करारका कर्मचारीको आन्दोलनले त्रियुगा नगरपालिकामा पाँच दिनदेखि कामकाज ठप्प

करारका कर्मचारीको आन्दोलनले त्रियुगा नगरपालिकामा पाँच दिनदेखि कामकाज ठप्प

उदयपुरः त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरूको म्याद थप नगरी निष्काशन गरिएको भन्दै कर्मचारीहरूले पुनः बहालीको माग राखेर आन्दोलन गर्दा पाँच दिनदेखि नगरपालिकाको कामकाज ठप्प भएको छ। उनीहरूले मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका हुन्।

बिहीबार र शुक्रबार आन्दोलनरत कर्मचारीहरूले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि कुनै पनि जनप्रतिनिधि नगरपालिकाभित्र प्रवेश गर्न सकेका छैनन्। केही सेवा लिन आएका सेवाग्राही पनि रित्तै घर फर्कनु परेको थियो।

एक हप्तादेखि आफूहरूले नगर प्रमुख वसन्तकुमार बस्नेतको ध्यानाकर्षण गराएको र आफूहरू बिनाकारण निष्काशन हुन परेकाले पुनः बहाली नभएसम्म आन्दोलन नरोकिने आन्दोलनरत कर्मचारीका तर्फबाट संयोजक कृपाराम चौधरीले बताए।

यसै आर्थिक वर्षको साउन १ गतेदेखि नगरपालिकाका ६० अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरूको म्याद थप नगरेकाले आन्दोलनरत कर्मचारीहरु स्वतः निष्काशनमा परेको त्रियुगा नगरपालिकाले बताएको छ। नगर प्रमुख बस्नेतका अनुसार अस्थायी र करारका धेरै सङ्ख्याको कर्मचारी पाल्दा नगरपालिकाले ठूलो आर्थिक व्यय खेप्न परेकाले कुनै आग्रह र पूर्वाग्रहबिना नै उनीहरू कसैलाई पनि म्याद थप नगरिएको हो।

नगर उपप्रमुख महेश्वरी राईसहित विभिन्न वडाका अध्यक्षहरू तथा सदस्यहरूसहित गरेर १७ जनप्रतिनिधिले भने तत्काल नगर बैठक बोलाउन नगर प्रमुख बस्नेतलाई एक पत्र लेखेर आग्रह गरेका थिए।

७ साउन, २०७९, १३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।