आफन्तको नाममा ट्रष्ट र स्मृति पार्क बनाउने कामको चर्को विरोध: मन्त्री श्रेष्ठ र नेता जोशीले रकम फिर्ता गर्ने

आफन्तको नाममा ट्रष्ट र स्मृति पार्क बनाउने कामको चर्को विरोध: मन्त्री श्रेष्ठ र नेता जोशीले रकम फिर्ता गर्ने

पोखराः गण्डकी प्रदेश सरकारले आफू निकट नेताका परिवारका सदस्यको नाममा ट्रष्टदेखि, स्मृति पार्क बनाउन बजेट विनियोजन गरेपछि हाल जनस्तरबाट चर्को आलोचना भइरहेको छ। विरोधपछि गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ र कांग्रेसका नेता अर्जुनप्रसाद जोशीले रकम फिर्ता गर्ने भएका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकासमन्त्री श्रेष्ठसहित, कांग्रेस नेता जोशीले परिवारका सदस्यका नाममा ट्रष्टदेखि स्मृतिपार्क बनाउन बजेट विनियोजन गराएको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएसँगै जनस्तरबाट चर्को आलोचना भएको थियो। अब मन्त्री श्रेष्ठ र नेता जोशीले भने रकम नलिने बताएका छन्।

गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई दिएको सेवा सुविधा र सवारी साधनमा गरेको चर्को कर वृद्धिको आलोचना सेलाउन नपाउँदै फेरि अर्को चलखेल सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेको छ।

सामाजिक विकासमन्त्री श्रेष्ठले आफ्ना बाबुआमाको नाममा खोलेको ट्रष्टमा प्रदेश सरकारबाट एक करोड बजेट विनियोजन गराएका थिए। तर उनले बजेट विनियोजन गराएको समाचार सार्वजनिक भएसँगै शुक्रबार बिहान प्रदेश सरकारले विनियोजन गरेको रकम नलिने घोषणा गरे। मन्त्री श्रेष्ठले आफ्नो राजनीति सधैँ जनताको सेवाको लागि, कर्म समाज विकासको लागि रहेको भन्दै गल्ती भएको भए माफि दिन र सच्चिने मौका दिन समेत आग्रह गरे।

उनले ज्येष्ठ नागरिक सम्मान, महिला सशक्तिकरण गर्दै असहायहरूको हितमा काम गर्ने, विद्यार्थी सहयोग, असहाय, गरिबी र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ ट्रष्ट स्थापना गरेकाले सोही बमोजिम काम गर्न रकम छुट्याएको भन्दै आफ्नो बचाउ समेत गरे।

उनले सामाजिक सञ्जाल मार्फत लेखेका छन, ‘बजेट छुट्याएपछि सुरु भएको विरोधका कारण मैले विनियोजित रकम हटाउनेछु। ट्रष्टमार्फत लक्षित समूहलाई सेवा गर्ने उद्देश्य थियो। तर, मैले प्रयोग गर्न रकम छुट्याएको जस्तो देखियो।’

ट्रष्टसँग जोडेर भएका विभिन्न टीकाटिप्पणीले आफू दुःखी भएको भन्दै उनले भने, ‘यो शीर्षकको बजेट आगामी वर्षको बजेटबाट हटाई स्रोत व्यवस्थापन गर्न म अर्थमन्त्रीज्यूलाई अनुरोध गर्दछु।’

उनले अब यो शीर्षकको बजेट फिर्ता लिने र फिर्ता भएको बजेट असहाय ज्येष्ठ नागरिक र महिलाहरूको हकहितमा सदुपयोग होस् भन्ने चाहना रहेको भन्दै आफूलाई चोख्याए।

यसअघि वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको कार्यक्रम अर्थ मन्त्रालयले काटेपछि सत्तारुढ सांसद र मन्त्रीहरूले नै विरोध गरेका थिए। पछि थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्व. बाबु पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा ५०/५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

यो पनि,

त्यसैगरी कांग्रेसका पूर्व केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पनि शनिबार नै सामाजिक सञ्जालमा स्टेटस लेख्दै आफ्ना स्वर्गीय पिता अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन विनियोजन गरेको बजेट नलिने बताएका छन्। नेता जोशीले पर्वतको कुश्मा नगरपलिका –४ मा विगत केही वर्षअगाडि स्थानीयको सक्रियतामा अमृत स्मृति पार्कको निर्माण गरिएको उल्लेख गर्दै पार्कमा भीड बढ्दै गएर व्यवस्थापन गर्न गाह्रो भएकोले थप व्यवस्थित गर्न बजेट माग गरिएपछि प्रदेश सरकारले २० लाख विनियोजन गरेको बताए।

नेता जोशीले भनेका छन, ‘स्थानीय तथा राष्ट्रियरूपमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तिहरूको नाममा पार्क, द्वार, विद्यालय, सडक लगायतका भौतिक संरचना बनाउने गरिएको थियो। यति मात्र नभएर नगरको नै नमाकरण समेत गरिएका छन्। करोडौं रकम संघ, प्रदेश र स्थानीय सरकारले वर्षौंदेखि विनियोजन गर्दै आएका छन्।’

नेता जोशीले आफ्ना पिताको नाममा स्मृति पार्कको भौतिक संरचना निर्माण तथा सौन्दर्यीकरण गर्न प्रदेश सरकारले विनियोजन गरेको २० लाख रुपैयाँका बारेमा आएको समाचार र प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

उनले भनेका छन, ‘अमृतप्रसाद जोशीको बारेमा जिल्लाबासी, प्रदेश र समकालीन व्यक्तिहरूलाई नै बढी जानकारी होला। यसमा मलाई केही भन्नु छैन। विनियोजित रकमबारे मलाई जानकारी भएपछि मुख्यमन्त्रीलाई सम्पर्क गरेर रकम जता आवश्यक छ, उतै प्रगोग गर्न अनुरोध गरेको छु।’

यता मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका स्वर्गीय पिता गोवर्द्धन शर्माको नाममा पनि स्मृति कोष स्थापना गर्न बजेट विनियोजन गरिएको थियो। पर्वतका कांग्रेस नेता स्वर्गीय डिल्लिराम लामिछानेको नाममा पनि प्रतिष्ठान बनाउन प्रदेश सरकारले बजेट व्यवस्था गरेको थियो।

२६ असार, २०७९, ११:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।