पोखराका मेयर धनराजको धन ४३ करोड, बैङ्क, हाइड्रो र जग्गामा लगानी

पोखराका मेयर धनराजको धन ४३ करोड,  बैङ्क, हाइड्रो र जग्गामा लगानी

पोखरा : पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक गरेको सम्पत्तिमा उनीसँग ४३ करोड बराबरको सम्पत्ती रहेको सार्वजनिक भएको छ। एकिकृत समाजवादीबाट मेयरमा निर्वाचित भएका उनको पोखरा र काठमाडौँमा करोडौँको सम्पत्ती रहेको छ।

महानगरपालिकाको मेयरमा निर्वाचित भएको दुई महिनापछि उनले चल, अचल र जिन्सीसहितको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। उनको कुल सम्पत्ति ४३ करोड ६१ लाख ४५ हजार रुपैयाँ बराबरको रहेको छ। उनलाई दुई करोड ८५ लाख रुपैयाँ ऋण लागेको छ।

आचार्यले सार्वजनिक गरेको विवरणमा उल्लेख भए अनुसार २ करोड ८५ लाख रुपैयाँ ऋण बैङ्क, वित्तीय कोष र नातेदारसँग लिएको उल्लेख छ। ऋण घटाउँदा उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार रुपैयाँ रहेको सम्पत्ति विवरणमा देखिन्छ।

विभिन्न बैङ्क तथा वित्तीय संस्थामा उनले २५ करोड, ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ सेयर र लगानी गरेका छन्। आचार्यको नाममा कास्कीको मादीमा निर्माणाधिन सुपर मादी हाइड्रो र हेवा खोला हाइड्रो पावरमा शेयर रहेको छ। तमोर जलविद्युत आयोजना, मेगा बैङ्क र सिटी डेभलपमेन्ट बैङ्कमा उनको संस्थापक शेयर छ।

ब्यापार, व्यवसाय, उद्योग, हाइड्रो, बैक लगायत झन्डै दुई दर्जन भन्दा बढी क्षेत्रमा लगानी गरिरहेका मेयर आचार्यले पोखरामा २ र काठमाडौँमा २ सहित ४ वटा घर रहेको सम्पत्ति विवरण खुलाएका छन्। मेयर आचार्यका चार वटा घरमध्ये पोखरा नयाँ बजार र काठमाडौँ सीतापाइलाको घरजग्गा श्रीमती पुष्पाकुमारी आचार्यको नाममा छ।

हाल मेयर आचार्य बस्दै आएको पोखरा–९ नयाँ बजारमा २८९ वर्ग मिटरको जग्गामा दुई वटा आरसिसी ढलान घर रहेका छन्। मेयर आचार्यका अनुसार ती दुई घर जग्गाको मूल्य ९ करोड २५ लाख रुपैयाँ रहेको छ।

त्यस्तै काठमाडौँ–४ सीतापालामा श्रीमती पुष्पाको नाममा रहेको ९ सय २९ स्क्वायर फिटको २ कित्तामा रहेको घर, जग्गाको मूल्य १ करोड ८५ लाख रहेको उल्लेख छ।

मेयर आचार्यले बहुमूल्य धातुतर्फ पाँच तोला हिरा, ५४ तोला सुन, ३८ तोला चाँदी र १५ लाख नगद रहेको विवरण पेस गरेका छन्। उनको नामा पोखरा-११ मा दुई कित्ता जग्गा र घर छ।

त्यस्तै दोलखामा ५८ रोपनी ७ आना जग्गा ८७ लाख रुपैयाँमा खरिद गरेको मेयर आचार्यले उल्लेख गरेका छन्।उनको दुई करोड रुपैयाँ बराबरको कार, भ्यान र तीन वटा स्कुटर छन्। टोयटा र्याभ फोर, रेनल्र्ट क्विड कार, ओम्नी भ्यान एउटा र तीन वटा स्कुटर रहेको विवरणमा उल्लेख छ।

४ साउन, २०७९, २३:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।