गण्डकी प्रदेश सरकारले आफन्तको नाममा बाँडेको बजेट फिर्ता हुने

गण्डकी प्रदेश सरकारले आफन्तको नाममा बाँडेको बजेट फिर्ता हुने

पोखराः गण्डकी प्रदेश सरकारले आफन्तका नाममा बाँडेको बजेट फिर्ता लिने भएको छ। प्रदेश सरकारले मन्त्री तथा सत्तारुढ दलका नेताको आफन्तका नाममा स्थापना गरिएको ट्रष्ट र प्रतिष्ठानका लागि विनियोजन गरेको करोडौं बजेट फिर्ता लिन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्देशन दिएका हुन्।

आर्थिक वर्ष २०७९/०८० को बजेटमा प्रदेश सरकारले मनपरी विनियोजन गरेपछि नागरिकस्तरबाट व्यापक विरोध भएको थियो। हाल उक्त बजेट फिर्ता गर्न निर्देशन दिइएको मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए।

गण्डकी सरकारले ल्याएको बजेटमा आफन्तका नाममा ट्रष्ट, प्रतिष्ठानका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको थियो। यो रकम लिनेमा मुख्यमन्त्री पोखरेलसहित, सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, कांग्रेस नेता अर्जुनप्रसाद जोशी, सांसद पियारी थापा, सीताकुमारी काफ्ले लगायत छन्।

पारिवारका नाममा ट्रष्टदेखि, स्मृति पार्क बनाउन बजेट लिन खोजेको आरोप लागेपछि गण्डकीका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ र कांग्रेसका नेता अर्जुनप्रसाद जोशीले सुरुमै रकम फिर्ता गर्ने बताएका थिए।

यता गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सेवा सुविधा दिने र सवारी साधनमा गरेको चर्को कर वृद्धिको घटना सेलाउन नपाउँदै फेरि मुख्यमन्त्रीदेखि मन्त्री,सांसद र केन्द्रीय नेताका पारिवारका सदस्यका नाममा ट्रष्ट बनाउन बजेट विनियोजन गरेपछि तीन दिनदेखि प्रदेशबासीले चर्को आलोचना गरेका थिए।

मुख्यमन्त्री पोखरेलले बुवा गोवर्द्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका–१० मा खोलिएको कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरेका थिए। उनले सामाजिक विकास कार्यालय तनहुँले खर्च गर्नेगरी उक्त रकम विनियोजन गराएका थिए।

मुख्यमन्त्री पोखरेलकै बुवाको नाममा दमौली अस्पतालमा रहेको ‘गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ स्थापनाको सम्भाव्यता अध्ययन गर्न पनि १० लाख रुपैयाँ छुट्याइएको थियो। यस केन्द्रको लागि गत वर्ष समेत बजेट विनियोजन गरेर भवन निर्माणका लागि शिलान्यास समेत गरिएको थियो।

मुख्यमन्त्री पोखरेलको सिको गर्दै गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बाबुआमाको नाममा खोलेको ट्रष्टमा प्रदेश सरकारको एक करोड विनियोजन गराएका थिए। यसअघि अर्थमन्त्री रामजीप्रसाद बरालले वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको कार्यक्रम काटिदिएपछि मन्त्री श्रेष्ठले उनलाई अर्थमन्त्रीबाट हटाइदिने धम्की दिएका थिए।

पछि थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा ट्रष्ट बनाउन दुई फरक शीर्षकमा एक करोड रुपैयाँ विनियोजन गरिएको थियो।

पुननारायण धनकुमारी श्रेष्ठ ट्रष्टको नाममा छुट्याइएको ५० लाख रुपैयाँ बजेटको कार्यान्वयन स्वयम् मन्त्री मेखलाल श्रेष्ठको मन्त्रालयले गर्ने योजना थियो। त्यस्तै भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयबाट कार्यान्वयन हुनेगरी सोही ट्रष्टको भवन निर्माणका लागि पनि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

ट्रष्टको भवन निर्माण गर्न भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत ५० लाख विनियोजन गरिएको छ।

मन्त्री श्रेष्ठले आफ्नै बाबुआमाको नामको ट्रष्टको भवन भीरकोट नगरपालिका- १ मा बनाउने योजनामा बजेट विनियोजन गराएका थिए। 
त्यस्तै कांग्रेस नेता अर्जुनप्रसाद जोशीले पनि स्वर्गीय बाबु अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन २० लाख रुपैयाँ बजेट विनियोजन गराएका थिए। उनले पर्वतको कुश्मा नगरपालिका- ८ मा स्मृति पार्क बनाउनका लागि २० लाख रुपैयाँ विनियोजन गराएका थिए।

त्यस्तै पर्वतकै अर्का कांग्रेस नेता स्वर्गीय डिल्लिराम लामिछानेको नाममा पनि प्रतिष्ठान बनाउनका लागि २० लाख बजेट विनियोजन गरिएको थियो। 

सांसद पियारी थापाले बागलुङको विभिन्न ठाउँमा व्यक्तिका नामका ट्रष्ट र प्रतिष्ठन निर्माण गर्न एक करोड २० लाखको बजेट विनियोजन गराएकी थिइन्। उनले काठेखोला गाउँपालिका–४ तंग्राममा गाउँमैत्री अक्षकोषका लागि ६० लाख रुपैयाँ विनियोजन गराएको खुलेको छ।संसाद थापाले जनवादी कलाकार हेमराज पुन (आश्रम) मा २०६६ सालबाट निर्माण थालिएको त्यस आस्रम निर्माणमा बजेट विनियोजन गराएकी थिइन्।

सांसद थापाले आगामी आर्थिक वर्षको बजेटमा यस आश्रमसहित अन्य ठाउँका ट्रष्टका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरेका खुलेको थियो।

त्यसैगरी गण्डकीमा पार्टी कार्यालयसहित विभिन्न व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन समेत बजेट विनियोजन गरेको देखिएको छ। नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका नाममा गण्डकी प्रदेशका १२ ठाउँमा पार्क र भवन बनाउन बजेट विनियोजन गरिएको छ। यसका लागि एक करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

कास्कीको सिकलेसमा शान्ति स्मारक पार्क बनाउन एक करोड, पोखरा- २८ मा थमन स्मृति पार्क बनाउन १० लाख, माछापुच्छ्रेमा हरिबहादुर स्मृति पार्क बनाउन १० लाख, तनहुँको बन्दीपुरमा शहीद स्मृति पार्क बनाउन ५ लाख, भानुमा १० लाख, पर्वतको फलेबासमा ५ लाख रुपैयाँ विनियोजन गरिएको छ। 

गण्डकी प्रदेशमा विभिन्न व्यक्तिका नाममा खुलेका ट्रष्ट र पार्कका बनाउनका लागि सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख गरिएको छ। प्रदेश सरकारले विनियोजन गरेको बजेटमा सात हजारदेखि करोडका योजना समेटिएका छन्।

स्थानीय सरकारले गर्ने सानातिना योजनादेखि नेतालाई पोस्नका लागि बजेटको व्यापक दुरुपयोग गर्ने खालका योजना सरकारको प्राथमिकतामा परेसँगै नागरिकस्तरबाट चर्को आलोचना भएकाले मुख्यमन्त्रीको निर्देशनमा ती योजना हटाउन निर्देशन भएको हो।

२७ असार, २०७९, १०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।