मेयर बालेनको अदालत धाउने दिन सुरु भयो, पर्‍यो मानहानिको मुद्दा

मेयर बालेनको अदालत धाउने दिन सुरु भयो, पर्‍यो मानहानिको मुद्दा

काठमाडौँ : सर्वोच्च अदालतको अल्पकालीन आदेश आए लगत्तै सामाजिक सञ्जाल फेसबुकमा लेखेको प्रतिक्रियालाई आधार मान्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अदालतको अवहेलना गरेको दाबीसहित मुद्दा दर्ता भएको छ।

अधिवक्ता दीपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा सोमबार अवहेलना मुद्दा दर्ता गराएका हुन्। नर्भिक अस्पतालले सरकारी जग्गा भाडामा लिएर महानगरसँग अनुमति नै नलिई संरचना बनाएको भन्दै उनी सो संरचना हटाउन गएका थिए।

संरचनामा अक्सिजन प्लान्टसहित रहेकाले दुबैपक्षको प्राविधिक बसेर सो संरचना हटाउने सहमति भए पनि नर्भिक महानगरविरुद्ध अदालत गएपछि अल्पकालीन आदेश जारी भएको थियो। तर सो अझै टुङ्गिएको छैन।

आदेश आएकै दिन मेयर बालेनले फेसबुकमा संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार पनि अदालतलाई दिऊँ भन्दै लेखेका थिए।

रिटको सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले शाहलाई  सात दिनभित्र लिखित जवाफका पेश गर्न आदेश समेत दिएको छ।

मानहानिबारे यस अगाडि सर्वोच्चबाट अदालतको कामकारबाहीबारे टिप्पणी गरेकै आधारमा मानहानि भएको मान्न नसकिने व्याख्या सहितको फैसला आएको थियो।

पछिल्लो समय नक्सा पास विपरीत व्यापारिक संरचना बनाएका क्षेत्रहरूमा मेयर बालेन आफैँ पुगेर अवैध संरचना हटाउन लगाइरहेका छन्। ३५ दिने सूचना प्रकाशित गरेर फिल्डमा गए पनि पर्याप्त समय नदिएको भन्दै उनको आलोचना पनि भइरहेको छ भने उनको अभियानको समर्थन समेत भइरहेको छ।

१३ भदौ, २०७९, १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।