डा. सुवासको सुखदुःख: शल्यक्रियापछि केपी ओलीले भने- 'डाक्टर साब नआत्तिनुस्, मलाई केही हुँदैन'

डा. सुवासको सुखदुःख: शल्यक्रियापछि केपी ओलीले भने- 'डाक्टर साब नआत्तिनुस्, मलाई केही हुँदैन'
तस्बिरहरू: कृष्पा श्रेष्ठ

क्रिटिकल केयर मेडिसिन विशेषज्ञ प्रा.डा. सुवासप्रसाद आचार्यले आईसीयूमा पुगेका सयौं बिरामीको उपचार गरेका छन्। उपचार गर्दाका केही प्रसंग उनलाई याद छ। जसमध्ये पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता शशांक कोइरालाको उपचारको प्रसंग डा. सुवासले सुनाए।

मिर्गौला प्रत्यारोपणपछि ओलीको त्यो रमाइलो प्रसंग
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ फागुनमा त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा मिर्गौला प्रत्यारोपण गराए। त्यो उनको दोस्रो पटकको प्रत्यारोपण थियो।

उपचारको नेतृत्त्व ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले गरेकी थिइन्। सर्जिकल टिमको नेतृत्त्व शिक्षण अस्पतालका प्रा.डा. प्रेमराज ज्ञवालीले गरेका थिए। आईसीयू व्यवस्थापन तथा क्रिटिकल केयर टिममा डा. सुवास पनि खटिएका थिए।

योजनाअनुरूप शल्यक्रिया कक्ष लगायतको व्यवस्थापन शल्यचिकित्सकको टिमले गर्यो। एनेस्थेसिया, आईसीयू, नर्स लगायतको व्यस्थापन भयो। आईसीयू व्यवस्थापनका लागि डा. सुवास, डा. जेन्टलसुन्दर श्रेष्ठ, डा. प्रमेशसुन्दर श्रेष्ठ र डा. हेमराज पनेरु खटिए। एक महिनाअघिदेखि ओलीको मिर्गौला प्रत्यारोपणका लागि व्यवस्थापनको चाँजोपाँजो मिलाइएको डा. सुवासले सुनाए।

एकातर्फ प्रधानमन्त्री जस्तो व्यक्तित्वको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने। त्यसमा पनि दोस्रो पटकको प्रत्यारोपण। चुनौती थियो। डा. सुवासका अनुसार त्यसअघि नेपालमा दुई पटक एकै व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थिएन। ओली नै पहिलो व्यक्ति थिए।

जे होस् चिकित्सकको टोलीले सफल प्रत्यारोपण गर्यो।

त्यसबेला सहयोगका लागि भारतबाट समेत चिकित्सकको टोली शिक्षण अस्पताल आएको थियो। ती टोली उनै थिए जसले पहिलो पटक ओलीको मिर्गौला प्रत्यारोपण गरेका थिए।

त्यसपछि ओलीलाई आईसीयूमा लगियो। दुई तीन दिनपछि ओलीको स्वास्थ्यमा सुधार हुँदै गयो। होश खुलेर कुराकानी गर्न सक्ने भएपछि आईसीयू कक्षमा ओलीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग मिजासिलो रूपमा कुराकानी गरेको डा. सुवास बताउँछन्।

ओलीले एक पटक परिचय भइसकेको व्यक्तिको नाम दोस्रो पटक भेट्दा ठ्याक्कै याद गरेको पनि सुवासले सुनाए। त्यसो त आईसीयूमा हुँदा चिकित्सकहरूले ओलीलाई आ–आफ्नो प्रतिभा समेत देखाएका थिए। कसैले गीत गाएर सुनाए त कसैले जोक्स भने। 

ओली बिरामी भएर बेड रेस्टमा हुँदा पनि किताब, पत्रपत्रिका खुब पढ्ने गरेको सुवास बताउँछन्। अस्पताल बसाइँका क्रममा ओली र स्वास्थ्यकर्मीको टिमबीच आत्मीय सम्बन्ध पनि गासिएछ।

केपी ओलीले शल्यक्रियापछि डाक्टर साब नआत्तिनुहोस् भनेपछि
मिर्गौला प्रत्यारोपणअघि २०७६ मंसिरमा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो। त्यो बेला ओलीको उपचारमा खटिँदाको प्रसंग पनि डा. सुवासको मानसपटलमा ताजै छ।

ओली बिहान ९ बजे पेट दुखेर अस्पताल पुगेका थिए। त्यसपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनलाई भर्ना गरियो। त्यहाँ डा. सुवास पनि पुगे।

स्वास्थ्य जाँचपछि एपेन्डिक्स फुटेको थाहा भयो। त्यसैले उनको तुरुन्तै शल्यक्रिया गर्नुपर्ने भयो।

चिकित्सकको टिमले शल्यक्रिया कक्षको व्यवस्थापन गर्यो। ओलीको उपचार व्यवस्थापनमा डा. दिव्या सिंह शाह खटिएकी थिइन्। स्वास्थ्य जटिल अवस्थामा पुगेको थियो। 

शल्यक्रियाका लागि डा. विश्वास प्रधान, सुवास लगायत पाँच जना बेहोस बनाउने एनेस्थेसियोलोजिस्ट चिकित्सकको टिम थियो। उनीहरूले ओलीलाई बेहोस हुने औषधि दिए। डा. रमेशसिंह भण्डारी लगायतको टिमले ओलीको पेटको शल्यक्रिया थाल्यो।

दिउँसोसम्ममा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरी पेटमा छरिएको फोहोर सफा पनि गर्यो चिकित्सकको टोलीले। शल्यक्रिया सफल भयो। त्यसपछि ओलीलाई आईसीयूमा लगियो। भेन्टिलेटरमा राखियो। आईसीयूमा ओलीको उपचार तथा व्यवस्थापनमा डा. सुवास, डा. विभूष श्रेष्ठ लगायत खटिए।

रातभर डा. सुवाससहितको टिम आईसीयूमा नै ओलीको उपचारमा खटियो। भोलिपल्ट बिहानीपखबाट स्वास्थ्यमा सुधार हुँदै गयो। त्यसपछि चिकित्सकको टिमले सल्लाह गरेर ओलीलाई भेन्टिलेटरबाट निकाले।

भेन्टिलेटरबाट निकाल्ने तयारी हुँदै गर्दा ओलीले भनेको एउटा प्रसंग भने डा. सुवास कहिल्यै भुल्दैनन्। 

'भेन्टिलेटरबाट निकालौं?', ओलीलाई सुवासले सोधे। 

ओलीले सुवासतिर हेर्दै बुढी औंलाले ‘हुन्छ’ भन्ने संकेत गरे।

देशको प्रधानमन्त्री। त्यसैले उपचारपछि पनि कुनै स्वास्थ्य जटिलता निम्तियो भने के गर्ने भन्ने डा. सुवासको मनमा कताकता भय थियो।

तर, भेन्टिलेटरबाट निकालेपछि ओलीले मुस्कुराउँदै डा. सुवासको कुममा विस्तारै ढाप मार्दै भनेछन्,‘डाक्टर साब नआत्तिनुस्, मलाई केही पनि हुँदैन।’

केही दिनपछि प्रसंगवश कुराकानीको क्रममा डा. सुवासले ओलीलाई सोधेछन्,‘अस्ति तपाईंले किन केही पनि हुँदैन भन्नुभएको?’

डा. सुवासको जिज्ञासामा ओलीले आफू १४ वर्ष जेल बस्दा टीबी भएको, उपचार नपाएको अनि अति बिरामी परेकाले मर्ने भएको भए त्यही बेला मर्ने जवाफ दिएछन्। अनि अहिले त चिकित्सकको टिम उपचारमा खटिएकाले चिन्ता गर्नुपर्दैन भन्दै आत्मविश्वास व्यक्त गरेको डा. सुवासले सुनाए।

डा. सुवासका अनुसार त्यो बेला करिब १० दिन ओली आईसीयूमा नै बसे। केही दिनको अस्पताल बसाइँपछि उनी डिस्चार्ज भए।

नेता शशांक बिरामीपर्दा आईसीयूमा खटिदाको त्यो क्षण
केही वर्षअघि नेपाली कांग्रेसका नेता शशांक कोइराला बिरामी भएर ओम अस्पताल भर्ना भएका थिए। उपचारमा खटिएका थिए- डा. सुवास पनि। त्यसबेलाका किस्सा पनि सुवास सम्झिइरहन्छन्। त्यसबेला उनी क्रिटिकल केयर विषय अध्ययन गरेर क्यानेडाबाट नेपाल फर्किएको केही महिना मात्रै भएको थियो।

यसै कारण शशांक जस्तो नेताको उपचारमा सफलता मिलेन भने के होला भन्ने उनको मनमा भय थियो। पब्लिक फिगरको उपचारमा खटिँदा निकै तनाव हुने उनले सुनाए।

शशांकलाई निमोनिया देखिएको थियो। उनलाई राति भर्ना गरिएको थियो। भोलिपल्ट बिहानै उनको शरीरमा अक्सिजनको कमी भएछ। मुटु नै चल्न बन्द (कार्डियाक अरेस्ट) भएछ।

सोही दिन बिहान शशांककी भतिजी मेघाले सुवासलाई फोन गरेर उपचारमा खटिन बोलाएकी थिइन्। त्यसपछि बिहान करिब आठ बजे आफू ओम अस्पताल पुगेको उनले सुनाए। सुवास अस्पताल पुग्दा शशांक भेन्टिलेटरमा थिए। अवस्था जटिल थियो।

डा. लभ नरसिंह जोशी लगायतको चिकित्सकको टिमले शशांकको उपचार गरिरहेको थियो। डा. लभसँग सुवासको चिनजान थियो।

लभले सुवासलाई क्रिटिकल केयरमा लाग्न अनुरोध गरे। त्यसपछि सुवास आईसीयू तथा भेन्टिलेटरको व्यवस्थापनमा खटिए। उपचारमा सिनियर चिकित्सकहरूको टिम खटिएको थियो। त्यसको केही दिनपछि भारतबाट पनि उपचारका लागि चिकित्सकको टिम आएको उनले सुनाए।

उपचारको २४ घण्टापछि शशांकको रक्तचापमा सुधार हुँदै आयो। स्वास्थ्य अवस्था नाजुक बनिसकेको थियो, सुधार हुन थाल्यो। डा. सुवासलाई ठ्याक्कै यकिन त छैन तर दोस्रो दिन साँझतिर शशांकलाई भेन्टिलेटरबाट निकालियो।

शशांकको उपचारमा दुई दिन त २४ घण्टा नै आईसीयूमा खटिएको पनि याद छ डा. सुवासलाई। सुवास भन्छन्, ‘दुई-तीन दिन त आईसीयूमा नै छेउको बेडमा सुतियो। खाना पनि त्यहीँ मगाएर खाइयो।’

शशांकको अवस्था खतरामुक्त भएपछि भने घरमा पुगेर खानपान गरेर अस्पताल आउजाउ गर्दै उपचारमा खटिएको उनलाई सम्झना छ। केही दिनको अस्पताल बसाइँपछि शशांक डिस्चार्ज भए। होस खुलेपछि सामान्य कुराकानी भएको र अहिले पनि बेलाबेलामा भेट्ने गरेको उनले सुनाए।

औषधि भनेर युवाले मेटासिट पिएपछि...
करिब १९ वर्षअघि एमबीबीएस अध्ययनपछि काठमाडौं मेडिकल कलेजमा काम गर्दा यस्तो घटना भयो जसले सुवासलाई एनेस्थेसिया र क्रिटिकल केयर मेडिसिन विषय नभै नहुने रहेछ भन्ने महसुस गरायो।

भएको के थियो भने, करिब २२ वर्षका युवाले रक्सी पिएर घर पुगेर सुतेछन्। राति पेट दुखेछ। त्यसपछि उठेर ग्याट्रिकको औषधि भन्ठानेर अँध्यारोमा सानो बोतलमा रहेको झोल पिएछन्। तर, त्यो झोल त मेटासिट पो परेछ।

भोलिपल्ट बिहान मात्रै परिवारले थाहा पाए, विष सेवन गरेको भन्ने। त्यसपछि उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज ल्याइएको थियो।

ती युवालाई अस्पताल ल्याउँदा डा. सुवास ड्युटीमै थिए। तिनको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। मुटुको चाल निकै कम भइसकेको थियो। तुरुन्तै आईसीयू तथा भेन्टिलेटरमा राखेर उनको उपचार गरियो।

त्यो बेला विष पिएका व्यक्तिका लागि प्रयोग गरिने एट्रोपिन औषधि उपचारमा यति प्रयोग भएछ कि अस्पतालमा औषधि नै सकिएछ। एकै दिन तिनको लागि एक हजार एमएल एट्रोपिन चाहिन्थ्यो रे। 

त्यहाँ मात्रै हैन, काठमाडौं उपत्यकामै औषधि सकिएछ। त्यसपछि अस्पतालले आफ्नै गाडी भारतको रक्सौल पठाएर त्यो औषधि ल्याएको रहेछ।

तर, औषधि नआउञ्जेल त बिरामी बचाउनै पर्यो। त्यसैले एट्रोपिन नआउञ्जेल त्यसको सट्टा धतुरो पिसेर पाइपको माध्यमबाट सेवन गराएर तिनको उपचार गरेको डा. सुवासले सुनाए। 

भक्तपुरबाट धतुरो ल्याइयो। एक जना चिकित्सकको कामै धतुरो पिस्ने अनि झोल बनाएर दुई-दुई घण्टामा पाइपबाट खुवाउने। दुई दिनसम्म धतुरोले बिरामी बचाएको उनलाई प्रष्ट सम्झना छ।

दुई दिनपछि एट्रोफिन औषधि आयो। चिकित्सकको मेहनत खेर गएन। युवाको ज्यान बच्यो। 

ती युवा करिब २२ दिनसम्म बेहोस थिए। डा. सुवासलाई याद भएसम्म २७ दिन भेन्टिलेटरमा राखेर तिनको उपचार भएको थियो। करिब ४२ दिन अस्पतालको बसाइँपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए।

त्यही घटनाबाट उनले पाठ सिके– आईसीयूको राम्रो व्यवस्थापन भए बिरामी बचाउन सकिने रहेछ। त्यसपछि नै हो उनलाई यो विषयप्रति बढी चासो बढेको।

छारे रोगका युवा ४५ दिन आईसीयूमा बस्दा...
शिक्षण अस्पतालमा करिब सात वर्षअघिको प्रसंग पनि उनी भुल्दैनन्। करिब १८ वर्षका छारे रोग लागेका बिरामीलाई शिक्षण अस्पताल पुर्याइएको थियो। 

आईसीयू तथा भेन्टिलेटरमा राखेर औषधि उपचार गरियो। तर, तिनलाई जति उपचार गर्दा पनि काम्ने समस्या कम भएन।

उनलाई तीन महिनासम्म भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको अनुभूति सुनाए डा. सुवासले। यो अवधिमा तीन पटक मुटुको चाल बन्द भएको उनले सुनाए। 

तीन महिनापछि बल्ल ती युवाको काम्ने समस्या कम हुँदै गएको डा. सुवासलाई याद छ। युवाको ज्यान पनि बच्यो।

अस्पतालबाट डिस्चार्ज भएको एक वर्षपछि ती युवा फलोअपमा शिक्षण अस्पताल पुगे। एसएलसी पास गरेछन्। त्यसको दुई वर्षपछि फेरि फलोअपमा पुगे। त्यसबेला त पढाउनै थालेछन्।

डा. सुवासलाई १४० दिन आईसीयूमा राख्नुपरेको करिब ५० वर्षका पुरुषको पनि सम्झना छ। उनलाई आईसीयूपछि १०७ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

त्यसैगरी केही वर्षअघि धादिङका पाका उमेरका पुरुष पनि लडेर गर्धन भाँचिएपछि अस्पताल भर्ना भएर तीन महिना आईसीयूमा बसेको प्रसंग उनले सुनाए।

म्युजिक भिडियोमा अभिनय
पेशाले त चिकित्सकै हुन्। तर डा. सुवासलाई गीत, संगीत र अभिनयप्रति पनि चासो छ। उनले एमबीबीएस अध्ययनपछि गायक लोचन रिजालले गाएको ‘यस्तै रहेछ जिन्दगी...,’ गीतमा म्युजिक भिडियोमा अभिनय गरेका छन्। 

त्यसैगरी स्व. गायक सुदेश खवासको ‘तिम्रो याद आउँछ हरपल...’ गीतको म्युजिक भिडियोमा पनि खेलेका छन्। 

करिब तीन वर्षअघि वीर अस्पतालका चिकित्सक डा. अनिल बरालको रचना र स्वरूपराज आचार्यले गाएको ‘अंगालैभरि...’गीतको पनि म्युजिक भिडियोमा उनको अभिनय छ।

त्यसैगरी डा. भारती शर्माले लेखेको र रामकृष्ण ढकालले गाएको ‘शखी’ गीतको म्युजिक भिडियोमा पनि उनले अभिनय गरेका छन्।

आफूलाई चित्त बुझ्ने गीत भए अझै म्युजिक भिडियोमा अभिनय गर्न मन भएको उनी बताउँछन्। उनलाई सिनेमामा खलनायकको भूमिकामा अभिनय गर्ने भने असाध्यै रहर रहेछ।

रोजाईमा आईसीयू र क्रिटिकल केयर विषय
भक्तपुरको कौशलटारमा २०३५ सालमा जन्मिएका सुवासले काठमाडौंको मीनभवनस्थित इङ्लीस प्रिपेरेटोरी स्कुल (ईपीएस)बाट २०५० मा एसएलसी उत्तीर्ण गरे। त्यसपछि काठमाडौं विश्वविद्यालयको स्कुल अफ साइन्समा आइएस्सी अध्ययन गरे।

एमबीबीएस अध्ययनका लागि सन् १९९६ मा पोखरास्थित ‘मणिपाल कलेज अफ मेडिकल साइन्समा’ भर्ना भए। सन् २००२ मा एमबीबीएस अध्ययन पूरा भयो। त्यसपछि उनले काठमाडौं मेडिकल कलेजमा मेडिकल अधिकृतको रूपमा दुई वर्ष काम गरे। त्यहाँ इन्टरनल मेडिसिन विभागमा काम गरे।

त्यो बेला मेडिसिन विभागमा उनका गुरु थिए, डा. वीरवाहन शमशेर जंगबहादुर राणा (डा. वीरु राणा)।

उनैको प्रेरणाले एनेस्थेसिया र क्रिटिकल केयर विषय अध्ययन गरेको डा. सुवासले सुनाए।

त्यसपछि डा. सुवासले सन् २००४ मा त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थान (महाराजगञ्ज) मा स्नातकोत्तर तहको ‘एमडी’ एनेस्थेसियोलोजी विषय अध्ययन गरे।

सन् २००७ मा एमडी पनि पूरा भयो। त्यो बेला नेपालमा यो विषय अध्ययन गरेका चिकित्सक करिब ५० जना थिए। अहिले त पाँच सयभन्दा बढी एनेस्थेसियालोजी विशेषज्ञ भएको उनले बताए।

एमडी सक्नासाथ सन् २००७ मा चिकित्साशास्त्र अध्ययन संस्थानमा उनी उप्राध्यापकको रूपमा जागिरे भए उनी।

डा. सुवासलाई क्रिटिकल केयर विषयप्रति नै बढी चासो थियो। त्यसैले नै उनले एमडी एनेस्थेसियोलोजी विषय अध्ययन गरेका थिए। जुन विषय अध्ययन गरेपछि क्रिटिकल केयर विषयमा जान सहज हुन्थ्यो।

त्यसैले डा. सुवासले सन् २०११ मा क्यानडाको ‘युनिभर्सिटी अफ टोरन्टो'मा पुगेर ‘क्रिटिकल केयर मेडिसिन’मा एक वर्षे फेलोसिप गरेर नेपाल फर्किए। 

त्यो बेलासम्म नेपालमा ‘क्रिटिकल केयर’ विशेषज्ञ डा. रविराम श्रेष्ठ मात्र थिए। उनी पनि भारतबाट अध्ययन सकेर नेपाल आएको केही महिना मात्र भएको थियो।

त्यसपछि रोयल कलेज अफ क्यानेडा र चिकित्साशास्त्र अध्ययन संस्थानको समन्वयमा नेपालमा पनि ‘क्रिटिकल केयर मेडिसिन’ विषयको डीएम तहको अध्ययन सन् २०१३ मा सुरु गरिएको उनले सुनाए।

डा. सुवास अस्पतालको उपनिर्देशक र क्रिटिकल केयर मेडिसिन विभागको प्रमुखको भूमिकामा कार्यरत छन्। जुन विभागको सुरु भएको करिब ६ महिना मात्रै भएको उनले सुनाए।

समग्र उपचारको व्यवस्थापकको भूमिका
आईसीयू तथा क्रिटिकल केयर व्यवस्थापन, टिममा गरिने काम हो। जहाँ चिकित्सक, नर्स, फिजियोथेरापिस्ट, पोषणविज्ञ, फर्मासिस्ट लगायतको सामूहिक भूमिका हुन्छ।

क्रिटिकल केयर मेडिसिन (सघन उपचार) विशेषज्ञले स्वास्थ्य अवस्था जटिल बनेका बिरामीको आईसीयूमा भर्नागरी समग्र उपचारको व्यवस्थापन गर्नुपर्ने हुन्छ। 

यो विषयका विशेषज्ञले बिरामीको स्वास्थ्य अवस्थाको जाँच, उपचार तथा समन्वयको भूमिका खेल्नुपर्ने हुन्छ। आकस्मिक रूपमा आफूले सक्ने आफैं उपचार गर्ने र बिरामीको रोगको प्रकृतिअनुसार सम्बन्धित विशेषज्ञको सहयोग लिएर उपचारको प्रबन्ध मिलाउनुपर्ने हुन्छ। जुन विषयको विशेषज्ञ हुन् डा. सुवास। 

७ साउन, २०७९, २१:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।