उपत्यकामा डेंगुले महामारीको रूप लिँदै, ‘स्वास्थ्य आपतकाल’ घोषणा गर्न विज्ञको सुझाव

उपत्यकामा डेंगुले महामारीको रूप लिँदै, ‘स्वास्थ्य आपतकाल’ घोषणा गर्न विज्ञको सुझाव

काठमाडौं : काठमाडौं उपत्यकामा डेंगु संक्रमण द्रूत गतिमा फैलिरहेको देखिएको छ। अस्पतालहरूमा डेंगु संक्रमणको चाप बढेको बढ्यै छ। संक्रमण बढेसँगै केही अस्पतालमा डेंगु परीक्षण कीटसमेत अभाव हुँदै गएको छ।

डेंगु संक्रमण महामारी चरम उत्कर्षमा पुगेर नियन्त्रण बाहिर गएकाले ‘राष्ट्रिय स्वास्थ्य आपतकाल’ नै घोषणा गर्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले बताए।

डा. मरासिनिले भने, ‘यो त महामारी भन्दा पनि म्यासिभ आउट ब्रेक भयो, राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्छ।’

सरकारले सार्वजनिक गरेको संक्रमितको संख्या भन्दा एकदमै धेरै मानिसमा डेंगु देखिएकाले स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्नेमा उनको जोड छ। स्वास्थ्य आपतकाल घोषणा गरेर डेंगु नियन्त्रण तथा संक्रमितको उपचार लगायत व्यवस्थापनमा ध्यान दिन डा. मरासिनीको सुझाव छ।

‘हस्पिटलमा बेड नपाउने लगायत सबै समस्या हुन सक्छ,’ डा. मरासिनीले भने, ‘बजेट छुट्याउनु पर्यो, रोकथाम र उपचारको व्यवस्था मिलाउनुपर्छ।’

‘प्रकोप त देखिसकिएको छ,’ उनले भने, ‘महामारी घोषणाका लागि विशेषज्ञसँग छफफलमा छौं।

स्वास्थ्य आपतकाल घोषणा गरेर डेंगु नियन्त्रण लगायतको काम गरे व्यक्ति पनि जागरुक भएर नियन्त्रणका लागि सहजता हुने र उपचारमा सहजता हुने डा. मरासिनि बताउँछन्। तर, सरकार भने डेंगुलाई महामारी घोषणा गर्ने अवस्थामा छैन।

काठमाडौं उपत्यकामा द्रूत गतिमा डेंगु फैलिरहेको अवस्थामा समेत सरकारले न राम्रोसँग अध्ययन गरेको छ न त नियन्त्रणमा नै ठोस कदमम चालेको देखिन्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भने डेंगु संक्रमण महामारी घोषणा गर्ने की नगर्ने भन्ने विषयमा छलफल भइरहेको बताउँछन्। विशेषज्ञहरूसँग राय तथा विश्लेषण गरेर मात्रै महामारी घोषणा गर्नुपर्ने उनको भनाइ छ।

‘प्रकोप त देखिसकिएको छ,’ उनले भने, ‘महामारी घोषणाका लागि विशेषज्ञसँग छफफलमा छौं।’

‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मागे अनुसार कीट उपलब्ध गराएको छैन,’ उनले भने, ‘एक हजार माग्दा दुई सय दिन्छ, हिजोमात्रै दुई सय ६५ वटा टेष्ट गरेका छौं।

डेंगु नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरपालिकामा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानलाई विशेष प्राथमिकता दिइएको र त्यसलाई थप प्रभावकारी बनाउनतर्फ लागिरहेको उनले बताए।

डेंगु संक्रमणका कारण यसवर्ष १ जनाको मृत्यु भएको छ।

भरिभराउ टेकु अस्पताल, टेष्ट कीटका अभाव 
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगु संक्रमित बिरामी भरिभराउ भएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए। संक्रमितको चाप बढेसँगै डेंगु परीक्षण कीटको समेत अभाव हुने अवस्था निम्तिएको उनको भनाइ छ।

‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मागे अनुसार कीट उपलब्ध गराएको छैन,’ उनले भने, ‘एक हजार माग्दा दुई सय दिन्छ, हिजोमात्रै दुई सय ६५ वटा टेष्ट गरेका छौं।’

तर, महाशाखाका निर्देशक डा. दास कीट अभाव भएको स्वीकार्न तयार छैनन्। मागेको ठाउँमा दिइरहेको दाबी गर्दै उनले थप कीटहरू जुटाउँदै गरेको बताए। विश्व स्वास्थ्य संगठनले पनि डेंगु परीक्षण कीट ल्याइरहेको उनले बताए।

टेकु अस्पतालको डेंगु क्लिनिकमा मात्रै दैनिक एक सयभन्दा बढी डेंगु संक्रमित तथा डेंगु संक्रमणको लक्षण भएका बिरामी पुग्ने गरेको अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेर बहादुर पुनले बताए।

भक्तपुर अस्पतालमा टेष्ट कीट अभाव हुने संकेत 
भक्तपुरको भक्तपुर अस्पतालमा पनि दैनिक डेंगु संक्रमितको चाप बढिरहेकाले परीक्षण कीटको स्टक छिट्टै रित्तिदै गएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीधर अर्यालले जानकारी दिए। बजारमा किन्न खोज्दा पनि कीट पाउन गाह्रो भएको बताउँदै तत्कालका लागि अभाव नै भइनसकेको उनले बताए।

जुलाईमा दुई जनामा संक्रमण पुष्टि भएको भक्तपुर अस्पतालमा अगस्टमा ६२ जनामा संक्रमण देखियो । यस्तै, सेप्टेम्बरको चार दिनमा २१ जनामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये एक जना उपचाररत रहेको डा. अर्यालले बताए।

संक्रमणको दर हेर्दा यसले महामारीकै रूप लिनेमा डाक्टरहरू चिन्तित छन्। यद्यपि डेंगु प्रकोप अहिलेसम्म व्यवस्थापन गर्न सक्ने अवस्थामा रहेको उनीहरू बताउँछन्।

वीरमा संक्रमितको चाप
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा पनि डेंगु संक्रतिको चाप बढेको छ। आइतबार १२ बजेदेखि सोमबार तीन बजेसम्ममा दुई सय ११ जनामा गरिएको परीक्षणमा ४८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका उपसचिव साग मिश्रले जानकारी दिए।

‘कीट अभाव भएको छैन, बजारमा पनि छन्,’ उनले भने, ‘हामीसँग पनि छन्, थप खरिदको प्रक्रिया अघि बढाएका छौं।

संक्रमण पुष्टि भएकामध्ये २८ जना अस्पताल भर्ना भएको र २० जना संक्रमित चिकित्सकीय परामर्श र औषधिपछि घर फर्केको उनले बताए। उनका अनुसार चिकित्सक, नर्स लगायत डेंगु संक्रमण हुने अस्पतालका कर्मचारीको संख्या पनि ठूलै छ। 

यहाँ भने डेंगु परीक्षणका लागि आवश्यक टेष्ट कीट अभाव छैन।

शिक्षण अस्पतालमा एकको मृत्यु
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पनि डेंगु संक्रमण कम्ति छैन। अझ यहाँ त संक्रमणबाट एक जनाको मृत्युसमेत भइसकेको छ।

अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीका अनुसार डेंगुबाट करिब दुई हप्ताअघि एक व्यक्तिको मृत्यु भयो यहाँ । सोमबार अस्पतालमा १४ जना संक्रमितको उपचार भइरहेको छ।

अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसमेत डेंगु संक्रमित भएका छन्। १० जना कर्मचारीहरू संक्रमित भएको जानकारी पाएको उनले बताए।

शिक्षण अस्पतालको ओपिडिमा डेंगुको लक्षण लिएर पुग्नेको संख्या बाक्लै भएको उनी बताउँछन्। शरीर दुख्यो, ज्वरो आयो भन्ने बिरामीको स्वास्थ्य परीक्षण गर्दा अधिकांशमा संक्रमण पुष्टि भएको उनको भनाइ छ।

मन्त्रालय भन्छ- 'कीट पर्याप्त छ'
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारी भने डेंगु परीक्षणका लागि आवश्यक टेष्ट कीटको अभाव नभएको दाबी गर्छन्। मन्त्रालयमा पनि भएको र थप खरिद प्रक्रिया पनि अघि बढाइएको उनले बताए।

‘कीट अभाव भएको छैन, बजारमा पनि छन्,’ उनले भने, ‘हामीसँग पनि छन्, थप खरिदको प्रक्रिया अघि बढाएका छौं।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि डेंगु परीक्षण गर्ने टेष्ट कीटको अहिलेसम्म अभाव नभएको प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन्।

संक्रमण द्रूत गतिमा उकालो लाग्दै
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकामा डेंगु सङ्क्रमण द्रूत गतिमा फैलिरहेको देखिन्छ।

महाशाखाको २०७८ पुस १७ देखि भदौ १९ सम्मको तथ्याङ्क हेर्दा काठमाडौंमा सङ्क्रमितको सङ्ख्या आठ सय ८८ पुगिसकेको छ। जबकी यो संख्या अघिल्लो महिना (अगष्ट)मा सात सय २७ थियो भने जुलाईमा यो संख्या ३५ थियो।

सङ्क्रमणका कारण स्वास्थ्य जटिलता निम्तिएर व्यक्तिको ज्यानै जाने जोखिम समेत हुने भएकाले सङ्क्रमणको लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श लिनुका साथै उपचारका लागि स्वास्थ्य संस्था जानुपर्ने चिकित्सकको सुझाव छ।

उपत्यकाको तीन जिल्लामध्ये ललितपुरमा सबैभन्दा धेरै डेंगु सङ्क्रमित देखिएका छन्। पुस १७ देखि भदौ १९ सम्ममा ललितपुरमा डेंगु सङ्क्रमितको संख्या एक हजार आठ सय ३२ पुगिसकेको छ। 

अघिल्लो महिना अगष्टमा डेंगु संक्रमितको संख्या एक हजार पाँच सय ५८ थियो भने जुलाईमा यो संख्या ९९ थियो।

पुस १७ यता नेपालभर पाँच हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। 

लक्षण र बच्ने उपाय
डेंगु संक्रमण हुँदा ज्वरो आउने, शरीरका हाडाजोर्नी तथा मांसपेशी कटकट खाने, शरीर दुख्ने जस्ता डेंगुका लक्षण देखिने टेकु अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेर बहादुर पुन बताउँछन्।

यस्तै, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, बान्ता आउने, वाकवाकी लाग्ने, छालामा साना राता डाबर आउने जस्ता लक्षण डेंगु सङ्क्रमण हुँदा देखिने उनले बताए।

त्यस्तै, शरीरमा डेंगु सङ्क्रमण फैलिएर लक्षण लम्बिँदै गएको अवस्थामा गिजा र नाकबाट रक्तस्राव हुने, पिसाब रातो हुने, दिशा कालो हुने जस्ता लक्षण डा. पुन बताउँछन्।

डेंगु भाइरस सङ्क्रमणले कडा रूप लिएको खण्डमा मिर्गाैला, कलेजो, मुटु, स्नायु जस्ता अङ्गमा नकारात्मक असर गर्ने जोखिम हुनेतर्फ चिकित्सक सजग गराउँछन्।

सङ्क्रमणका कारण स्वास्थ्य जटिलता निम्तिएर व्यक्तिको ज्यानै जाने जोखिम समेत हुने भएकाले सङ्क्रमणको लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श लिनुका साथै उपचारका लागि स्वास्थ्य संस्था जानुपर्ने चिकित्सकको सुझाव छ। 

डेंगु सङ्क्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएकाले झुल लगाएर सुत्न, पूरा शरीर ढाक्ने किसिमले कपडा लगाउन र विशेषगरी बिहान र बेलुकीको समयमा लामखुट्टे बढी सक्रिय हुने भएकाले यस्तो समयमा लामखुट्टेको टोकाइबाट बच्न पनि उनको सुझाव छ।

२० भदौ, २०७९, २२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।