'चकचके' डिजे सन्तोष जसलाई लफडाले छाड्दै छाड्दैन

'चकचके' डिजे सन्तोष जसलाई लफडाले छाड्दै छाड्दैन

काठमाडौं : पुरानो बानेश्वरबाट बीचको बाटो जहाँबाट सिधै नयाँ बानेश्वर निस्कने भित्री बाटो छ। छेउमा गणेश मन्दिर।

त्यहाँबाट करिब एक किलोमिटर पर हल्का दाहिने मोडिएपछि भेटिन्छ, तीन तले घरसँगैको कम्पाउन्ड। गेट अलि हेवी नै रहेछ।

बाहिरै मोटरसाइकल राखेर सरासर छतमा पुगेँ। आगो बालेर एक हुल बसिरहेका थिए जमेर। छेउमा परिचित दुई जना मात्र। दुईमध्ये एक चर्चित कवि विप्लव प्रतीक।

त्यही हुलको बीचबाट लामो कपाल अनि दाह्री पालेका एक जना सरासर आएर हात मिलाउँदै भने,' 'म डिजे सन्तोष।'

मेरा लागि विल्कुल नयाँ नाम। पहिल्यै नाम मात्र डिजे हो कि काम पनि डिजेको हो भनेर सोध्न पनि मिलेन। 

माहोलमा सामेल हुँदै जाँदा वातावरण सहज हुँदै गयो। र, मनको खसखस निस्किहाल्यो, 'अनि नाम मात्रै डिजे हो कि काम पनि त्यही हो?'

दाह्रीमा हात मुसार्दै उनले भने, 'कामै डिजे हो।'

संगीतको पारखी नै हुँ म। त्यसमा पनि पार्टी म्युजिकको त ग्रेट फ्यान। तर कहिल्यै नाम नसुनेका पात्र थिए उनी। लाग्यो स्ट्रग्लर होलान्।

'अनि फर्स्ट म्युजिक कहिले आउँदै छ त?'

मेरो प्रश्नमा उनको मुहारको भाव हल्का बदलियो।

'त्यो त टु थाउजेन फोमै आइसकेको हो नि,'

म छक्क।

कुन?

'चियाबारीमा बोलको रिमिक्स सुनेको छ?'

'अँ'

'अनी मै छोरी सुन्दरीको रिमिक्स भर्सन नि!'

'अँ त्यो पनि सुनेको छु।'

'आमैले भन्थे धाराको पानी', 'असारै महिनामा', 'राधा पियारीको', 'उकालीमा पनि हजुर' यी सबै मेरै त हुन् नि।'

अब म चुप। यी सबै सुनेकै हो नि। देउसी भट्याउन जाँदा नाचिएकै हो यीनमा। तर यी सबका सर्जक उनै हुन् भन्ने थाहै भएन।

OOO
गत बुधबार उनै डिजे सन्तोष जावलाखेलमा रहेको बगैचाँ रेष्टुरेन्टमा आइपुगे।

'यो गीत कस्तो छ सुन त' भन्दै एयर पड दिए।

'जाली रुमाल' बोलको गीत बज्न थाल्यो। तर फरक बिटमा। शब्द फरक। फ्लेवर दोहोरीको। रिमा विश्वकर्मा लगायतका टन्नै कलाकारहरु कम्मर मर्काइरहेका थिए, म्युजिक भिडियोमा। जसको बीचमा एक रसियन मोडल पनि थिइन्।

डिजे सन्तोषको लुक्स पूरै भारतीय र्यापर बादशाहझैँ देखिएको। हल्का दाह्री छाँटेको र ज्यानको आकार हल्का बढाएको भए ठ्याक्कै।

गीत मिठो लाग्यो। म्युजिक भिडियो अहिले चलिरहेकाको क्वालिटीसँग भिड्न सक्ने।

'रिमिक्स त हैन त। तर जाली रुमाल शब्द?'

उनले भने, 'लोक शब्द हो नि यो। यसमा कसैको कपिराइट हुन्न नि!'

लाग्यो फेरि लफडै हुने भयो कि क्या हो। किनकी, उनको पहिलो प्रोजेक्ट नै लफडामा परेको थियो।

OOO
सुर्खेतमा जन्मेका हुन् उनी। बाबु सरकारी जागिरे। जता-जता बाबुको सरुवा उतै-उतै उनको बसाइ पनि। सुर्खेतबाट पशुपतिनगर पुगे। दमकको सूर्योदयमा पढे। पछि काठमाडौँ उपत्यका भित्रिए। अनि पाटन क्याम्पसमा बाँकी अध्ययन सक्काए। रहर म्युजिकको। तर औपचारिक ज्ञान थिएन। तैपनि, रहरै-रहरमा उनले सुर्खेत हुँदै ब्याण्ड बनाइसकेका थिए। उनको रहर चाहिँ भोकलिस्ट। 

'सोलो सिंगर भएर २ वटा एल्बम पनि निँकाले' भन्दा उनी हल्का लजाए। उनले ती दुवै एल्बमको नाम लिन चाहेनन्। ठिकै छ। उनको मर्जी।

त्यो बेला चलिरहेका आधुनिक गीतहरुले उनको मन तानिरहेको थिएन। उनको मनमा बसिरहेको थियो पार्टी म्युजिक। अझ विशेष उनी हिपहपको वर्ल्ड स्कुलबाट निकै प्रभावित थिए।

त्यो बेलामा सहकार्य नै बुद्ध सायमी अनि सम्राट थापाहरुसँगबाट भयो। एक गीत रेकर्डिङको क्रममा एरेन्जरसँग उनको लफडा भयो। त्यसले उनको सांगीतिक यात्राको बाटो हल्का बदलियो।

'मलाई एरेन्ज गरेको म्युजिक फिटिक्कै मन परेन। यो त भएन भन्दा फुच्चेले सिकाउने भन्ने पाराको व्यवहार भयो। सधैं तपाईं भन्थे। त्यसपछि रिस थाम्नै नसकेर तँ भनिदिए। मेरो म्युजिक अनि मेरै गीतको तैले मिक्सिङ गर्छन् एक दिन भनेर चल्दिएँ,' फिस्स हाँस्दै उनले भने।

भन्न त भने तर सजिलो कहाँ थियो र। त्यो बेलामा सिंगापुर जान नेपालीलाई सजिलै थियो। अनअराइभल भिसा नै पाइन्थ्यो।

उनी सिंगापुर जाने आउने गर्न थाले। सिंगापुर गएर ५० हजार जतिको ब्राण्डेड सामान किनेर ल्यायो। नेपालमा लाखजति सजिलै उठ्ने। बेच्न अन्त नि जानु नपर्ने। साथी सर्कलले उठाइदिँदा नै पुग्ने।

उनको मन म्युजिकमै थियो। त्यसमा अरेन्जरलाई च्यालेन्ज दिइसकेका थिए। सिंगापुर जाँदा उतै ६ महिना बसेर म्युजिक कोर्स गरेर फर्किएर सन् २००० मा अनामनगरमा स्टुडियो खोले म्युजिकनेस। 

त्यतै सुनिल बर्देवासँग भेट भयो उनको। अनि दुवै मिलेर काम गर्न थाले। त्यही उनले नेपाली पुराना लोकगीतहरुलाई पार्टी म्युजिक बनाउने सुर चल्यो। उनले 'मै छोरी सुन्दरी' लगायतका १० वटा गीत छानेर पार्टी बिटमा रिमिक्स गर्ने तयारी गरे।

'आमैले भन्थे धाराको पानी', 'असारे महिनामा', 'राधा पियारीको', 'उकालीमा पनि हजुर' लगायतका गीत छाने। 'राधा पियारीको' त रामचन्द्र काफ्लेको डेब्यु गीत रहेछ। अनिल सिंहले 'लेकाली चोयाको डोको' गाए।

उनले २००४ मा एल्बम रिलिज गरे। रेस्पोन्स बबाल आयो। तर चर्चासँगै विवाद पनि भयो। 

उनको दावी अनुसार राम थापा लगायतकाहरुसँग सहकार्य गरेरै काम गरेका थिए। तर ट्र्याक बनिसकेपछि अनुमति दिन्न भन्न थाले। अनि उनी प्रतिलिपी अधिकार कानुन बुझ्नतिर लागे।

लोकगीत लौकिक कि मौलिक हुने त्यसमा मौलिक भए कपिराइट लाग्ने लौकिक हो र संकलन मात्र भए नलाग्ने भन्ने बुझे। रेडियो नेपालमा गएर लेकाली हे चोयाको डोकोबारे बुझ्दा ढड्डामा राम थापाको गीतमा संकलक भनेर नाम रहेछ। चितवनमा गाइने भाका संकलन गरेको भनेको रहेछ। अनि उनले निकालिदिए एल्बम।

'लौकिकमा प्रतिलिपी अधिकार लाग्दैन भन्ने उदाहरण 'भेडाको उनजस्तो' गीत नै हो नि। यो पहिला नेपथ्यको अमृत दाइले गाउनुभयो। पछि अलि फरक टोनमा दिपेश किशोरले गाए,' उनले भने, 'मैले राजु लामालाई लिएर यता सिन्धुपाल्चोकको तातोपानीतिर गाइने शैलीमा त्यही गाउन लगाएँ। केही लफडा भएन।'

उनको एल्बम निस्किएपछि भने लफडा भयो। थापासहित चार जना श्रष्टा तत्कालीन पुनरावेदन अदालत गए एल्बम रोक्न। अदालतले एल्बम बिक्री-वितरण नगर्न अन्तरिम आदेश जारी गरे। 

ओपेल इन्टरनेसनलले एल्बम निकालेको थियो। बजारमा उच्च माग हुँदाहुँदै रोक्नुपर्यो।

अदालतमा लौकिक कि मौलिक भनेर भयंकर बहस भयो। अन्तरिम आदेश खारेज भएपछि गीत बेच्न थालियो। उनी यो केसलाई अगाडि बढाएर प्रतिलिपी अधिकारबारे कानुनी नजिर बनाउने पक्षमा रहेछन्।

तर, ओप्पलले मानेन। उनी क्षतिपूर्तीको मागसहित जिल्ला अदालत जान चाहन्थे रे। तर कम्पनीले नमानेपछि सम्भव भएन। अनि उनले कम्पनीसँग काम गर्नै छाडिदिए।

सन् २००६ मा उनले चियाबारीमा लगायतका गीत रिमिक्स गरेर ल्याए। ओप्पलसँग काम गर्न मन नमानेपछि रियाज म्युजिकमा गए। रियाजले २० वटा जति गीत दिएर ट्याक बनाउन दिएको रहेछ। 

उनले पूजा लामालाई  'चियाबारीमा' गाउन दिए। 'बाइरोडको बाटोमा' आफैंले गाए। 'नाच्देऊ मैच्याङ' शम्भुजीत बास्कोटासँग मिलेर आफैँले गाए।

'घरबेटी नानी आगानीमा देउन न मलाई बास' श्याम नेपालीले गाए। 'भेडाको उन जस्तो' राजु लामाले गाए। त्यसमा 'सालको पात टपरी गाँसेर' अनि 'कलकत्ते काइयो' सँगै 'मुसुमुसु हाँसी देउन लै लै' पनि समावेश थियो।

पहिलो एल्बममा भएको लफडा उनी दोस्रो एल्बम एडिक्सन-२ मा दोहोर्याउन चाहँदैनथे। 

त्यसैले उनले प्रतिलिपी सम्बन्धी काम प्रक्रिया हेरेर मात्र गीत छानेका थिए। तर लफडाले के छाड्थ्यो र उनलाई। 

'कविता आले दिदीको घरमा जाने-आउने हुन्थ्यो। उहाँले गाएको 'झ्याम्मै चौतारी, माया लाउँ भने छैन दौतरी' लाई रिमिक्स गर्छु भन्दा हुन्छ भन्नुभयो। तर पछि दिन्न भन्नुभयो,' उनले भने, 'उनले भाका संकलन गरेको हो तर शब्द मेरै हो भनेपछि शब्द म लेखौं त भनेर सोध्दा लेख भन्नुभयो। अनि 'जिन्दगानी ए लैलै दुई दिने घामछाया' भनेर दिपेश श्रेष्ठ र म मिलेर शब्द लेख्यौँ।'

उनको चकचक त गर्ने बानी नै थियो। मुसुमुसु हाँसी देऊ न लैलैको अनुमति नै नलिई नयाँ ट्र्याक बनाइदिए। तर विवाद भएन। कसरी?

'यसको सर्जक जति खोजे पनि भेटिनँ। उता भारतमा पनि गीत बनिसकेको थियो। अनि हल्का नेपालीसँगै हिन्दी पनि बीचबीचमा राखेर बनाइदिएँ। अब चकचक गर्ने बानी कहाँ हट्छ र!'

OOO
सन् २००७ मा एडिक्सन रिलोडेड एल्बम निकालेपछि भने उनलाई आफ्नै काम चित्त बुझेन। उनी लागे थाइल्यान्ड। सुपरस्टार एकेडेमीमा एक वर्षको क्रयासकोर्स गरे तर  
सिनेमा साउन्डमा।

'स्टुडियो साउन्डको त थ्यौरी मात्र बुझ्नुपर्ने थियो। त्यसैले मैले सिनेमा साउन्ड रोजेँ,' उनले भने।

क्रयासकोर्ष सक्काएर नेपाल नफर्किई उनी हङकङ गए। जु म्युजिक एचकेमा इन्टर्नसिप पाए पनि सिनेमा साउन्डमै। 

त्यत्रो रिमिक्स बनाएको। हङकङको आर्टिस्टको पनि काम गरेको। उनी हङकङमा आएको नेपाली समुदायमा हल्ला भइहाल्यो। अनि साप्ताहिक पार्टीमा बजाउने निम्ता आउन थाल्यो।

'स्थानीय डिजेले बजाएको २० हजार डलर पाउँथे। नेपालीको विकेन्ड पार्टीमा बनाउँदा एउटा पार्टीको ६-७ हजार डलर पाइरहन्थ्यो। म त्यसैमा रमाएँ,' उनी भन्छन्।

तर, जब नेपालीहरुले हेपेर फोनबाट तार हालेर गीत बजाइदेऊ न भन्न थाले उनलाई दिक्क लाग्न थालेछ। थैट यस्ता काम नि गर्छन् भनेर उनी जिरोबाट करिअर सुरु गर्न डे पबहरुमा म्युजिक प्लेलिस्टहरु बनाइदिन थाले। स्कुल अफ डिजेज् खोलेर सिकाउन थाले। त्यसमा पनि दिक्क लागेपछि नेपाल फर्किए।

OOO
अहिले डिसे सन्तोषासँग ९ वटा ट्रयाक तयार रहेछ। ३ वटा रिमिक्स अनी ३ वटा ओर्जिनल। अर्को मिक्स। त्यसैमध्येको हो यसैसाता रिलिज हुने जाले रुमाल। 

उनी नेपाल फर्किएर ब्याक टु ब्याक म्युजिकमा काम गर्न थाले पनि भूकम्प अनि कोरानाहरुले अवरोध गरिरहे। बल्ल अब माहोल आफ्नो पक्षमा भएको महसुस भएपछि भने म्युजिक भिडियोसहित उनी मार्केटमा फर्कने तयारीमा छन्।

डिसे सन्तोष १४ वर्षपछि नेपाली स्रोतामाझ फर्कंदै छन्। मेरो पुस्ताले त उनको नाम बिर्सिसकेको रहेछ भन्ने त मैबाट पुष्टि भइहाल्यो। भनेपछि अहिलेका नयाँ पुस्ताले त के चिन्थे र उनलाई।

मेरो पुस्तासम्मले 'चियाबारीमा' को म्युजिक बिटमा हल्का कम्मर दुखाएका थियौँ। अहिलेको पुस्ताको चोइसमा त उनका कुनै गीत नहोलान्। यस्तो बेलामा उनका लागि बजारमा परिचित हुन त्यति सहज भने देखिएन। तर उनी कन्फिडेन्ट देखिए।

'मैले जुन बेलामा नेपाली म्युजिक छाडेको थिएँ, अहिले १४ वर्षपछि फर्कंदा पनि उस्तै छ बजार। चलेका गीतका प्याट्रन त्यही नै छन्,' उनले भने, 'त्यसमा पनि साउन्ड डिजाइनिङ पनि आफैँले हेर्ने भएकाले दर्शकले के सुनिरहेका छन् भन्नेमा जानकार छु। कमब्याक सबैका लागि गाह्रो विषय हो। तर असम्भव हैन।'

डिजे सन्तोष नेपाली संगीतको अन्तर्राष्ट्रिय पहिचान लोकगीतै हो भन्नेमा पक्का रहेछन्। उनका अनुसार आधुनिक गीत भारतीयहरुको हो। उनी त्यसमा प्रतिस्पर्धा गरेर नेपाली संगीत विश्व बजारमा फैलनै सक्दैन भन्नेमा दृढ रहेछन्।

अब पप, रक अनि हिपहपको त कुरै बेग्लै भइहाल्यो। नेपाली स्रोताहरुले रुचाएका गीतहरु हेर्दा पनि लोकगीतकै भविष्य राम्रो रहेको बताउँछन् डिजे सन्तोष।

'अहिलेका हिट गीतको सिरिज राखेर फुलबुट्टे सारीसम्मलाई टेक्निकल्ली ब्रेकडाउन गरेर हेरौं न कस्ता गीत रुचाइएका छन्। कतै हुक लाइन चल्यो, कतै मैलोडी,' उनी विश्लेषण गर्ने मुडमा आए अब, ' कुटुमा कुटु किन चल्यो भन्दा सरल शब्द र मेलोडीले नै हो। 'फुलबुट्टे सारी'मा मेलोडी हावी भयो।'

भनेपछि अब जाली रुमाल चल्ने पक्का हो त?
'लोक फ्लेवर चलिरहेका छन्। त्यसको विश्लेषण गरेर गीत-संगीत डिजाइन गर्ने एक पाटो भयो। अब चल्ने नचल्ने त स्रोता अनि लकको कुरा,' उनी मज्जाले हाँसे।

अनि यो पाली 'जाली रुमाल' ले लफडाको श्रृंखला समाप्त गर्ला कि प्रारम्भ ?

केही बेर घोरिएर दाह्री मुसार्दै उनले भने, ' समाप्त।'

१६ साउन, २०७९, १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।