हतियार खरिद र सरकारको शैलीमा देउवालाई घेर्दै शेखर समूह, सहमति नगरी गठबन्धन गरेर जान दिए चेतावनी

हतियार खरिद र सरकारको शैलीमा देउवालाई घेर्दै शेखर समूह, सहमति नगरी गठबन्धन गरेर जान दिए चेतावनी

काठमाडौँ : आफूलाई काम गर्न रोके विधान संशोधन गरेर तेस्रो पटक पनि सभापति बन्न सक्ने कांग्रेस सभापति शेरबहादुर देउवाको चेतावनीपछि पार्टीको शेखर कोइराला समूह आक्रामक बनेको छ।

असार २७ बाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बिहीबारको बैठकमा बोल्ने अधिकांश शेखर समूहका नेताहरूले आफ्नो समूहलाई पेलेर निर्वाचनमा जान चेतावनी मात्र दिएनन् आफू पार्टीभित्र प्रतिपक्षीहुँदा गरेका गतिविधि समेत सम्झाए।

बुधवारको बैठकमा शेखर समूह निकट केन्द्रीय सदस्य सञ्जय गौतमले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर केही सिट बढेको देखिए पनि पार्टी भने पराजय भएको बताउँदै फेरि गठबन्धन गरेर चुनाव जितिए पनि कांग्रेस हार्ने बताएका थिए।

उनले शेखर कोइरालालाई कोठा उपलब्ध गराउन समेत माग गरेका थिए। त्यसपछि आक्रोशित बनेका देउवाले काम गर्न नदिए आफू विधान संशोधन गरेर तेस्रो पटक सभापति बन्न सक्ने चेतावनी दिएका थिए।

‘मलाई धेरै नजिस्काउनुहोस् तपाईँहरू, म राम्रो पार्टी बनाएर योग्य नेतालाई सङ्गठन बुझाउन चाहन्थे। यस्तै तपाईँहरूले गर्ने भए विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु,’ देउवाको भनाइ थियो।

तर उनको चेतावनीबाट शेखर समूहका नेताहरू हच्किएनन् उल्टो बिहीबारको बैठकमा चुनौती दिए।

केन्द्रमा हप्काएजस्तो अवस्था गाउँमा नभएको भन्दै उनीहरूले गठबन्धन चाहने देउवा समूह अनि गठबन्धन नचाहने शेखर समूह भनेर जसरी भाष्य निर्माण गरिएको छ त्यो देउवाकै लागी घातक हुने चेतावनी समेत दिएका थिए।

विगत हेर्न देउवालाई सुझाव

बिहीबार कोइराला समूहले सभापति देउवालाई नेता कोइराला समूहका नेताहरूले विगतमा आफूले गरेका भेलालाई कसरी लिनुहुन्छ ? भन्दै प्रश्न गरेको थियो।

नेता अर्जुननरसिंह केसीले बैठकमा भने, 'अहिले समूहको भेलालाई अनौठो मान्ने शेरबहादुरजीले विगत सम्झिने कि नसम्झिने? हिजो उहाँ प्रतिपक्षमा हुँदा गरेका भेलाबारे के भन्नुहुन्छ?’

बैठकमा अर्का केन्द्रीय सदस्य बलबहादुर केसीले आगामी निर्वाचनमा गठबन्धन चाहने देउवा पक्ष र नचाहने इतर पक्ष देखिने भाष्य हटाउनुपर्ने बताएका थिए।

गठबन्धन गरेर स्थानीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बने पनि सङ्गठन भने कमजोर भएको उनको दाबी थियो।

‘गठबन्धन गर्ने पक्ष शेरबहादुर पक्षका गठबन्धन गर्नु हुँदैन भन्ने शेरबहादुरका विरोधी हुन भन्ने जसरी प्रस्तुत भएको छ। यो प्रस्तुतिसँग सन्तुष्ट छैन,’ उनले बैठकमा भने।

शेखरलाई साइजमा राख्ने देउवाका तीन हतियार

उनले प्रतिशतको हिसाब गरेर पार्टीको निर्णय नगर्न समेत चेतावनी दिएका थिए।

‘तपाईँहरूका ८० प्रतिशत नै हुनुहोस् मानौँ। अरूलाई बाइपास गरेर गठबन्धन गरेर जानुहोस् त चुनावमा परिणाम के हुँदो रहेछ ?’ उनले भने।

कांग्रेस सम्हाल्न नसक्ने अवस्थामा पुगेको र केन्द्रीय कार्यालयमा हप्काएजस्तो अवस्था पार्टीको नभएको केसीले बताएका थिए।

‘कांग्रेस असनको साँढे छोडेको जस्तो भएको छ। कांग्रेस सम्हाल्न सक्ने अवस्थामा छैन। तपाईँहरूले यहाँ हप्काएको जस्तो गाउँमा छ स्थिति ? विद्रोहका सुरुवात भएको छ,’ उनले भने।

राप्रपाबाट आएकालाई भूमिका खोइ ?

कांग्रेस केन्द्रीय सदस्य सुनिल थापाले मतपत्रका कारण कांग्रेसले हारेको बताए।

‘जसरी छापियो त्यो अन्तर्राष्ट्रिय मान्यता विपरीत छ। नेपाली कांग्रेसले चुनावमा हार्नुको कारण निर्वाचन आयोगको गतिविधि पनि हो। उम्मेदवारै नभएको ठाउँमा पार्टीको चुनाव चिन्ह के का लागि?’ बैठकमा थापाले भने।

उनले राप्रपाबाट आएकालाई मात्र नभएर पार्टी चलायमान बनाउने कार्यकर्तालाई समेत भूमिका दिन नसकेको बताए।

‘राप्रपाबाट त्यत्रो पद र हैसियत छोडेर धेरै साथीहरू आउनुभयो , मेरो विश्वासमा आउनुभयो। तर, अहिले उहाँहरूलाई खै भूमिका, भूमिका दिनुपर्दैन ?’, उनले प्रश्न गरे।

केन्द्रीय सदस्य कृष्ण सिटौलाले बाम एकता भयो भने कांग्रेसको हालत के हुन्छ भन्दै प्रश्न गरेका थिए। 

‘स्थानीय चुनावमा वाम गठबन्धन भएको भए हामीलाई धेरै गाह्रो हुन्थ्यो , भोलि वाम एकता भयो भने हाम्रो हालत के हुन्छ ?’ बैठकमा उनले भने।

उनले गठबन्धन गरेर आगामी निर्वाचनमा जानेबारे निर्णय गर्न हतारो गर्न नहुने बताए।

बैठकमा केन्द्रीय सदस्य मीनाक्षी झाले मधेस प्रदेशमा कांग्रेस सिद्ध्याउन खोजेको हो भन्दै प्रश्न गरेकी थिइन्। ‘हाम्रो प्रतिस्पर्धा गर्ने पार्टीलाई टिकट दिएर कांग्रेस सिद्ध्याउन खोजेको हो , तराईमा कांग्रेस चाहिँदैन सभापति ज्यू ?,’ उनको प्रश्न थियो।

हतियारको प्रश्न

देशमा आर्थिक सङ्कट चुलिँदै गएको र विदेशी मुद्रा रित्तिँदै जान थालेको वित्तीय सङ्कटका बेला ८४ करोड रुपैयाँ बराबरको विदेशी हातहतियार किन्नुको के औचित्य छ भनी प्रश्न गरेका थिए।

अर्का केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पनि हतियार किन्ने प्रसगं आएको भन्दै प्रश्न गरेका थिए। ती प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले अहिले हतियार किन्ने सरकारको कुनै तयारी नभएको दाबी गरे।

‘अहिले हतियार किनिन्न,’ उनले भने, ‘हतियार किन्नेबारे सरकारले कुनै तयारी गरेको पनि छैन,’ देउवाको भनाइ उद्धत गर्दै श्रेष्ठले भने।

आर्थिक सङ्कटतर्फ उन्मुख भइरहँदा नेता श्रेष्ठले विज्ञहरू राखेर उपाय निकाल्न सुझाएका थिए।  ‘मैले गर्भनरको कुरा पनि निकाले, एमालेको आर्थिक विभागमा बसेपछि कारबाही हुनपर्छ सारा अर्थतन्त्र सिद्ध्याउनै उहाँ हो यो डिजाइन अनुसार भइरहेको छ भने यसमा सभापतिले ढुक्क हुनुस् हेरेर म गर्छु भन्नुभएको छ,’ श्रेष्ठले उकेरासँग भने। 

३० असार, २०७९, २१:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।