माओवादीको अविश्वसनीय लेखा परीक्षण प्रतिवेदन : चन्दा छैन, बचत जम्मा सात सय ६०

माओवादीको अविश्वसनीय लेखा परीक्षण प्रतिवेदन : चन्दा छैन, बचत जम्मा सात सय ६०

काठमाडौँ :  माओवादी केन्द्रका नेताहरूको दैनिकी हेर्दा कुनै पुँजीवादी दलका सम्पन्न नेताको भन्दा कम छैन। केन्द्रीय तहका नेता मात्रै हैनन् जिल्लातहका नेताको आर्थिक हैसियत पनि सर्वहाराभन्दा माथिल्लै देखिन्छ। तर त्यही दलका नेताहरूको दलको आर्थिक अवस्था हेर्यो भने अपत्यारिलो छ।

माओवादीले निर्वाचन आयोगमा बुझाएको आर्थिक वर्ष २०७७-०७८ लेखा परीक्षण प्रतिवेदन पत्याउने हो भने माओवादीको आर्थिक अवस्था त्यति बलियो छैन।

दलले आयोगमा बुझाएको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगरेपछि उकेराले सूचनाको हक अन्तर्गत प्राप्त गरेको प्रतिवेदन अनुसार उसको जम्मा सम्पत्ति नै १६ लाख ३६ हजार रुपैयाँ मात्रै छ। ०७७/०७८ को आम्दानी खर्च विवरण हेर्ने हो भने उसलाई जम्मा सात सय ६० रुपैयाँ मात्रै बचत भएको देखिन्छ।

यो वर्ष उसले विविध शीर्षकमा २८ लाख ४७ हजार आम्दानी गरेको देखिन्छ भने खर्च २८ लाख ४६ हजार भएको छ। आम्दानी विवरण हेर्ने हो भने यो वर्ष माओवादीले एक पैसा कसैबाट चन्दा पाएन।

सबैभन्दा ठुलो आम्दानीको स्रोत सदस्यता, लेवी र नवीकरणमा भएको देखिन्छ। माओवादीले यसमा २८ लाख २६ हजार आम्दानी गर्यो। सबैभन्दा ठुलो खर्च कार्यालय सञ्चालनमा भएको देखियो। उसको आम्दानीमध्ये २८ लाख २२ हजार खर्च भएको देखिन्छ। अधिवेशन/ प्रशिक्षण/ भातृ सङ्गठन सम्बन्धी गतिविधिमा पनि पैसा खर्च भएको देखिएन।

उसले पुँजीगत खर्च र लगानीमा २३ हजार ८ सय ५० खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।

नेकपाकालीन आम्दानी-खर्च छैन

नेकपाको नामको विवादमा सर्वोच्च अदालतबाट ०७७ फागुन २३ मा आएको फैसलाबाट एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका थिए। त्यसैलाई आधार बनाएर माओवादीले ०७७ फागुन २३ देखि ०७७ असार मसान्तसम्मको आर्थिक विवरणबारे मात्रै लेखा परीक्षण गराएको देखिन्छ।

तत्कालीन नेकपाबाट अलग्गिएको एमालेले भने १२ महिनाकै आर्थिक विवरण प्रतिवेदन तयार गरेको छ। नेकपाहुँदा नेकपाबाटै आर्थिक विवरण अद्यावधिक गराइएको माओवादको आर्थिक प्रतिवेदनमा उल्लेख छ।

माओवादीको नाममा जम्मा दुई वटा बैङ्कमा खाता छन्। तीमध्ये एभरेस्ट बैङ्कमा १३ लाख ८४ हजार ९ सय ५८ र ग्लोबल बैङ्कमा ६७ हजार ४ सय ७१ रुपैंया रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ। बाँकी नगद १ लाख ९० हजार २४ गरी माओवादीको मौज्दात रकम १६ लाख ४२ हजार ४ सय ५४ रुपैयाँ रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदनमा अघिल्लो वर्षको मौज्दात जिम्मेवारी १६ लाख ११ हजार ६ सय ९४ देखाइएको छ। जबकि यो मौज्दात नेकपाहुँदा देखाइएको हिसाबबाट माओवादीमा सारेको देखाइएको छ। दायित्व देखाए पनि आम्दानीबारे भने प्रतिवेदन मौन छ।

आर्थिक प्रतिवेदनमा सञ्चित कोषमा १६ लाख ३६ हजार ३ सय ४ रुपैयाँ रहेको उल्लेख छ। स्थिर सम्पत्ति कोषमा उसले कुनै रकम उल्लेख गरेको छैन। स्थिर सम्पत्तिको खुद मूल्य २३ हजार ८ सय ५० देखाएको छ।

चालु सम्पत्तिमा नगद तथा बैङ्क १६ लाख ४२ हजार ४ सय ५४ देखाएको छ भने जिन्सी मौज्दात, पाउनुपर्ने भुक्तानी, धरौटी पेस्की तथा अग्रिम भुक्तानीमा उसले कुन रकम दाखिला गरेको छैन।

चालु दायित्वमा ३० हजार  देखाएको छ। खुद चालू सम्पत्तिमा माओवादीले १६ लाख १२ हजार ४ सय ५४ रुपैयाँ उल्लेख गरेको छ। माओवादीको आर्थिक प्रतिवेदनमा जम्मा सम्पत्ति १६ लाख ३६ हजार ३ सय ४ रुपैंया दाखिला गरेको छ।

प्रतिवेदनमा कर्जा सहितको खुद बचत-सम्पत्ति १६ लाख ४२ हजार ४ सय ५४ उल्लेख छ। सो वर्ष कर्जा प्राप्ति र कर्जा फिर्ता सम्बन्धी कारोबार नै भएको छैन।

सदस्यता नवीकरण र लेवी शुल्कबाट भएको २८ लाख २६ हजार नै जम्मा नगद प्रवाहमा देखाइएको छ। बैङ्क ब्याजबाट ८ हजार ४ सय १९ र बहाल आयबाट १३ हजार रकम प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ। सो वर्ष माओवादीले सम्पूर्ण कारोबारबाट नगद प्राप्ति स्वरूप २८ लाख ४७ हजार ४ सय १९ रुपैयाँ रहेको देखाएको छ।

कार्यालय सञ्चालनको लागि भएको नगद भुक्तानी २७ लाख ९२ हजार ८ सय ९ उल्लेख गरिएको छ। पुँजीगत खर्च र लगानीमा जग्गा, फर्निचर तथा कार्यालय उपकरणमा २३ हजार ८ सय ५० गरी कुल भुक्तानी २८ लाख १६ हजार ६ सय ५९ रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ।

अन्तिम मौज्दात (सम्पत्ति समेत) गरेर माओवादीसँग १६ लाख ४२ हजार ४ सय ५४ रुपैयाँ रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ।

कार्यालय सञ्चालन खर्च धेरै

माओवादीको आम्दानीको अधिकांश हिस्सा कार्यालय खर्चमा भएको देखिन्छ। उसले कार्यालय सञ्चालनमध्ये सञ्चारमा ७७ हजार ३ सय ७०, बिजुली तथा इन्धनमा १ लाख १९ हजार १४, यातायात तथा भ्रमणमा ६६ हजार २ सय ८५, लेखा परीक्षण शुल्क ३० हजार, जलपान तथा पाहुना खर्च १ लाख ८६ हजार ४ सय ७६ र मर्मत सम्भार खर्च १ लाख ५० हजार ८ सय ६७ उल्लेख गरेको छ।

एमालेको अपत्यारिलो लेखा परीक्षण प्रतिवेदन : एक करोड २७ लाख घाटा, गत वर्ष चन्दै आएन !

आय-व्यय विवरण खै भन्यो कि किन डराउँछन् दलहरू ?

कांग्रेसको ११ बैङ्क खातामा ३ करोड ११ लाख नगद, ७६ लाखको स्रोत उल्लेख छैन

यसै गरी, पुस्तक तथा पत्रपत्रिका खर्चमा ६३ हजार १ सय १७, सरसफाइ खर्चमा २३ हजार ७ सय ६०, अर्धकालिन कार्यकर्ता खर्चमा २० लाख ८० हजार ९ सय २०, कार्यकर्ता सम्बन्धी खर्चमा १५ हजार गरी कार्यालय सञ्चालन खर्चमा २८ लाख २२ हजार ८०९ देखाइएको छ।

प्रशिक्षण, भ्रमण लगायतका कुनै पनि कार्यक्रम नगरेका माओवादीले कार्यकर्ताको नाममा २० लाख ९५ हजार ९२० खर्च गरेको लेखा परीक्षणमा देखाएको छ। पुँजीगत खर्च र लगानीमा कार्यालय उपकरण खरिदमा २३ हजार ८ सय ५० रहेको देखाएको छ।

माओवादीको नाममा जम्मा दुई वटा बैङ्कमा खाता छन्। तीमध्ये एभरेस्ट बैङ्कमा १३ लाख ८४ हजार ९ सय ५८ र ग्लोबल बैङ्कमा ६७ हजार ४ सय ७१ रुपैंया रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ। बाँकी नगद १ लाख ९० हजार २४ गरी माओवादीको मौज्दात रकम १६ लाख ४२ हजार ४ सय ५४ रुपैयाँ रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ। 

२३ असार, २०७९, २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।