खोला किनारपिच्छे निजी कम्पनीको फोहोर थुपार्ने केन्द्र, चिट काटेर मौन बस्छ महानगर

खोला किनारपिच्छे निजी कम्पनीको फोहोर थुपार्ने केन्द्र, चिट काटेर मौन बस्छ महानगर

काठमाडौँ :  धोबीखोला किनारमा थुपारिएको फोहोर एक्स्काभेटर लगाएर खोलामा फ्याकीरहेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि काठमाडौँ महानगरपालिकाले शुक्रवार प्राक्टिकल वेस्ट सोलुसन प्रालिलाई २५ हजार जरिवाना गरायो।

रातोपुलस्थित धोबीखोलाको किनारमा थुपारेको फोहोर उसले खोलामा खसालेको थियो। धन्न कसैले सो भिडियो खिच्न भ्यायो र श: शुल्क काठमाडौँको फोहोर व्यवस्थापन गर्ने ठेक्का लिएको कम्पनीको पोल खुल्यो। तर सार्वजनिक नभएका यस्ता घटना थुप्रै हुने गरेको काठमाडौँको खोलाको अवस्थाले देखाउँछ नै।

वडा स्तरमा महानगरवासीसँग पैसा लिएर फोहोर सङ्कलन गर्ने अधिकांश निजी कम्पनीहरूले फोहोर थुपार्न नदी किनारै प्रयोग गर्ने गरेका छन्। धोविखोला होस् या बागमती अधिकांश यस्ता संस्थाले त्यहीको नदी किनारमा अव्यवस्थित रूपमा फोहोर थुपार्दा सो क्षेत्र गन्हाएर हिँड्न समेत सकस पर्छ। तर फोहोर सङ्कलनको अनुमति दिने महानगरले पैसा उठाएपछि निश्चित स्थानमा फोहोर व्यवस्थापन गराउन भने सकेको छैन।

निलो पुल होस् या कालो पुल या सेतो अनि हरियो पुल जताततै छन् यस्ता कम्पनीका अस्थायी डम्पिङ साइड। झिसमिसेमा उनीहरूले खोलामा फोहोर फालेकाले बटुवाले पोल खोल्न भ्याए। तर मध्यरातमा उनीहरूले गर्ने बदमासीको पोल यसरी नै खुल्छ  सक्छ र?

बाग्मतीको मुहान बागद्धारदेखि सुन्दरीजलसम्म सङ्लो देखिने नदिको पानी काठमाडौँ प्रवेश गरेपछि हेर्दा किनारमा फोहोरको थुप्रो देखिन्छ। उचित ढल व्यवस्थापनको अभाव, अनि जसले फोहोर व्यवस्थापनको जिम्मा लियो उसैले मौका पाएसम्म खोलामै फ्याँक्ने, नमिले किनारामा थुप्राउने गरेका छन्।

काठमाडौँमा दैनिक ६ सय टनभन्दा बढी फोहोर निस्कने गरेको तथ्याङ्क छ। सहरवासीका घरबाट निस्कने फोहोर ल्याण्डफिल साइट पुग्नुअघि छेउछाउमा भएका नदी किनारमा पुग्ने गरेको छ। काठमाडौँ महानगरपालिकाबाट निस्कने फोहोर पनि सिसडोल र बन्चरेडाँडा पुग्नुअघि बाग्मती र विष्णुमती नदिका किनारमा गएर अलग गरिन्छ। त्यसपछि मात्र ल्याण्डफिल साइटमा पुर्याइन्छ।

सन् २००३ मा गैर सरकारी संस्था एन्भारोमेन्ट एन्ड पब्लिक हेल्थ अर्गनाइजेसनको अध्ययनले सहरभित्रको बाग्मती नदिको पानीमा केमिकल अक्सिजन (सिओडी)को मात्रा प्रतिलिटर ४ सय मिलिग्राम र बायो केमिकल अक्सिजन डिमान्ड (बिओडी)को मात्रा प्रतिलिटर १ सय मिलिग्राम उच्च रहेको पत्ता लगाएको थियो।

जुन नदिमा रहेको दूषित पानीको मात्रा १० गुणा बढी भएको निष्कर्ष सो रिपोर्टले निकालेको थियो। सो मात्रा पछिल्ला वर्षहरूमा पनि उस्तै रहेको ‘एसेसमेन्ट अफ टेक्नोलोजी फर वाटर क्वालिटी कन्ट्रोल अफ दि बाग्मती रिभर इन काठमाडौँ भ्याली’ शीर्षकमा साइन्स डिरेक्ट जर्नलमा गत अप्रिलमा प्रकाशित अध्ययनले देखाएको छ। सिओडी र बिओडी पानीमा रहेको प्रदूषणको मात्रा पत्ता लगाउने सूचक हो।

सन् २००३ मै एसियन डेभलपमेन्ट बैङ्क (एडिबी) र इसिमोडले गरेको अर्को अध्ययनले दैनिक २१ हजार केजी ढल सिधै बाग्मतीमा मिसिने बताएको थियो। फोहोर मैलाको कारण बिओडी र सिओडीको मात्रा सो समयमै ४२ प्रतिशतले बढी भएको ती अध्ययन रिपोर्टले उल्लेख गरेका थिए।

बाग्मती नदी प्रदूषण बनाउनमा बढ्दो सहरी जनसङ्ख्या, अव्यवस्थित ढल र फोहोरमैला, नीति नियम नै मुख्य जिम्मेवार रहेकोसमेत ती अध्ययनहरूले उल्लेख गरेका छन्।

बाग्मतीबाट २० हजार मेट्रिक टन फोहोर सङ्कलन

अघिल्ला वर्षहरूमा सबैभन्दा बढी हनुमन्ते खोला, धोबी खोला, टुकुचे खोला र विष्णुमती खोलामा ढलसहितको पानी मात्र नभई प्लास्टिकजन्य प्रदूषणको मात्रा बढी देखिन्थ्यो। पछिल्लो समय बाग्मती सफाइ अभियानले बाग्मतीमा जम्मा हुने फोहोर सफा गर्न थालेको थियो।

२०७० जेठ पाँचबाट सुरु भएको बाग्मती सफाइ अभियानको ४ सय ७५ औँ हप्ता पुरा गरिसकेको छ। सुरुवातदेखि नै नियमित रूपमा अघि बढेको बाग्मती सफाइ अभियानले हरेक हप्ता शनिवार बाग्मती नदिको विभिन्न क्षेत्रबाट फोहोर उठाउने र व्यवस्थापन गर्दै आएको छ।

धोबिखोलामा फोहोर फाल्नै निजी कम्पनी

बाग्मती सफाइ अभियानकी अभियन्ता डा. लक्ष्मी पौडेलका अनुसार अभियान सुरु भएदेखि हालसम्म बाग्मती नदिबाट २० हजार मेट्रिक टनभन्दा बढी फोहोर उठिसकेको छ। दशै-तिहारबाहेक काठमाडौँको फोहोर नउठ्दा र मानिसको चाप बढी भएको बेला काठमाडौँ सहरका नदिमा बढी फोहोर थुप्रिन्छ।

'हामीले अभियान सुरु गर्दा बाग्मती नदिमा प्रदूषणले नदिको बहाव घटाएको थियो। दुर्गन्धले नदी छेउछाउ हिँड्न सकिने अवस्था थिएन’ उनी भन्छिन्, ‘नदी किनारमा फोहोरको डम्पिङ साइट थियो। नगरपालिकाका घरघरबाट निस्कने फोहोर सिधै नदी किनारमा जान्थ्यो। पछिल्लो समय अभियानले नदिमा हुने गरेको फोहोर तुलनात्मक रूपमा निकै कम गरेको छ।'

खोला किनारैपिच्छे निजी ट्रान्सफर स्टेसन

नदी प्रदूषणको मुख्य कारण फोहोरमैला र ढल नै भएको वातावरणविद् भूषण तुलाधर बताउँछन्।

‘उपत्यकाका सहर हुँदै बग्ने बाग्मती नदी र यसका सहायक नदीमा प्रदूषणको मुख्य कारण भनेकै फोहोरमैला र ढल हो’ उनी भन्छन्, ‘ढल र फोहोर मैलाको उचित व्यवस्थापन हुन नसक्दा नदी र वातावरण प्रदूषण बढेको हो।’

फोहोरमैला पनि नदी छेउछाउ पुगेपछि त्यसले नदी प्रदूषण बढाउने र त्यसले नदीमा अक्सिजनको मात्रा नष्ट गर्ने विभिन्न अध्ययन रिपोर्टले पुष्टि गरिसकेका छन्। फोहोर सफा गर्न बाग्मती सरसफाइ अभियानमार्फत नदिहरु सफा गरिनु नदी प्रदूषण गर्ने एउटा विकल्प भए पनि दिगो समाधान अपनाउनुपर्ने वातावरणविद् तुलाधर बताउँछन्।

‘नदिहरु सफाइको अभियान राम्रो काम हो। तर आज सफा गरे पनि भोलिपल्ट फेरी त्यहाँ फोहोर फालिएकै हुन्छ। कति र कहिलेसम्म मात्र फोहोर सफा गर्ने त ?’ उनी भन्छन्, ‘यसको दिगो समाधान वा व्यवस्थापनको लागि सरकारले नदी छेउछाउमा फोहोर नै फाल्न नदिने व्यवस्था गर्नुपर्छ। बनेको कानुन लागु गर्नै पर्छ। दोस्रो खुला एवम् सार्वजनिक ठाउँमा नभई नदिको किनारमा फोहोर लगेर छुट्टाउने गरिन्छ। यसको लागि पनि सरकार वा महानगरपालिकाले प्रभावकारी कदम चाल्नुपर्छ।’

वातावरणविद् तुलाधरले भनेझैँ फोहोर छुट्टाउनको लागि काठमाडौँ महानगरपालिकाभित्र एउटा मात्र  ट्रान्सफर स्टेसन छ टेकुमा। टेकुमा रहेको ट्रान्सफर स्टेसन महानगरपालिकाले आफूले उठाएको कुहिने र नकुहिने फोहोर मात्र छुट्ट्याउनै आएको छ।

बाँकी अधिकांश निजी क्षेत्रले जिम्मा लिएका विभिन्न कम्पनी वा निकायहरूले नदी किनार र नदी छेउको पुल मुनी गएर सक्ने जति फोहोर छुट्टाउने गर्छन्। नसकेको फोहोर सिसडोल र बन्चरे डाँडाको ल्याण्डफिल साइट लगिन्छ।

त्यसैले फोहोरमैला व्यवस्थापन र नदी एवम् वातावरण प्रदूषण कम गर्न महानगर एवम् सम्बन्धित निकायले ल्याण्डफिल साइट जत्तिकै व्यवस्थित ट्रान्सफर स्टेसनमा पनि ध्यान पुर्याउनुपर्ने तुलाधरको भनाई छ।

‘टेकुको ट्रान्सफर नदी किनारमै अनि अव्यवस्थित नै भए पनि अन्यभन्दा फोहोर छुट्टाउन सहज छ। फोहोर सिधै नदिमा पुग्दैन’ उनी भन्छन्, ‘अहिले जसरी ल्याण्डफिल साइट प्राथमिकतामा छ त्यस्तै गरी ट्रान्सफर स्टेसन पनि सम्बन्धित निकायको प्राथमिकतामा पर्नुपर्छ। अहिले यता नछुटाइएको कतिपय फोहोर ल्याण्डफिल साइटसम्म पुग्छ र रिसाइकल गर्न मिल्ने फोहोर फेरी काठमाडौँ नै फर्काइन्छ। त्यो भनेको समय र स्रोतको नाश हो।'

टेकुबाहेक अन्यत्र पनि दुईचार वटा ट्रान्सफर स्टेसन बनाउनुपर्ने उनले बताए । यसरी सानोबाट ठुलो गाडीमा सहजै फोहोर लान सकिने गरी, सबै फोहोर ल्याण्डफिल साइटमा पुर्याएर फर्काउनु नपर्ने गरी, सानोतिनो कम्पोस्ट प्लान्ट बनाउन मिल्ने गरी ट्रान्सफर स्टेसन बनाउनु पर्ने उनको सुझाव छ।

ढलको उस्तै समस्या

हाल काठमाडौँमा ४० लाख जनसङ्ख्या छ। सो जनसङ्ख्याले औसत दैनिक ४ सय घन मिटर दिसा उत्पादन गर्छन्। पछिल्लो समय एरोशान हबले गरेको गरेको अध्ययनका अनुसार ४० लाख जनसङ्ख्याले दैनिक १० लाख लिटर पिसाब गर्छन्। पछिल्लो समय केही मलमूत्र गुह्येश्वरी ट्रिटमेन्ट प्लान्टमा पुग्ने भए पनि कुनै न कुनै माध्यमबाट बढिजसो मलमूत्र अझै पनि खोलामै मिसिने गरेको छ।

काठमाडौँ उपत्यकामा ढल प्रशोधन गर्न विभिन्न प्रशोधन प्रणालीहरू बनिरहेका छन्। गुह्येश्वरी पानी प्रशोधन केन्द्र सञ्चालनमा छ भने पहिले पनि प्रशोधन केन्द्र भएका सुन्दरीघाट, भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारीमा प्रशोधन केन्द्र बनिरहेका छन्।

तर ती सबै प्रयोगमा आएका छैनन्। कतिपय त प्रयोग नगरेर बिग्रिसकेका छन्।

‘हामीसँग यस्ता प्लान्ट पहिला पनि थिए। ती राम्रोसँग सञ्चालनमा आएनन्। न त मर्मत सम्भार नै गरियो। पछिल्लो समय यी ट्रिटमेन्ट प्लान्ट अपग्रेड गर्ने काम हुने क्रममा छ। ढलको समस्या समाधानका लागि सञ्चालन र मर्मत सम्भार कसरी गरिन्छ त्यसमा भर पर्छ’ तुलाधर भन्छन्, ‘आवश्यकताअनुसार यिनलाई नियमित रूपमा मर्मत सम्भार गर्दै सञ्चालन गर्नुपर्यो, ढल प्रणालीको पनि प्लान्टसम्म पुर्याउन सक्नुपर्यो, अहिले भइरहेको काम दिगो हुनुपर्यो अनि मात्र बाग्मती कति सफा हुन्न भन्नेमा भर पर्छ।'

२८ असार, २०७९, १९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।