पोखरा महानगरपालिकाको ८ अर्ब ७७ करोडको बजेट पारित

 पोखरा महानगरपालिकाको ८ अर्ब ७७ करोडको बजेट पारित

पोखरा : पोखरा महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षको लागि ८ अर्ब ७७ करोड ७५ लाखको बजेट पारित गरेको छ। 

आइतबार बसेको नगरसभाले आगामी आर्थिक वर्षको ८ अर्ब ७७ करोड, ७५ लाख ५५ हजार बजेट पारित गरेको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए। 

महानगरले पर्यटन, कृषि, पूर्वाधार, सहरी विकास, शिक्षा, रोजगार प्रवर्द्धन लगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याएको थियो। पोखरा महानगरले चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरेको थियो। महानगरले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्ष २०७९–०८० का लागि २ अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढीको बजेट ल्याएको छ। 

बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ। 

विभिन्न शीर्षकको छुट्टाइएको बजेटमा २ अर्ब ४० करोड ८१ लाख ८३ हजार कम हुने देखिन्छ । यो कम भएको बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट बेहोर्ने उल्लेख छ। 

यसअघि डाकिएको ११ औँ नगर सभामा मेयर आचार्यले बजेट प्रस्तुत नहुँदै रातो किताब छपाएको र छलफल नगरी योजना बनाइएको आरोप लगाउँदै एमालेले नगर सभा नै अवरुद्ध गरेको थियो। 

महानगर प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले रातो किताब छाप्नु गल्ती भएको भन्दै माफी मागेपछि बजेट प्रस्तुत भएको थियो। 

पछि बसेका नगरसभाका बैठकहरूमा बजेटमा परिमार्जन गरेपछि सर्वसम्मत पारित भएको मेयर आचार्यले बताए। यसैगरी नगरसभाले न्यायिक समिति, लेखा समिति र विधायन समिति गठन गरेको छ। न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेको समिति गठन गरेको हो।

लेखा समितिको संयोजकमा झपटबहादुर रानाभाट चयन भएका छन् । समिति सदस्यहरूमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापा चयन भएका छन्। लेखा समितिमा आन्तरिक लेखा परीक्षण अधिकृत सदस्यसचिव रहने व्यवस्था रहेको छ।

विधायन समिति संयोजकमा पुष्पेन्द्र पाण्डे चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा राममोहन आचार्य, प्रेम प्रसाद कर्माचार्य, निर्मल दियाली र गंगाबहादुर खत्री चयन भएका छन्।

नगरसभाले पोखरा महानगरपालिका आकस्मिक स्थापना तथा सञ्चालन ऐन २०७९, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सर्वसम्मत पारित गरेको छ। 

२६ असार, २०७९, १९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।