बजेटजति मुख्यमन्त्री, मन्त्री र नेताका परिवारका नाममा, जनतालाई के ? 

बजेटजति मुख्यमन्त्री, मन्त्री र नेताका परिवारका नाममा, जनतालाई के ? 

पोखरा : गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सेवा-सुविधा दिने र सवारी साधनमा गरेको चर्को कर वृद्धिको आलोचना सेलाउन नपाउँदै फेरि मुख्यमन्त्री, मन्त्री तथा केन्द्रीय नेताका पारिवारिक सदस्यका नाममा ट्रस्टदेखि स्मृतिपार्क बनाउन बजेट बिनियोजन गरेको खुलेको छ। 

आमनगरिकको भान्सादेखि भौतिक निर्माणसम्मका क्षेत्रमा नकारात्मक प्रभाव पारिहेका बेला प्रदेश सरकारले मुख्यमन्त्री, बहालवाला मन्त्री र केन्द्रीय नेताहरुका पारिवारिक सदस्यको नाममा ट्रस्ट तथा स्मृतिपार्क बनाउनका लागि बजेट छुट्याएको हो।  

आफ्ना स्वर्गीय माता–पिताको नाममा ट्रस्टदेखि स्मृतिपार्क बनाउन आगामी आर्थिक वर्ष २०७९/०८० मा करोडौँ रकम छुट्याउनेमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि मन्त्री मेखलाल श्रेष्ठ र केन्द्रीय नेता अर्जुनप्रसाद जोशी समेत छन्।

मुख्यमन्त्री पोखरेलले आफ्ना स्वर्गीय पिता गोवर्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्। उनले आफ्नो जन्मस्थान तनहुँको ब्याँस नगरपालिका- १० मा गोवर्धन स्मृति कोषका लागि सामाजिक विकास कार्यालय तनहुँमार्फत खर्च गर्ने गरी ५० लाख रुपैयाँ बजेट विनियोजन गर्न लगाएका छन्। 

मुख्यमन्त्री पोखरेलले गत आर्थिक वर्षमा आफ्ना बाबुको स्मृतिमा तनहुँ जिल्ला अस्पतालभित्र भवन निर्माण गरेर आँखा उपचार केन्द्र खोल्न लगाएका थिए। 

मुख्यमन्त्री पोखरेलको सिको गर्दै गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठका बाबु–आमाको नाममा खोलेको ट्रष्टमा प्रदेश सरकारले एक करोड विनियोजन गरेको छ। यसअघि अर्थमन्त्री रामजीप्रसाद बरालले वार्षिक विकास पुस्तिकामा समेट्न पठाएको कार्यक्रम काटिदिएपछि मन्त्री श्रेष्ठले उनलाई अर्थमन्त्रीबाट हटाइदिने धम्की दिएका थिए।

पछि थपिएको २८ करोड बजेटमध्ये एक करोड रुपैयाँ श्रेष्ठका स्वर्गीय बाबु पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा ट्रस्ट बनाउन दुई फरक शीर्षकमा एक करोड रुपैयाँ विनियोजन गरिएको छ। 

पुननारायण–धनकुमारी श्रेष्ठ ट्रस्टको नाममा छुट्याइएको ५० लाख रुपैयाँ बजेटको कार्यान्वयन स्वयं मन्त्री मेखलाल श्रेष्ठको मन्त्रालयले गर्नेछ।

आफ्ना स्वर्गीय माता–पिताको नाममा ट्रस्टदेखि स्मृतिपार्क बनाउन आगामी आर्थिक वर्ष २०७९/०८० मा करोडौँ रकम छुट्याउनेमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि मन्त्री मेखलाल श्रेष्ठ र केन्द्रीय नेता अर्जुनप्रसाद जोशी समेत छन्।

त्यस्तै भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयबाट कार्यान्वयन हुनेगरी सोही ट्रस्टको भवन निर्माणक लागि पनि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। ट्रष्टको भवन निर्माण गर्न भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत ५० लाख विनियोजन गरिएको छ।

मन्त्री श्रेष्ठले आफ्नै बाबु–आमाको नामको ट्रष्टको भवन भीरकोट नगरपालिका– १ मा बनाउने छन्।

सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले दुई वटा छुट्टाछुट्टै शीर्षकमा एक करोड रुपैयाँ बजेट ज्येष्ठ नागरिक सम्मान, महिला जागृति सशक्तीकरण र उद्यमशील बनाउने कार्यक्रमका लागि बिजियोजन गरेको दावी गरे। 

यसअघि १ असारमा बजेट वक्तव्यपछि अर्थमन्त्री बरालले निर्वाचन पूर्वाधार विकास कोषमार्फत सांसदहरुले खर्च गर्न मिल्नेगरी बजेट ल्याउन दिएको निर्देशन विपरीत यस कार्यक्रम हटाइदिएपछि सत्तारुढ गठबन्धनबीच विवाद चुलिएको थियो।

बजेटका विषयमा सत्ता गठबन्धनमै विवाद भएपछि मुख्यमन्त्री, अर्थमन्त्री बरालबीचको विवाद प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहाल समक्ष पुगेको थियो। अन्नतः निर्वाचन पूर्वाधार बिकास कार्यक्रम समावेश गर्न अर्थमन्त्री तयार भएपछि स्थगित गरिएको बजेट माथिको छलफल गर्न प्रदेश सभाको बैठक तीन सातापछि डाकिएको थियो।

लामो छलफलपछि करिब २८ करोड रुपैयाँको कार्यक्रम राखेर अनुसूची थपिएको थियो। पछि सेतो किताबमा थपिएका अधिकांश बजेटहरू वितरणमुखी, कार्यकर्तालाई खुसी पार्ने खालका छन्। पछि थपिएका २८ करोडमध्येका योजना सबैभन्दा धेरै पोखरा १६ नम्बर वडामा रहेका छन्। 

भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काको वडा भएकाले त्यहाँमात्र ६ करोडका योजना थप गरिएको छ। बजेटमा विभिन्न पूर्वाधार निर्माणका नाममा यस वडमा मात्र २५ करोड हाराहारी बजेट विनियोजन भएको छ। 

त्यस्तै कांग्रेस गण्डकी प्रदेश सभापतिमा पराजित नेता अर्जुनप्रसाद जोशीले पनि स्वर्गीय बाबु अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन २० लाख रुपैयाँ बजेट पाएका छन्। पर्वत जिल्लाको कुश्मा नगरपालिका– ८ मा स्मृति पार्क बनाउनका लागि २० लाख रुपैयाँ बिनियोजन गरिएको छ। 

त्यस्तै पर्वतकै अर्का कांग्रेस नेता स्वर्गीय डिल्लिराम लामिछानेको नाममा पनि प्रतिष्ठान बनाउनका लागि २० लाख बजेट विनियोजन भएको छ। स्वर्गीय लामिछानेकी श्रीमती सीताकुमारी काफ्ले कुश्मा नगरपालिकाकी निवर्तमान उपमेयर समेत हुन्। उनी कांग्रेसको गण्डकी प्रदेश पनि समेत हुन्।

२५ असार, २०७९, ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।