बागमतीका ७६ वर्षका पूर्व मुख्यमन्त्री डोरमणि अब चुनावमा नउठ्ने

बागमतीका ७६ वर्षका पूर्व मुख्यमन्त्री डोरमणि अब चुनावमा नउठ्ने

मकवानपुर : एमाले नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै अहिले देशले साँच्चै नै परिवर्तन खोजेको र दोस्रो पुस्ता मात्र नभई नाति पुस्ता राजनीतिमा सक्रिय भइसकेको भन्दै निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

पौडेल बागमती प्रदेशसभाका सदस्यमध्ये सबैभन्दा ज्येष्ठ सदस्य हुन्। उनी ७६ वर्ष पुगिसकेका छन्।

‘दोस्रो पुस्ता मात्रै हैन,अहिले नाति पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन्। अबको मेरो जिम्मेवारी एमालेका उम्मेदवारहरूलाई विजयी गराउने हुनेछ,’ उनले लेखेका छन्।

समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टा नयाँ अनुहार खोजेको यथार्थलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै लेखेका छन् ‘त्यसैले आगामी निर्वाचनमा मेरो उम्मेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उम्मेदवारी नरहने जानकारी गराउँदछु।'

१० भदौ, २०७९, १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।