कास्कीका २ सय १८ जनप्रतिनिधिले बुझाएनन् खर्च विवरण, पराजित ९ सय ५७ को अवस्था पनि उस्तै

कास्कीका २ सय १८ जनप्रतिनिधिले बुझाएनन् खर्च विवरण, पराजित ९ सय ५७ को अवस्था पनि उस्तै

पोखरा : स्थानीय तहको निर्वाचनको तीन महिना बितिसक्दा पनि कास्कीका जनप्रतिनिधिले चुनावको खर्च विवरण नबुझाएको पाइएको छ।

निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानूनी व्यवस्थाको उल्लंघन गर्दै कास्कीका २ सय १८ जनप्रतिनिधिले खर्च विवरण नबुझाएको निर्वाचन कार्यालय कास्कीले जनाएको छ। स्थानीय तह निर्वाचनमा कास्कीबाट ३ सय ७० जनप्रतिनिधि निर्वाचित भएका थिए।

जनप्रतिनिधि मात्र नभएर विभिन्न दलबाट उमेदवार बनेका १ हजार तीन सय २७ मध्ये १ हजार ४३ जना उमेदवारले पनि खर्च विवरण नबुझाएको कार्यालयले जनाएको छ। जसमध्ये ९ सय ५७ जना पराजित उम्मेदवार हुन्।

स्थानीय तह निर्वाचनमा महानगर प्रमुख–उपप्रमुखले बढीमा ७ लाख ५० हजार, महानगरका वडाध्यक्ष, वडासदस्य, महिला सदस्य, दलित महिला सदस्य र अल्पसंख्यक उम्मेदवारले ३ लाख रुपैयाँमात्रै खर्च गर्न सक्ने व्यवस्था थियो। त्यसैगरी, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार, वडाध्यक्ष र सदस्यले १ लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था थियो।

निर्वाचन ऐनमा उम्मेदवार वा निर्वाचित जनप्रतिनिधिले निर्वाचनमा गरेको खर्चको विवरण निर्वाचन कार्यलयलाई नबुझाए ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। तर, निर्वाचन कार्यालय कसैलाई पनि कारबाहीको प्रक्रिया अघि बढाएको छैन।

निर्वाचन आयोगको आचारसंहितामा उमेदवारले अन्तिम परिणाम आएको ६ महिनासम्म जरिवाना तिरेर खर्च विबरण बुझाउन पाउने ब्यवस्था गरेको छ। यदि जरिवाना तिरेर ६ महिनाभित्र पनि विवरण नबुझाए ६ वर्षसम्म निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ।

पोखरा महानगरपालिकामा मेयरमा निर्वाचित धनराज आचार्य र प्रत्यासी कृष्ण बहादुर थापाले खर्च विवरण बुझाए पनि अन्य दुई दर्जन भन्दा बढी उमेदवारले विवरण बुझाएका छैनन्।

उपमेयर उम्मेदवार बनेका छ जनामध्ये निर्वाचित उपमेयर बाहेकका पाँच जना रञ्जनाकुमारी सेन पौडेल, माधव भण्डारी, सोममाया विक, सेनी परियार, शीतला थापाले खर्च विवरण बुझाएका छैनन्। 

पोखरा महानगरमा निर्वाचित ३३ वडाध्यक्ष मध्ये अझै १६ जनाले खर्च विवरण बुझाउन बाँकी छ। त्यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका निर्वाचित अध्यक्ष र उपाध्यक्षबाहेक ४५ जना निर्वाचित जनप्रतिनिधिले विवरण बुझाउन बाँकी छ। त्यस्तै विभिन्न दलबाट उमेदवार बनेर पराजित भएका १ सय २३ जनाले खर्च विवरण बुझाएका छैनन्।

माछापुच्छे« गाउँपालिकाका निर्वाचित अध्यक्ष सहितका ३२ जनाले नै खर्च बिवरण बुझाएका छैनन्। विभिन्न पार्टीबाट उमेदवार बनेर पराजित १०७ जनाले पनि विवरण बुझाउन बाँकी छ।

रुपा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले बाहेकका अन्यले विवरण नबुझाउँदा ३४ निर्वाचित भएका र ६४ जना पराजित भएका उमेदवारले विबरण बुझाउन बाँकी छ।

त्यस्तै मादी गाउँपालिका अध्यक्ष र उपाध्यक्षले खर्च विवरण पेश गरेका छन् भने अन्यले बुझाएका छैनन्। मादीमा ३५ निर्वाचित र १०१ जना पराजितले उमेदवारले खर्च विवरण बुझाउन बाँकी छ।

१३ भदौ, २०७९, १९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।