काठमाडौँ महानगरका पेटीमा पैदल यात्रुलाई एम्बुस थाप्दै विद्युत् प्राधिकरण

काठमाडौँ महानगरका पेटीमा पैदल यात्रुलाई एम्बुस थाप्दै विद्युत् प्राधिकरण

काठमाडौँ : साँघुरो सडकसँगै साँघुरो फुटपाथ, फुटपाथमाथि राखिएका ठुलठुला केबल बक्स। तिनै फुटपाथको एक छेउतिर अव्यवस्थित तरिकाले जमिन मुनी राख्न तयार गरेका भूमिगत तारहरू। तार र केबल बक्सलाई छिचोल्दै फुटपाथमा हिँड्ने यात्रु अनि सवारी साधन। 

धोविखोलाको एकाछेउतिर बनेको लिंकरोड मार्फत विजुलीबजार हुँदै रातोपुलसम्म पुग्ने हो भने पछिल्लो समय देखिने  दृश्य यही हो। नक्साल, लाजिम्पाट र लैनचौरतिर जाने हो भने पनि सडक पेटीको हालत यस्तै छ।

विद्युत् प्राधिकरणले पोलका तार भूमिगत लैजान काठमाडौँ महानगरपालिका, स्थानीय वडा, सडक विभाग लगायतका निकायसँग समन्वय गरेर च्यानल र केबल बक्स राखिरहेको छ। तर यसरी तार भूमिगत गर्न राखिएका केबल बक्स अनि च्यानल बक्स पैदल यात्रीहरूका लागि एम्बुस समान भएका छन्।

यसै त काठमाडौँको सडकपेटी अधिकांश स्थानमा साँघुरा छन्। त्यसैमा पनि प्राधिकरणले पेटी नै ढाक्ने गरी बक्स राखिदिँदा पैदल यात्रु सडकपेटीको साटो सडकमा हिँड्न बाध्य छन्। अब पेटीमै हिँड्दा त जोत्न आउने महानगरका सवारी चालक छन्। यस्तो अवस्थामा सडकमै हिँड्दा थप कति जोखिम होला दुर्घटनाको।

रातोपुलकी दीपा भण्डारी यस्तै सास्ती ब्यहोरीरहेकी पैदल यात्री हुन्।

‘म अनामनगर पुग्न खोलाको बाटो छोटो अनि सहज पर्ने भएकोले हरेक दिन त्यही बाटो हिँड्छु ’ उनी भन्छिन्, ‘त्यहाँ फुटपाथ पनि छ। तर  कोभिडको समयमा तिनै फुटपाथमाथि प्राधिकरणले ठुलठुला बक्सा राखिदिएपछि हिँड्दै समस्या भयो। तल सडकबाट हिँडौँ भने गाडिले हान्ला भन्ने डर हुन्छ, फुटपाथबाटै हिँडौँ भने बक्ससँग ठोक्किने डर।’

फुटपाथको बाटो प्रयोग गर्ने यात्रुलाई मात्र नभई सडकमा गाडी कुदाउनेहरूका लागि पनि च्यानल र केबल बक्सले समस्या पारेको नक्साल बस्ने चित्रराज शर्मा बताउँछन्।

‘हाम्रो सडकहरू सिधा र फराकिला छैनन्। त्यहीमाथि प्राधिकरणले अनुचित ठाउँमा बक्सहरू राखिदिएको छ’ उनी सुनाउँछन्, ‘मैले बाइक चलाउँछु। तिनै बक्सहरूको कारण कैयौँ पटक त म झन्डै दुर्घटनामा परेँ।’

अहिले प्राधिकरणले भूमिगत विद्युतीय लाइन जडानको पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज क्षेत्रमा केबल तार, च्यानल र केबल बक्स राखिरहेको छ। सो परियोजनाको लागि रत्नपार्क र महाराजगन्ज दुवै क्षेत्रको ठेक्का भारतीय कम्पनी केइआई इन्डष्ट्रिजले लिएको छ।

प्राधिकरण र केइआईविच भएको सम्झौताअनुसार सो कार्य २०७५ वैशाखदेखि सुरु भएको र अन्तिम म्याद आगामी पुससम्म रहेको छ। समयावधि भन्दा अगावै सो कार्य सम्पन्न गर्ने लक्ष्य भए पनि विभिन्न कारणले काममा ढिलाइ भएको प्रोजेक्ट म्यानेजर इन्जिनियर अभिषेक अधिकारी बताउँछन्।

‘नगरपालिकाभित्रको काम लगभग सकिइसक्यो। केही प्राविधिक कारण र वर्षाको समय भएकाले सडक विभागले बक्सहरू राख्न अनुमति दिन ढिला गरेकोले काम केही सुस्त भएको छ’ उनी भन्छन्। उनका अनुसार महाराजगन्ज क्षेत्रको केबल जडानका लागि करिब ३ अरब ८० करोड बजेट छुट्टाइएको छ।

यता रत्नपार्क क्षेत्रको जिम्मा लिएका प्राधिकरणका अर्का प्रोजेक्ट म्यानेजर सुमन श्रेष्ठका अनुसार केबल लाइन जडानको कार्य झन्डै तीन वर्ष अघि भएको र आगामी पुसमा अन्तिम म्याद तोकिएको थियो। विभिन्न कारणले काम समयमै सम्पन्न हुन नसक्ने भएकाले म्याद अर्को वर्षसम्मका लागि थप गरिएको छ। रत्नपार्क क्षेत्रको लागि वार्षिक बजेट छुट्टाउने गरेको छ र हरेक वर्षको बजेट फरक फरक आउने गर्छ। यस वर्षको लागि ९६ करोड छुट्टाइएको श्रेष्ठले जानकारी दिए।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराइका अनुसार अहिले रत्नपार्क क्षेत्र र महाराजगन्जको बुढानीलकण्ठदेखि चक्रपथसम्म केबल बक्स राख्ने काम भइरहेको छ।

'१५ महिनाको परियोजना भए पनि काम सुरु भएको धेरै भयो। जुन रफ्तारमा काम हुनुपर्ने त्यो भइरहेको छैन’  उनी भन्छन्, ‘बिचमा कोभिडको कारण दुई वर्षसम्म काम रोकियो। काठमाडौँको फुटपाथ आफैमा व्यस्त छ। त्यसले पनि काम गर्न कठिन छ। ढल, खानेपानी, सडक, महानगर र सबैसँग समन्वय नमिल्दा पनि काममा ढिलाइ भइरहेको छ।’

बक्सा किन पेटीमा ?

काठमाडौँको सुन्दरतासँगै जोखिम समेत बढाइरहेको छ पोलमा झुन्डिएका विभिन्न खालका तारले। त्यसलाई भूमिगत बनाउन राम्रो काम हो। तर एउटा राम्रो कामका लागि अर्को खराब काम गरिरहेको छ प्राधिकरणले पैदल यात्रु सुरक्षित हुन बनाएको पेटी नै ओगटेर। त्यसमा उनीहरूको तर्क पहिला बक्सा ठुलो भएकाले याद भएन भन्ने आउने गरेका छन्। तर उनीहरूले अर्बौको परियोजना प्रारम्भ गर्दा बक्सा कहाँ राख्ने भन्ने अनुसन्धानमा लापरबाही गरेको प्रमाण काठमाडौँ महानगरका पेटीभरि छन्।

प्राधिकरणका जिम्मेवार अधिकारीसम्म पनि पैदल यात्रु हिँड्न बनाइएका पेटी नै ढाक्ने गरी बक्सा राख्दा परेको समस्याबारे सूचना पुगेका छन्। प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई फुटपाथ नै ब्लक हुने गरी राखिएका च्यानल बक्सहरू फेर्ने तयारी भइरहेको दाबी गर्छन्।

‘बक्सले गर्दा फुटपाथ र सडकमा हिँड्न र गाडी गुडाउन कठिनाइ भएको ठाउँहरूमा हामीले डिजाइन परिवर्तन गर्ने कुरा भएको छ’ उनी भन्छन्, ‘पहिल्यै बक्स राखिएका ठाउँहरूमा भएको कठिनाइलाई मध्यनजर गर्दै आयोजनाले त्यसलाई पुन इन्जिनियरिङ परामर्शदाताहरूसँग छलफल गरेर अर्को उपयुक्त ठाउँमा लान सकिन्छ या सकिँदैन भन्नेबारे हेरिरहेका छौ। सोहीअनुसार उपयुक्त ठाउँ भेटिएपछि बक्सको ठाउँ परिवर्तन गरिनेछ।’

हाल फुटपाथ ब्लक भएका स्थानमा नयाँ बक्स जडान गरिने रत्नपार्क क्षेत्रको परियोजना हेरिरहेका प्रोजेक्ट म्यानेजर श्रेष्ठ बताउँछन्।

‘यसअघि जडान गर्ने बेलामा हामीसँग सानो खाले च्यानल बक्स थिएन। जस्तो थियो प्राधिकरणले त्यस्तै जडान गरेको थियो’ उनी भन्छन्, ‘अहिले फुटपाथहरू ब्लक भएको भन्दै स्थानीय सम्बन्धित वडा कार्यालयहरूले गुनासो गर्न थालेपछि हामीले नयाँ फेर्ने भएका छौ। सेतोपुल, रातोपुललगायत साँघुरो क्षेत्रको च्यानल बक्स फेर्नेको लागि अलिक सानो खालको च्यानल बक्स बनाउन लगाएका छौ।'

उनले ठुलो बक्सहरूमा प्रोटेक्सन हुने भएकोले सुरुमा सबैतिर एउटै खाले बक्सहरू जडान गरेको तर पछिल्लो समय भने साँघुरो ठाउँहरूका लागि टेक्निकल तरिकाले कम्प्रोमाइज गरी सानो बक्सहरू बनाइरहेको जानकारी दिए।

’हिँड्न र सवारी साधन गुडाउन अप्ठेरो भएको स्थानको बक्सहरू हटाउने या नयाँ फेर्ने गरी डिजाइन तयार भइसकेको छ। अब चाडै नै नयाँ बक्सहरू जडान गर्ने या हटाउने काम थालिने छ,श्रेष्ठले भने।

२४ असार, २०७९, १४:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।