रेडियसन अंकोलोजी विशेषज्ञ डा. श्वेताको उपचार अनुभवः पैसा र मान्छे दुवै नरहने भ्रमले बिरामी बचाउन मुस्किल

रेडियसन अंकोलोजी विशेषज्ञ डा. श्वेताको उपचार अनुभवः पैसा र मान्छे दुवै नरहने भ्रमले बिरामी बचाउन मुस्किल
तस्बिरः कृष्पा श्रेष्ठ

चिकित्सकले अस्पतालबाट बोलावट हुँदा जतिखेर पनि दौडनुपर्ने हुन्छ। अस्पतालबाट फोन आएपछि रात-बिरात धेरै पटक दौडेर अस्पताल पुगेकी छन् रेडियसन अंकोलोजी विशेषज्ञ डा. श्वेता बराल।

यसरी अस्पताल पुगेर बिरामी बचाउँदा त सन्तुष्टि मिल्छ नै। तर घरमा बसेको बेला राति अकस्मात अस्पताल पुगेर पनि बिरामी बचाउन नसक्दा भने डा. उनको मन खिन्न हुन्छ। 

राति नै दौडिएर अस्पताल पुग्दा समेत बिरामीलाई बचाउन सम्भव नभएको एउटा प्रसंग सुनाउँछिन् डा. श्वेता। 

करिब चार वर्षअघिको कुरा हो। करिब ३० वर्षकी महिलालाई आन्द्राको क्यान्सर भएको थियो। शल्यक्रिया नै गर्नुपर्ने थियो। भक्तपुर क्यान्सर अस्पतालमा आन्द्राको शल्यक्रिया भयो। शल्यक्रियाको सफलतापछि ती बिरामीलाई किमोथेरापी चलाइएको थियो। महिला घरबाटै धाएर अस्पतालमा किमोथेरापी लिइरहेकी थिइन्। 

एक दिन उनलाई ज्वरो आएछ। ज्वरो आए तुरुन्तै अस्पताल आउन डा. श्वेताले सल्लाह दिएकी पनि थिइन्। तर ती महिलालाई ज्वरो आएको पाँच  दिनपछि मात्रै भक्तपुर क्यान्सर अस्पताल पुर्याइएछ। 

त्यसैले थप उपचारका लागि तुरुन्तै उनलाई पाटन अस्पताल रिफर गरियो। तर भोलिपल्ट बिहान ती बिरामी महिलाको मृत्यु भएछ। २४ वर्षकै उमेरमा दूधे बच्चा छाडेर जानु परेको त्यो खबर सुन्दा आफूलाई मन थाम्न समेत कठिन भएको डा. श्वेताले सुनाइन्। 

बिरामीलाई बेलुका अस्पतालको आकस्मिक कक्षमा लगियो। जतिबेला डा. श्वेता अस्पतालको ड्युटी सकेर घर फर्किसकेकी थिइन्। 

उनी घरमा खाना खाएर के सुतेकी मात्रै थिइन्, अस्पतालबाट फोन आयो। फोनमा भनियो, ‘इमर्जेन्सी केस (बिरामी) छ। तुरुन्तै अस्पताल आउनुपर्यो।’

डा. श्वेता हत्तपत्त उठेर अस्पताल पुगिन्। अस्पतालमा आकस्मिक रुपमा ती महिलाको उपचार त भइरहेको थियो। उनी पुगेपछि टिमले थप उपचार सुरु गर्यो। 

बिरामी महिलालाई अस्पतालमा ल्याउन निकै ढिला भइसकेको थियो। ज्वरो आएको पाँच दिनपछि मात्रै अस्पताल लगिएको थियो। महिलाको निमोनिया जटिल अवस्थामा पुगिसकेको थियो। किमोथेरापीपछि शरीरमा रगतको मात्रा कम भएर निमोनिया भएको रहेछ। 

डा. श्वेताको टिमले बिरामी महिलालाई राति नै आइसियुमा राख्यो। अक्सिजन दिइयो। आवश्यक औषधि उपचार गर्यो। 

तर, बिरामीको स्वास्थ्यमा सुधार आउनुको सट्टा झन् बिग्रँदै गयो। त्यसपछि डा. श्वेताको टिमले बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्यो।

तर, डा. श्वेता नेतृत्वको चिकित्सकको टिमको रातभरिको प्रयास निरर्थक बन्यो। महिलालाई बचाउन सम्भव भएन। अन्ततः ती ३० वर्षे महिलाले बिहानै प्राण त्यागेको उनले सुनाइन्। राति आफू दौडेर अस्पताल पुगी उपचार गर्दा समेत बिरामीलाई बचाउन नसकेको क्षण सम्झँदा अहिले पनि डा. श्वेताको मन खिन्न हुन्छ। 

दूधे बालककी आमाको मृत्युको त्यो क्षण
करिब सात वर्षअघि डिम्बासयको क्यान्सर भएकी महिलाको मृत्युको प्रसंग पनि डा. श्वेताको मानसपटलमा ताजै छ। जतिबेला उनले भक्तपुर क्यान्सर अस्पतालमा जागिर खाएको केही महिना मात्रै भएको थियो। 

अस्पताल भर्ना हुँदा ती महिलाको डिम्बासयको क्यान्सर तेस्रो स्टेजमा पुगिसकेको थियो। डा. श्वेताले किमोथेरापी सुरु गर्दा करिब २४ वर्षीया बिरामी महिलाको दुई महिनाको बच्चा थियो। उपचारपछि उनको क्यान्सर करिब निर्मुल नै भइसकेको थियो। 

उपचार गरेर उनी अस्पतालबाट डिस्चार्ज भइन्। तर किमोथेरापी सकेर घर गएको करिब एक महिनापछि महिलाको खुट्टामा समस्या भएर श्वासप्रश्वासमा समेत कठिन भएछ। उनलाई पुनः भक्तपुर क्यान्सर अस्पतालको आकस्मिक कक्षमा ल्याइयो। स्वास्थ्य जाँचका क्रममा उनको खुट्टाको नसामा रगत जमेको पत्ता लाग्यो। 

अस्पताल ल्याउँदा बिरामी महिलालाई श्वास फेर्नै गाह्रो थियो। निमोनियाको पनि लक्षण देखियो। सायद क्यान्सरको जटिलताका कारण खुट्टामा जमेको रगत फोक्सोमा गएको हुन सक्थ्यो। मुटुमा पनि समस्याको लक्षण थियो। 

त्यसैले थप उपचारका लागि तुरुन्तै उनलाई पाटन अस्पताल रिफर गरियो। तर भोलिपल्ट बिहान ती बिरामी महिलाको मृत्यु भएछ। २४ वर्षकै उमेरमा दूधे बच्चा छाडेर जानु परेको त्यो खबर सुन्दा आफूलाई मन थाम्न समेत कठिन भएको डा. श्वेताले सुनाइन्। 

मृत्यु कुरिरहेका ती बाजे
मलद्वारको क्यान्सर भएका करिब ६५ वर्षीय एक जना बाजे करिब दुई वर्षअघि भक्तपुर क्यान्सर अस्पताल पुगेका थिए। उनलाई डा. श्वेताको टिमले किमोथेरापी र रेडियोथेरापी दियो। 

क्यान्सर लागेकापछि मृत्यु निश्चित छ भन्ने भ्रम धेरैमा देखिन्छ। उपचारपछि क्यान्सरका बिरामी ठिक भएको प्रसंग सनि सुनाइन् डा. श्वेताले।

सामान्यतः मलद्वारको क्यान्सर भएका बिरामीको शल्यक्रिया गर्नुपर्छ। शल्यक्रिया गर्नुपूर्व किमो र रेडियोथेरापी दिनुपर्ने हुन्छ। किमो र रेडियोथेरापी गरेपछि क्यान्सर केही ठिक समेत हुन्छ। 

तर, ती बिरामी किमो र रेडियोथेरापी दिएपछि शल्यक्रियाका लागि अस्पताल नै गएनछन्। 

करिब दुई महिनाअघि परिवारले पुनः भक्तपुर क्यान्सर अस्पताल ल्याउँदा त उनको क्यान्सर फैलिएर यति जटिल बनिसकेको देखियो कि शल्यक्रिया गरेर पनि फाल्न सकिने अवस्था भएन। 

अहिले पनि ती बिरामीलाई किमोथेरापी चलाइएको छ। ती बिरामीको स्वास्थ्य अवस्था यति नाजुक भइसकेको छ कि अब उनले मृत्यु कुर्नुसिवाय कुनै विकल्प नभएको डा. श्वेता बताउँछिन्।

बेलैमा उपचार नगरी मृत्युको घडी कुरिरहेका ती बाजेलाई देख्दा डा. श्वेताको मन अमिलो हुन्छ। भारी हुन्छ। तर उनीसँग थप उपचार गरेर बचाउने चिकित्सकीय विधि पनि छैन।

आफूले रेडियोथेरापी दिएका यस्ता बिरामीमध्ये करिब ३० प्रतिशत बिरामी त शल्यक्रियाका लागि फलोअपमा अस्पताल नै नजाने गरेको डा. श्वेताको अनुभव छ। 

त्यसरी अस्पतालबाट हराएका बिरामीहरु क्यान्सर फैलिएर जटिल अवस्थामा पुगिसकेपछि पुनः अस्पताल पुग्ने गरेको उनको अनुभव छ। यस्तो अवस्थामा अधिकांश बिरामीलाई बचाउन मुस्किल पर्छ।

बाँचिदैन भन्ने ठानेर आयुर्वेदिक औषधि खाएकी महिला पुनः उपचारमा
बाँचिदैन भन्ने ठानेर आयुर्वेदिक उपचारतर्फ लागेकी करिब ५५ वर्षकी महिला पुनः अस्पताल पुगेको प्रसंग पनि सुनाउँछिन् डा. श्वेता। 

केही महिनाअघिको कुरा हो। करिब ५५ वर्षकी महिला महिला भक्तपुर अस्पताल पुगेकी थिइन्। स्वास्थ्य जाँचको क्रममा उनलाई पाठेघरको मुखको क्यान्सर भएको थाहा भयो। कलेजोमा पनि सानो दाग थियो। तर केको दाग भन्ने यकिन भइसकेको थिएन। दागको परीक्षण गर्नै बाँकी थियो।

तर, ती बिरामी अब क्यान्सर ठिक हुँदैन भन्ने ठानेर अस्पताल नगई आयुर्वेदिक औषधालयतिर पो गइछन्। आयुर्वेदिक भनिएका चिकित्सकले आयुर्वेदिक औषधि उपचार गरेछन्। एमआरआई पनि गराएछन्। पछि कलेजोको दाग क्यान्सर नभई सामान्य दाग मात्रै भएको पत्ता लाग्यो।

तर, ती महिलालाई आयुर्वेदिक भनिएको औषधिले पनि ठिक गर्नुको सट्टा क्यान्सरको समस्या झन् जटिल हुँदै गएछ। एकातर्फ रोग बढ्यो, अर्कातर्फ अनावश्यक खर्च पनि भयो।

चार महिना आयुर्वेदिक औषधि सेवन गरेपछि भने उनी पुनः भक्तपुर क्यान्सर अस्पताल पुगिन्। त्यो बेलासम्ममा उनको क्यान्सर फैलिसकेको थियो। रगत नै बग्न थालेको थियो।

भक्तपुर अस्पतालमा उनको उपचार सुरु भयो। किमोथेरापी, रेडियोथेरापी जस्ता औषधि उपचार भयो। अहिले पनि उनको उपचार भइरहेको र ठिक पनि भइरहेको डा. श्वेताले सुनाइन्।

ती बिरामी जस्तै धेरै बिरामी क्यान्सर लागेपछि ठिक हुँदैन भन्ने ठानेर अस्पताल नै नगई भौंतारिने गरेको डा. श्वेताको अनुभव छ। अस्पताल पुगेकामध्ये कयौं बिरामी त भाग्ने समेत गरेको उनले सुनाइन्। क्यान्सर फैलिएर जटिलता निम्तिएपछि भने पुनः अस्पताल पुग्ने गरेका धेरै उदाहरण छन् डा.श्वेतासँग।

क्यान्सरको चौथो स्टेजमा पुगेकी किशोरीको उपचारमा सफलतापछि...
क्यान्सर लागेकापछि मृत्यु निश्चित छ भन्ने भ्रम धेरैमा देखिन्छ। उपचारपछि क्यान्सरका बिरामी ठिक भएको प्रसंग सनि सुनाइन् डा. श्वेताले।

करिब पाँच वर्षअघि ९ कक्षामा पढ्ने १५ वर्षीया किशोरी भक्तपुर क्यान्सर अस्पताल पुगिन्। स्वास्थ्य परीक्षण गर्दा उनको नाकको क्यान्सर भएको र क्यान्सर हातको हड्डीमा समेत फैलिइसकेको थाहा भयो। 

ती किशोरीको क्यान्सर चौथो स्टेज पुगिसकेको थियो। जुन जटिल अवस्था हो। त्यसैले डा. श्वेताको पनि मनमा कताकता निको पार्न मुस्किल पर्ने पो हो कि भन्ने लागेको थियो। सामान्यतः यस्तो अवस्थाका क्यान्सर रोग लागेका बिरामीलाई एक वर्षभन्दा बढी बचाउन मुस्किल पर्ने उनको अनुभव छ। 

ती किशोरीको उपचार सुरु भयो। किमोथेरापी तथा रेडियोथेरापी रेडियो थेरापी सुरु गरियो।

भाग्य नै भन्नुपर्छ, चिकित्सकको टिम निराश हुनु परेन। किशोरीको उपचारमा सफलता मिल्यो। उनी क्यान्सर जितेर अस्पतालबाट घर फर्किइन्। 

तर, उपचार गरेको दुई वर्षपछि फेरि ती किशोरीमा क्यान्सर फर्केछ। डा. श्वेताले बिरामीको नाकमा रेडियो थेरापी गराइन्।  त्यसपछि भने क्यान्सर हरायो। अहिले उनी स्वस्थ भएको र इन्जिनियर पढिरहेको डा.श्वेताले सुनाइन्।

२९ वर्षे पुरुषलाई बचाउन नसक्दा
नियमित उपचार गराइरहेका क्यान्सर रोगीलाई बचाउन नसकेको अनुभव पनि छ डा. श्वेतासँग। 

करिब पाँच महिनाअघि मलद्वारको क्यान्सर भएका २९ वर्षे पुरुषलाई बचाउन नसकेको क्षण सम्झँदा डा. श्वेताको मन भारी हुन्छ।

किमोथेरापी र रेडियोथेरापी दिएर शल्यक्रियाको योजना बनाइएको थियो। तर ती बिरामीको दुर्भाग्य, उपचारका क्रममा मिर्गौला पनि बिग्रँदै गयो। जति उपचार गरे पनि समस्या कम हुनुको सट्टा बढ्दै गयो। जसले गर्दा शल्यक्रिया गर्न समेत सम्भव भएन। त्यसपछि ती पुरुषलाई बचाउन नसकिने निष्कर्षमा पुग्यो चिकित्सकको टिम। त्यसैले बाचुञ्जेल जीवन सहजताका लागि चिकित्सकको टिमले उनलाई किमोथेरापी लगायत औषधि उपचार गरिरहेको थियो।

अथक प्रयास गर्दा समेत ३० वर्षे ती पुरुषलाई बचाउन नसक्दा मन नै भारी भएको डा. श्वेताले अनुभूति सुनाइन्।

सम्पत्ति र बिरामी दुवै सकिने भ्रम
अस्पतालमा धेरै बिरामी क्यान्सरको जटिलता निम्तिएपछि पुग्ने गरेकाले बचाउन मुस्किल पर्ने गरेको डा. श्वेताको अनुभव छ। उनी भन्छिन्, ‘क्यान्सरको स्टेज तीन र चार भएपछि धेरै बिरामी आउनुहुन्छ। स्टेज एक र दुईमा अस्पताल धेरै कम बिरामी आउनुहुन्छ।’

डा. श्वेतालाई उपचारपछि ठिक भएका बिरामी र बिरामीका आफन्तले कोसेली पनि ल्याइदिन्छन्। गोलभेंडा, सिमी, मह, घ्यु, सातु जस्ता कोसेली ल्याइदिने गरेको उनले सुनाइन्।

त्यसो त कतिपय बिरामी भने अस्पताल पुगेर क्यान्सर प्रमाणित भएपछि पनि उपचार नगरी आयुर्वेदिक औषधितिर जान्छन्। अनि अरुका अनावश्यक कुरा सुन्छन्। भौंतारिन्छन्। जसले गर्दा क्यान्सर जटिल भइसकेपछि अस्पताल पुग्छन्। बेलैमा उपचार गरेको भए बचाउन सक्ने सम्भावना भएका बिरामी समेत क्यान्सरको जटिलता निम्तिएर अस्पताल पुगेपछि बचाउन नसक्दा भने उनी निराश हुन्छिन्। 

क्यान्सर लागेपछि पैसा पनि नरहने अनि बिरामी पनि नबाँच्ने सोचका कारण उपचारपछि ठिक हुने धेरै बिरामी ढिलो भइसकेपछि मात्रै अस्पताल पुग्ने गरेको डा. श्वेताको अनुभव छ। तर, त्यो भ्रम चिर्नका ठूलो खर्चविना पनि क्यान्सरको उपचार सम्भव हुन्छ भन्ने सम्झाउनुपर्ने उनले सुनाइन्। बिरामी तथा बिरामीका आफन्तलाई उनी आफैँ सम्झाउने गर्छिन् पनि।

उनी अनावश्यक कुरा नसुन्न र आयुर्वेदिक औषधि खाएर क्यान्सर निको हुँदैन भनेर हरेक बिरामीलाई सम्झाइरहेकी हुन्छिन्। 

पाको उमेरको तुलनामा कलिलो उमेरका व्यक्तिमा लागेको क्यान्सर चाँडै फैलिएको पाइने गरेको उनी बताउँथिन्।

दुई हजारलाई रेडियोथेरापी
डा. श्वेताले रेडियोथेरापी विशेषज्ञका रुपमा काम गरेको करिब साढे सात वर्ष भयो। 

किमोथेरापी, रेडियोथेरापी र सर्जरी क्यान्सर उपचारका मुख्य तीन विधि हुन्। क्यान्सर रोग लागेका बिरामीलाई रेडियोथेरापी र किमोथेरापी दिएर उपचार गर्नु उनको दैनिकी हो।

साढे सात वर्षको अवधिमा डा. श्वेता आफैंले मात्रै करिब दुई हजार क्यान्सरका बिरामीलाई रेडियो थेरापी विधिमार्फत उपचार गरेकी छन्। उपचार गरेकामध्ये बढीमा तीस प्रतिशत बिरामी मात्रै फलोअपमा पुग्ने गरेको उनले सुनाइन्। बाँकीको अवस्थाका बारेमा उनीसँग तथ्यांक छैन।

क्यान्सरको उपचारमध्ये करिब ७० प्रतिशतमा रेडियोथेरापी आवश्यक हुने उनले सुनाइन्।

रेडियो थेरापी उपचारात्मक विधिले विशेषगरी पाठेघरको मुखको क्यान्सर, नाक-कान-घाँटीको क्यान्सर ठिक हुने डा. श्वेताले बताइन्। त्यसैगरी स्तन लगायत धेरै क्यान्सरमा रेडियोथेरापी आवश्यक हुने उनी बताउँछिन्।

कोसेलीमा गोलभेंडादेखि सातुसम्म
डा. श्वेतालाई उपचारपछि ठिक भएका बिरामी र बिरामीका आफन्तले कोसेली पनि ल्याइदिन्छन्। गोलभेंडा, सिमी, मह, घ्यु, सातु जस्ता कोसेली ल्याइदिने गरेको उनले सुनाइन्।

केही महिनाअघि मात्रै उनलाई एक जना बुढी आमैले कालो दाल र मकैको सातु कोसेली ल्याइदिएकी थिइन्। ती आमैका श्रीमानलाई नाक, कान र घाँटीको क्यान्सर भएको थियो। उपचारपछि ठिक भयो। त्यसैले फलोअपमा आउँदा कोसेली ल्याइदिएको उनले बताइन्।

यसरी बिरामी तथा आफन्तले सम्झिएर कोसेली ल्याइदिँदा डा. श्वेतालाई पनि रमाइलै लाग्छ। सम्झेर ल्याइदिएको कोसेली उनी नकार्न सक्दिनन्। 

बंगलादेशमा एमबिबिएस
काठमाडौंमा जन्मिएकी श्वेताले सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट एसएलसी पास गरिन्। र, त्यहीँ आइएससी अध्यय गरिन्।

आइएससीपछि एमबिबिएस अध्ययन गर्न श्वेता बंगलादेश पुगेकी श्वेता सन् २००२ मा युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा भर्ना भइन्। सन् २००७ मा एमबिबिएस पूरा गरी नेपाल फर्किएर उनले एक वर्ष विभिन्न अस्पतालमा इन्टर्नसिप गरिन्।

इन्टर्नसिपपछि उनले सन् २००९ देखि सन् २०१० सम्म वीर अस्पतालमा मेडिकल अधिकृतका रुपमा करार जागिरे भएर काम गरिन्। उनले अस्पतालको आकस्मिक विभागमा नै काम गरिन्।

वीरको आकस्मिक कक्षमा काम गर्दा उनले आकस्मिक रुपमा स्वास्थ्य समस्या भई अस्पताल पुगेका बिरामीको उपचार तथा व्यवस्थापनसम्बन्धी राम्रो ज्ञान लिने मौका पाइन्। जसले गर्दा बिरामीको उपचार तथा व्यवस्थापनका लागि श्वेताको आत्मविश्वास बढ्यो। त्यहाँ कामको चाप निकै हुन्थ्यो।

वीर अस्पतालपछि श्वेता सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा काम गर्न थालिन्। त्यहाँ पनि करार मेडिकल अधिकृतका रुपमा नै एक वर्ष काम गरिन्।

गंगालालमा उनले विशेषगरी मुटुसम्बन्धी समस्या भएका बिरामीको उपचार तथा व्यवस्थापनको ज्ञान सिक्ने मौका पाइन्। जुन अनुभवले जीवनभर सहयोग मिलेको उनी सुनाउँछिन्।

छनोटमा रेडियसन अंकोलोजी
दुई वर्ष काम गरिसकेपछि डा. श्वेताले चिकित्साशास्त्रमा  स्नातकोत्तर तहको अध्ययन थालिन्। उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सन् २०११ मा स्नातकोत्तर तहको 'एमडी’ ‘रेडियसन अंकोलोजी’ विषयको अध्ययन थालिन्।

सन् २०१४ मा एमडी अध्ययन सकियो। वीर अस्पतालको आकस्मिक कक्षमा काम गर्दा क्यान्सरका धेरै बिरामी दुःख पाएर अस्पताल पुगेको देखेपछि नै आफूले यो विषय रोजेको डा. श्वेताले सुनाइन्।

अध्ययन सकिने वित्तिकै सन् २०१४ मा नै डा. श्वेता भक्तपुर क्यान्सर अस्पतालमा काम गर्न थालिन्। 

थप ज्ञान तथा सिपको विकास गर्नु छँदै थियो। त्यसैले उनले सन् २०१९ मा भारत पुगेर टाटा मेडिकल सेन्टरमा रेडियसन अंकोलोजी विषयमा एक वर्षे फेलोसिप गरिन्। त्यहाँ रेडियसन अंकोलोजी सम्बन्धी थप ज्ञान तथा सिप सिकेर उनी नेपाल फर्किइन्। साढे सात वर्षयता भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छिन् डा. श्वेता।

३२ असार, २०७९, १४:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।