बुटवल उपमहानगरले पुनः सुरु गर्‍यो जग्गाको लगत सङ्कलन

बुटवल उपमहानगरले पुनः सुरु गर्‍यो जग्गाको लगत सङ्कलन

बुटवलः बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत सङ्कलन सुरु गरेको छ। उपमहानगरको वडा नं १२ सहितका केही वडामा लगत सङ्कलन थालिएको हो।

लगत सङ्कलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए। “अहिले कुन जग्गा व्यक्तिको हो, कुन सार्वजनिक हो, कहाँ बस्ती बसेको छ, कहाँ छैन भन्ने लगत सङ्कलनको काम हुन्छ”, उनले भने।

स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारबमोजिम सार्वजनिक, ऐलानी र पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने काम नगरले अघि बढाएको प्रमुख पाण्डेयले बताए।

जग्गाको लगत सङ्कलनका लागि नगरले स्थानीयवासीसँग छलफल पनि थालेको छ। सोमबार बुटवल–१२ का बासिन्दाबीच छलफल गरिएको छ। कार्यक्रममा राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाले दिएको लगत र तथ्याङ्कका आधारमा लालपुर्जा वितरणको प्रक्रिया अघि बढ्ने बताए।

उपमहानगरपालिकामा यसअघि नै गरिएको तथ्याङ्क सङ्कलनअनुसार करिब १७ हजार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए।

३ साउन, २०७९, ०८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।