निर्वाचनमा गठबन्धनका लागि शेखरले राखे तीन सर्त, मोर्चा बार्गेनिङ बढाउन मात्रै !
वीरगन्ज : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकारमा सघाइरहेका दलका नेताहरूले आगामी निर्वाचनमा सिटमा बार्गेनिङ बढाउन बाम गठबन्धनको चर्चा चलाएको दाबी गरेका छन्।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको डा बाबुराम भट्टराई र बामदेव गौतम समाजवादी केन्द्र बनाउन सक्रिय भइरहेको बेला उनले यस्तो प्रतिक्रिया दिएका छन्।
उनीहरूले सके नयाँ पार्टी, त्यो सम्भव नभए मोर्चा गठन गर्ने र एकै चुनाव चिन्हबाट उम्मेदवार बन्ने तर कांग्रेससँगको गठबन्धन नछाड्ने दाबी गर्दै आएका छन्।
वीरगन्जमा बुधवार नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस सबैभन्दा ठुलो पार्टी भएको नबिर्सन आग्रह गर्दै सङ्घ र प्रदेशको निर्वाचनमा पार्टीलाई कम क्षति हुने गरी मात्रै तालमेल हुनसक्ने बताए।
‘प्रदेश र सङ्घको निर्वाचनमा होमिँदै छौँ, कांग्रेसलाई कम क्षति हुने गरी कसरी जाने भनेर छलफल भइरहेको छ,’ उनले कार्यक्रममा भने।
उनले ५ वर्ष कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्ने ज्ञारेन्टी भए मात्रै तालमेल हुनसक्ने, आर्थिक सामाजिक रूपान्तरणको बारेमा एउटै धारणा हुनुपर्ने, वैदेशिक नीतिमा न्यूनतम समझदारी हुनुपर्ने सर्त समेत सार्वजनिक गरेका थिए।
उनले सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्रले भनेअनुसार २०७४ को निर्वाचनको आधारमा सिट बाँडफाँड हुन नसक्ने बताए।
उनले अन्य दलसँग तालमेलमा जानु अगाडि पार्टीभित्रै तालमेल हुनुपर्ने समेत बताए। पार्टीभित्र गिरिजाप्रसाद कोइरालाले भनेजस्तो सहमति, सहकार्य र एकता हुनुपर्ने भन्दै उनले प्रदेश र सङ्घको निर्वाचनमा जाँदा स्थानीय तहमा तालमेल गर्दा देखिएको कमजोरी दोहोरिन नहुने बताए।
साउन ११, २०७९ बुधबार १२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।