बाबुराम- उपेन्द्रको सकस : वीरगन्ज र जडीबुटी कुनै भेलामा पुगेन बहुमत

बाबुराम- उपेन्द्रको सकस : वीरगन्ज र जडीबुटी कुनै भेलामा पुगेन बहुमत

काठमाडौँ : पार्टी फुटाउने कसरतमा जनता समाजवादी पार्टीका दुवै पक्ष सकसमा परेका छन्। काठमाडौँको जडीबुटीमा सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई समूह र वीरगन्जमा कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव आ-आफ्नो रणनीति बनाउन व्यस्त छन्।

तर दुवै पक्षमा बहुमत पुगेको छैन। वीरगन्जको उपेन्द्र पक्षको बैठकमा १ सय ३० जना केन्द्रीय सदस्य उपस्थित छन्। कतिपय नेताहरू नाम दर्ता नगराई पनि बैठकमा बसेका छन्। बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बैठकमा १०६ जनाले नाम दर्ता गराएका थिए भने नाम दर्ता नगराईकन प्रवेश गर्नेहरू पनि थिए।  

जसपाको केन्द्रीय समिति ४ सय ९९ सदस्यीय रहेको छ। मङ्गलवारदेखि जडीबुटीमा सुरु भट्टराई पक्षको भएको जसपा केन्द्रीय सदस्यहरू राज किशोर यादव, राम नरेश राय यादव, अमृता अग्रहरीलगायतका नेताहरू तटस्थ छन्। उनीहरू कुनै समूहको बैठकमा सहभागी छैनन्। 

भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक भनेर संसद्, सङ्घीय परिषद् सदस्य तथा भातृ सङ्गठनका इन्चार्जहरूलाई पनि बैठकमा बोलाउँदा यादवले केन्द्रीय समितिको बैठक भने पनि सङ्घीय परिषद्का सदस्य तथा सांसदहरूलाई पनि बैठकमा बोलाएका छन्। दुवै पक्षसँग कति केन्द्रीय सदस्य उपस्थित भए भन्ने तथ्याकं कुनै समूहसँग छैन।

‘बैठक जारी छ। कति सहभागी छन् भनेर सङ्ख्या आइसकेको छैन,’ यादव निकट जसपा नेतृ रेणु यादवले उकेरासँग भनिन्। भोलि पनि बैठक जारी रहेको र आज रातिसम्म वा भोलिसम्म बैठकको विवरण आउने उनले जानकारी दिइन्।

अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। अहिले त्यसमा टिप्पणी आउने क्रम जारी रहेकाले पार्टीको कार्यदिशाबारे स्पष्ट भैनसकेको उनले बताइन्। यता जडीबुटीको हालत पनि उस्तै देखियो।

‘बैठक जारी छ। रातीसम्ममा निष्कर्ष आउँछ,’ जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले उकेरासँग भने, ‘पार्टीको निष्कर्ष र सहभागीबारेको विवरण तयार हुँदैछ।’

बाबुराम र यादव दुवै अलग-अलग हुने तयारीमा छन्। बाबुरामले मङ्गलवार पेस गरेको प्रतिवेदनमा प्रस्टै कि पार्टीको सङ्गठन र कार्यशैली बदल्नुपर्ने नत्र कि बहुमत पुर्याएर जसपा आफ्नो नेतृत्वमा ल्याउने वा नयाँ दल दर्ता गर्ने कार्य योजना सार्वजनिक गरेका थिए। उता यादव सकेसम्म बाबुराम समूह अलग पार्टी गठन गरेर जाउन् भन्ने चाहन्छन्। त्यसका लागि बहुमत पूर्याएर जसपाको आधिकारिकता आफैँ लिने प्रयासमा छन् उनी।

केही नेताहरू भने निर्वाचन नसकिएसम्म पार्टी एक रहिरहोस् भन्ने प्रयासमा छन्। तर उनीहरूको प्रयास त्यति प्रभावकारी हुन सकेको देखिएको छैन।

‘निर्वाचनको मुखमै भएर पनि होला पार्टी फुटोस् भन्ने नेता कार्यकर्ताको भावना छैन। त्यसैले होला उहाँहरू कतै नखुल्नु भएको,’ जसपाका एक पदाधिकारीले उकेरासँग भने।

२९ असार, २०७९, १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।