टराईकै छोरी भएकै कारण यो क्षेत्रबाट सहजै टिकट पाएर प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी हुन्।

भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गोरखा क्षेत्र नं.–२ मा समेत आफ्नो चुनावी मैदान छोडिदिएर काठमाडौं–७ मा माओवादी केन्द्रको कोटामा मानुषीलाई टिकट दिलाएका हुन्।

काठमाडौं–७ मा मानुषी, एमालेका श्याम कुमार घिमिरे र जनता समाजवादी पार्टीका राजेन्द्र प्रसाद श्रेष्ठबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ। यस क्षेत्रबाट प्रनिधिसभा सदस्याका लािग २९ जना उम्मेदवार रहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका धु्रवविक्रम मल्ल, नेपाल मजदुर किसान पार्टीका किरण महर्जन, हाम्रो नेपाली पार्टीका प्रबेन्द्र पोख्रेल, नेपालका लागि नेपाली पार्टीका राम नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुमार खाकी श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका जुजुकाजी महर्जन, नेपाली कांग्रेस (वीपी)का कमल भुसाल, नेपाल आमा पार्टीका कृष्णप्रसाद दवाडी, जनता समाजवादी पार्टी नेपालका शैलेसराज श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार हुन्।

त्यसैगरी यस क्षेत्रबाट राजकुमार कोइराला, हेम बहादुर ढुंगेल, प्रशन्न कुमार अर्याल, भरत तामाङ, लक्ष्मण प्रसाद गजुरेल, ईश्वर अर्याल, जानुका पौडेल, मञ्जु माया तामाङ, प्रकाश कुँवर, यादव लाल कायस्थ, लोक प्रसाद सिंखडा, रविन्द्र कुमार श्रेष्ठ, सुजन रत्न बज्राचार्य, राम बिर मानन्धर, रोजिना अवाले, किरण केसीले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

स्वर्गीय रवीन्द्रकी श्रीमती विद्या
त्यसैगरी विद्या भट्टराई स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी श्रीमती हुन्। मंसिर ४ मा हुने चुनावमा एमालेको कोटामा कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार बनेकी छन् उनी।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हुँदा २०७५ फागुन १५ गते अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि विद्या संसदमा प्रवेश गरेकी हुन्। त्यो बेला अधिकारीसहित सात जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।

अधिकारीको मृत्युपछि कास्की–२ मा २०७६ मंसिरमा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन भयो। विद्याले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट यहाँ उम्मेदवारी दिइन्। उनी विजयी भइन् र प्रतिनिधि सभा सदस्यका रूपमा संसद प्रवेश गरिन्।

यद्यपि उनले विद्यार्थी जीवनमा भने एमालेको सक्रिय राजनीति गरेकी थिइन्। अधिकारीसँग विवाह गरेपछि उनी राजनीतिबाट टाढा भएर अध्यापनतर्फ लागेकी थिइन्। तर, अधिकारीको देहावसानपछि तत्कालीन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई उम्मेदवार बनाएका हुन्।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि १७ जना उम्मेद्वार छन्। जनता समाजवादी पार्टीका बुद्धिकुमारी गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्ण राज पन्त, नेपाल मजदुर किसान पार्टीका पशुपति प्रजापति,  एकिकृत समाजवादीका श्रीनाथ बराल, जनमत पार्टीका महेन्द्र शर्माको यहाँ उम्मेदवारी छ।

यस्तै, हाम्रो नेपाली पार्टीका शिरिष गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका ज्ञान राज गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बाल कुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीका ईश्वर वहादुर राना, आमूल परिवर्तन मसिहा पार्टीका गिता बहादुर रोका, राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कंडेल र स्वतन्त्र उम्मेद्वार महादेव गुरुङ, तारानाथ सुवेदी, जमुना शर्मा, गिता नाथ, ऋगेन्द्र गिरी उम्मेदवार छन्।

दाहालका ज्वाईँ चुनावी मैदानमा
त्यसैगरी मोरङ क्षेत्र नं.–६ ‘क’ बाट प्रदेश सभा सदस्यका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कान्छा ज्वाईं जीवन आचार्य चुनावी प्रतिष्पर्धामा छन्। उनी दाहालकी छोरी गंगाका श्रीमान् हुन्।

आचार्य यस क्षेत्रबाट २०७४ को चुनावमा पनि पराजित भएका थिए। दाहालका ज्वाई भएकै नाताले उनलाई चुनावी प्रतिष्पर्धाका लागि टिकट पाउन सहज भएको देखिन्छ।

मानुषी, विद्या र जीवनले राजनीतिक विरासतकै आडमा राजनीतिमा मौखा पाएका हुन्। यी तीन व्यक्तिलाई योगदानको आधारमा भन्दा बिरासतकै जबरजस्त रूपमा प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि टिकट दिइएको लुक्दैन।

यतिमात्र होइन, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा (१) बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका छन् भने उनकी पत्नी आरजु राणा प्रतिनिधि सभास दस्यको समानुपातिक उम्मेदवार हुन्।

गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिँदा पत्नी मञ्जु खाँण समानुपातिकको सूचीमा छिन्।

उता शिक्षा मन्त्री तथा माओवादी नेता देवेन्द्र पौडेल बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्दा श्रीमती बलावती शर्मा पौडेल समानुपातिक उम्मेदवार हुन्।

माओवादी केन्द्रका नेता शक्ति बस्नेत र जनार्दन शर्माका बहिनीहरू क्रमशः ज्ञानु बस्नेत र नारायणी शर्मा पनि प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा छन्।

त्यसैगरी जनता समाजवादी पार्टीका नेता अशोक कुमार राई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बन्दा श्रीमती शुशीला श्रेष्ठ समानुपातिक उम्मेदवार हुन्।

माओवादी केन्द्रका नेता वर्षमान पुन रोल्पा (१) बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बनेका छन् भने उनकी श्रीमति ओनसरी घर्ती काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्याको उम्मेद्वार बनेकी छन्। यद्यपि घर्ती माओवादी आन्दोलन र सशस्त्र द्वन्द्वबाट जन्मिएकी नेता हुन्।

त्यसैगरी एमालेका उम्मेदवार रघुवीर महासेठ धनुषा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार लागि चुनावमा भिडिरहेका छन् भने धुनषा–३ बाट उनकी पत्नी जुली कुमारी महतो (महासेठ) उम्मेद्वारी दिएर चुनावी मैदानमा छिन्।

टीकापुर घटनामा जिल्ला र उच्च अदातलले दोषी ठहर गरेका तर सर्वोच्च अदालतमा मुद्दा विचाराधनी रहेका कारण निलम्बनमा परेका पूर्व सांसद रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेकी छन्।

टीकापुर घटनाका कारण उच्च अदालतबाट जन्मकैदको सजाय पाएका चौधरी डिल्लीबजारस्थित कारागारमा सजाय भोगिरहेका छन्। चौधरी बर्दिया क्षेत्र नं. २ बाट उम्मेद्वार बने पनि चौधरीको भने उम्मेद्वारी खारेज भएको छ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरकी छोरी मिनाक्षी ठाकुर प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेद्वार छिन्। महन्थ महोत्तरी–३ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार छन्।

एमालेका नेता शंकर पोखरेलकी बहिनी मेनका कुमारी पोखरेल पनि प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक कोटाका सूचीमा छिन्।

३० कात्तिक, २०७९, १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।