बाजुराको बुढीगंगामा मेयर-उपमेयरमा एमालेका उम्मेदवार विजयी

बाजुराको बुढीगंगामा मेयर-उपमेयरमा एमालेका उम्मेदवार विजयी
तस्बिर: सामाजिक सञ्जाल

काठमाडौंः बाजुराको बुढीगंगा नगरपालिकामा एमालेका उम्मेदवारले मेयर र उपमेयर पदमा जित हासिल गरेका छन्। आज बिहान सकिएको मतगणनाअनुसार नगरपालिकाको १० मध्ये सात वडामा पनि एमालेकै उम्मेदवार अध्यक्ष पदमा विजयी भएका छन्।

मेयरमा एमालेका रामबहादुर बानियाँ चार हजार ७७७ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले तीन हजार ७७४ मत प्राप्त गरे।

यता उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भइन्। कुँवरले चार हजार ७२७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसकी रीता शाहीले (शाह) तीन हजार ७५५ मत ल्याइन्।

यस्तै वडातर्फ पनि सात वटा वडामा एमालेका उम्मेदवार विजयी भए। वडा १, २, ३, ५, ६, ९ र १० मा क्रमशः रणबहादुर थापा, पदमबहादुर भण्डारी, खडकबहादुर अधिकारी, चक्रबहादुर थापा, हेमराज जैसी, मीनबहादुर सिंह र दलबहादुर साउद विजयी भए।

यस्तै वडा नम्बर ४, ७ र ८ मा क्रमशः कांग्रेसका मीनबहादुर शाह, भुवनसिहं केसी र रमेशबहादुर रावल विजयी भए।

यसअघि गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले बुढीगंगामा दोस्रो पटक निर्वाचन गरेको हो। दोस्रो पटकको निर्वाचनमा कुल १३ हजार ६५९ मध्ये नौ हजार १२८ मत अर्थात् ६६.८३ प्रतिशत मत खसेको थियो।

२६ असार, २०७९, १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।