अल्फाविटाका सञ्चालकले 'डन हो' भन्दै थर्काए, बालेनले नक्सा लगेर भत्काइदिए

अल्फाविटाका सञ्चालकले 'डन हो' भन्दै थर्काए, बालेनले नक्सा लगेर भत्काइदिए

काठमाडौं : काठमाडौं महानगरपालिकामा पेश गरेको नक्सामा पार्किङ क्षेत्र बनेर स्वीकृति गराएको स्थानमा अल्फाबिटाले फार्मेसी चलाएको सूचनाका आधारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बुद्ध नगर पुगे बिहीबार।

दलबल सहित पुगेका मेयरलाई अल्फाबिटाका प्रमुख मालिक द्विराज सिवाकोटीले 'जनप्रतिनिधि कि डन' भन्दै थर्काए। मेयर शाहले भवनको नक्सा मागे। तर, उनले छैन भनेर फर्काए।

त्यहाँबाट काठमाडौं महानगरपालिका आएका शाहले भवन शाखाबाट नक्सा मगाएर हेरे। जहाँ पार्किङ भनिएको थियो, त्यहाँ त अल्फाकेयर फार्मेसी राखिएको थियो।

उनी नक्सासँगै नगर प्रहरी र डोजर लिएर पुन: बुद्धनगर पुगे र सञ्चालक सिवाकोटीलाई नक्सा देखाएर अवैध संरचनामा डोजर चलाइदिए। सिवाकोटी एमालेका शीर्ष नेताहरूसँग निकट सम्बन्ध रहेका व्यवसायीका रूपमा परिचित छन्।

एमालेका अधिकांश कार्यक्रमहरू उनकै भवनमा हुने गरेका छन्। महानगरले यसअघि नै महानगर क्षेत्रमा बनेका अवैध संरचना हटाउन ३५ दिने सूचना प्रकाशित गरेकाे थियाे। तर, सो सूचना कुनै व्यापारीले पत्याएनन्। उनीहरूले अवैध संरचना हटाएनन्।

त्यसपछि मेयर बालेन्द्र आफैँ नगर प्रहरी र डोजर लिएर अवैध संरचना भएका स्थान भत्काउन हिँडे। उनले बुधबार काठमाडौं मलसँगै रहेका अवैध संचरना पनि हटाएका थिए।

बालेन्द्र अहिले नक्सा पास गर्दा बेसमेन्ट पार्किङ भनेर स्वीकृति गराएको तर पछि व्यापारिक प्रयोजनमा प्रयोग गरिएको व्यापारिक भवनका अवैध संरचना हटाउने अभियानमा छन्।

काठमाडौं महानगरले टुकुचा क्षेत्र अतिक्रमण गरेर बनेका संरचनाहरू समेत हटाउन ३५ दिने सूचना जारी गरे पनि मेयर बालेन त्यता भने लागेका छैनन्। उनी अहिले मुख्य व्यापारिक केन्द्रहरूमा बनेका अवैध संरचना भत्काउन सक्रिय भएका छन्।

* कभर फोटोमा समाचारसँग असम्बन्धित तस्बिर परेकोमा माफीसहित सो तस्बिर हटाइएको छ।

९ भदौ, २०७९, १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।