पूर्वपञ्चको पार्टी राप्रपाको खाता पञ्चर, लेखा परीक्षणको पैसा समेत तिर्न बाँकी

पूर्वपञ्चको पार्टी राप्रपाको खाता पञ्चर, लेखा परीक्षणको पैसा समेत तिर्न बाँकी

काठमाडौं : राजतन्त्रको वकालत गर्ने पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नियम संगत रुपमा सार्वजनिक गर्नुपर्ने वार्षिक लेखा परीक्षण सार्वजनिक नै गरेन।

उकेराले सूचनाको हक प्रयोग गरेर प्राप्त गरेको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षणमा पार्टीको लेखा परीक्षण भद्रगोल पाइयो। राप्रपाको सञ्चित कोष घाटामा रहेको आर्थिक प्रतिवेदनमा देखियो।

उसको कोषमा ८ लाख ४७ हजार ५ सय ८५ रुपैयाँ घाटा रहेको देखियो। राप्रपाको जग्गा तथा भवन कोषमा २ करोड ११ लाख ७७ हजार ८७५ रहेको छ। सञ्चित कोष र जग्गा तथा भवन कोषमा राप्रपाको सम्पत्ति २ करोड ३३ लाख २८९ रहेको छ। 

स्थिर सम्पत्ति अन्तर्गत ग्रस ब्लकमा २ करोड ११ लाख ७७ हजार ८७५ मा ह्रास कट्टी २७ हजार ८९८ कटाउँदा नेटक्लकमा २ करोड ११ लाख ४९ हजार ९७६ रुपैयाँ उसले आर्थिक प्रतिवेदनमा देखाएको छ। 

राप्रपासँग नगद तथा बैंक मौज्दात ५ हजार १ सय रुपैयाँ रहेको छ। जसलाई जम्मा चालु सम्पत्तिको रुपमा दाखिला गरेको छ। सो वर्ष राप्रपाले ३१ लाख ५ हजार आम्दानी गरेको छ। 

जम्मा खर्च ३९ लाख १४ हजार ७८७ देखाएको छ। जसमा केन्द्रीय कार्यालय सञ्चालन खर्च २८ लाख १९ हजार ४ सय र अन्य प्रत्यक्ष खर्च १० लाख ९५ हजार ३८७ रहेको छ। ह्रास कट्टी खर्च २७ हजार ८९८ रहेको उसको लेखा परीक्षणमा उल्लेख छ।

सो वर्ष राप्रपा आम्दानीभन्दा खर्च धेरै भएकाले ८ लाख ३७ हजार ६८५ घाटामा रहेको प्रतिवेदनमा देखिएको छ। जग्गा तथा भवन कोषमा चाबहिलको भवन र जग्गा २ करोड ३ लाख २५ हजार ५२७, धुम्बाराहीको ८ लाख ५२ हजार ३४७ गरी २ करोड ११ लाख ७७ हजार ८७५ रुपैयाँ देखाएको छ। 

सञ्चित कोष अघिल्लो आर्थिक वर्षको घाटा ९ हजार ९ सय र सो आर्थिक वर्षको ८ लाख ३७ हजार ६८५ गरि ८ लाख ४७ हजार ५८५ दाखिला गरेको छ। लेखा परीक्षण गराएको २० हजार समेत उसले तिर्नुपर्ने भनेर उल्लेख गरेको छ भने तिरेर घाटा भएको हिसाब समेत देखाएको छैन।

तिर्न बाँकी रकम ८ लाख ४ हजार ७८७ गरी जम्मा तिर्न बाँकी रकम ८ लाख २४ हजार ७८७ लेखा परीक्षणमा देखाएको छ। 

राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको लेवीबाट सबैभन्दा बढी २५ लाख ६० हजार आम्दानी गरेको छ। केन्द्रीय कार्य समितिको लेवीबाट २ लाख ३० हजार, अन्य सहयोगबाट १ लाख २५ हजार र प्रदेश सभा सभासदको लेवीबाट १ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको छ। सहयोग र लेवीबाट राप्रपाले ३१ लाख ५ हजार कमाएको छ। 

केन्द्रीय सचिवालयको खर्चमा कर्मचारी तलब २२ लाख ४५ हजार ५ सय, पानी-बिजुलीमा १ लाख १२ हजार एक सय, छपाइमा ३ लाख ६८ हजार, सञ्चार ७३ हजार ८ सय, मिडिया नेपाल सहयोग २५ हजार, सफ्टवेयर डेभलपमेन्ट १ लाख ४७ हजार ८ सय, पृथ्वी जयन्ती एकता दिवस १ लाख ५० हजार ३८७, जनप्रदर्शन कार्यक्रम ६ लाख ७४ हजार ७ सय, केन्द्रीय कार्यालय बैठक खर्च ९७ हजार ५ सय रुपैयाँ देखिएको छ। 

राप्रपाको नाममा बैंक खाता समेत छैन। लेखा टिप्पणीमा ‘पार्टीको नाममा यस अवधिमा बैंक खाता सञ्चालन नभएकाले जो जति बाँकी रकम छ नगद मौज्दातमा नै रहेको देखिन्छ’ उल्लेख गरिएको छ। सो वर्ष पार्टीले कुनै प्रशिक्षण भेला समेत गरेको छैन। 

चल-अचल सम्पत्तिको मौज्दात २ करोड ११ लाख ४९ हजार ९७६ रहेको छ। यो अघिल्लो आर्थिक वर्षको भन्दा २७ हजार ८९९ घटी हो। अघिल्लो आर्थिक वर्षमा राप्रपाको मौज्दात २ करोड ११ लाख ७७ हजार ८७५ रुपैयाँ रहेको थियो।

६ साउन, २०७९, १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।