पर्यटकीय बसपार्क उपत्यका नगर विकासलाई हस्तान्तरण, पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिँदै

पर्यटकीय बसपार्क उपत्यका नगर विकासलाई हस्तान्तरण, पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिँदै

पोखरा : पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन विभागले पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ। बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी विभागले उपत्यका नगर विकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो। 

बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय सहर पोखरामा पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा उत्साह थप्ने बताए। 

उनले उपत्यका नगर विकास समिति र पोखरा महानगरले बसपार्कको सहि उपयोग गर्नेमा आफू विश्वस्त रहेको बताए। मन्त्री श्रेष्ठले पोखरामा थप पर्यटकीय पूर्वाधार बनाउने बताउँदै त्यसका लागि पोखरा महानगरपालिकासहित समग्र पर्यटन सम्बद्ध संस्थाहरूसँग मन्त्रालयले सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए। 

पोखरा महानगरका प्रमुख एवं पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष धनराज आचार्यले १८ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न बसपार्क निर्माण गरी हस्तान्तरण गरेकोमा मन्त्रालय र पर्यटन विभागप्रति हार्दिक आभार प्रकट गरे। उनले पोखरा महानगरपालिकाले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको भन्दै यसका लागि संघीय सरकारको तर्फबाट थप सहयोग हुने अपेक्षा प्रकट गरे। 

उपत्यका नगर विकास समिति मार्फत पोखरा महानगरले पर्यटन बसपार्कको उपयोग गर्ने र सेवा दिने प्रमुख आचार्यले उल्लेख गरे। स्वामित्व हस्तान्तरण कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश न्यौपाने र पर्यटन विभाग तारानाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो।

बसपार्क निर्माणको जिम्मा पाएको निर्माण कम्पनी आशिष-सिएम-मिसन जेभीका डाइरेक्टर सान्तकुमार श्रेष्ठका अनुसार पर्यटकीय बसपार्कमा ४० वटा पर्यटक बाहक बस आवतजावत गर्न सक्नेछन्। १० वटा माइक्रो बस, २० वटा ट्याक्सी पार्किङ गर्ने स्थल र केही कार समेत राख्ने स्थल छ ।बसपार्कको दक्षिण पूर्वबाट बस प्रवेश गर्ने र दक्षिण पश्चिमबाट बस बाहिरिने व्यवस्था छ। 

बसपार्कको पश्चिम र पूर्वी भागमा दुवै तर्फ एक सय ३० मिटर लामा नाला (ढल) निर्माण भएका छन्। बसपार्कको बिचमा आकर्षक आइल्यान्ड गार्डेन बनेको छ। जहाँ पर्यटक ओर्लिएपछि एकैछिन् उत्तरी हिमाल तर्फको सिन लिँदै तस्बिर खिच्न पाउनेछन्। डिभाइडरमा समेत फूल रोपेर आकर्षक बनाइने छ। बसपार्कमा व्यवस्थित शौचालय, चमेना गृह लगायतका अन्य प्रयोजनका लागि भवन निर्माण गरिएको छ। 

पर्यटन विभागका निर्देशक तारानाथ अधिकारीका अनुसार ८ करोड ४५ लाख ८३ हजार रुपैयाँ लागतमा बसपार्क निर्माण भएको हो। पोखरा महानगर पालिका वडा नम्बर ७, राष्ट्र बैङ्क चोक नजिक निर्माण भएको आधुनिक पर्यटन बसपार्क निर्माणको सम्झौता २८ फागुन २०७५ मा भएको थियो। निर्माण कम्पनीका अनुसार दुई असोज २०७७ भित्र बसपार्क निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने सम्झौता हो। तर, कोरोना संक्रमणका कारण निर्माणमा केही ढिलाइ भएको थियो । बसपार्क सात हजार ९ सय बर्गमिटरमा बनेको छ। 

पर्यटकीय राजधानी घोषणा गर्ने प्रक्रिया अगाडि बढाइँदै 
गण्डकीकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि पर्यटन मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ। पर्यटन मन्त्री जीवनराम श्रेष्ठले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको जानकारी दिएका छन्।

पर्यटकीय राजधानी घोषणा गर्नका लागि प्रक्रिया छिट्टो अगाडि बढाउनका लागि ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका पोखरा महानगरका प्रमुख आचार्यलाई मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन्। 

प्रमुख आचार्यले आफू र महानगरवासीले छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने संघीय सरकारको निर्णयको सुखद प्रतीक्षा गरिरहेको बताएका छन्। उनले भने,‘पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि हामीले प्रक्रिया अगाडि बढाएका छौँ। अबको क्याविनेटमा यो प्रस्ताव लिएर जाँदैछु भनेर मन्त्री श्रेष्ठले आश्वासन दिएका छन्। पक्कै पनि हामी पोखरावासीले सुखद खबर सुन्न पाउने छौँ।

२२ असार, २०७९, १८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।