आईओईका पाठ्यक्रम पुरानो हुँदा युट्युबको भरमा पढ्छन् विद्यार्थी, १३ वर्षपछि बल्ल 'कोर्स अपडेट' गर्ने तयारी

आईओईका पाठ्यक्रम पुरानो हुँदा युट्युबको भरमा पढ्छन् विद्यार्थी, १३ वर्षपछि बल्ल 'कोर्स अपडेट' गर्ने तयारी

त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)मा इन्जिनियरिङ अध्ययन गर्ने स्नातक तहका विद्यार्थीहरू लामो समयदेखि पाठ्यक्रम परिमार्जन नहुँदा मर्कामा परेका छन्। पाठ्यक्रम पुरानो हुँदा विद्यार्थीहरू युट्युबबाट अध्ययन गर्न बाध्य भएका छन्।

आईओई र आईओईद्वारा सम्बन्धन प्राप्त कलेजमा अध्ययनरत अधिकांश विद्यार्थीहरू पाठ्यक्रममा सैद्धान्तिक ज्ञान मात्र भएको र आफूले पढेको विषय जागिर र अभ्यासमा काम लाग्ने खालको नभएको भन्दै असन्तुष्टि व्यक्त गर्छन्।

‘आईओईको पाठ्यक्रम निकै पुरानो छ’ केही वर्षअघि आईओई पुल्चोकबाट सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेका नारायण श्रेष्ठ भन्छन्, ‘बीचमा एक पटक कोर्स परिमार्जन गरिए पनि पुरानै सामग्री राखिएको थियो। परिमार्जित कोर्स नयाँ थिएन। हाम्रो पाठ्यक्रम प्राविधिक, नयाँ नभएर जे सहज छ, त्यही राख्ने चलन भएको जस्तो मलाई लाग्यो। परिमार्जन गर्दा पनि पुरानै सामग्री दोहोरिने भए त्यसको के अर्थ? यसले हामीजस्ता विद्यार्थीलाई समस्यामा पार्छ।’

कलेजको पाठ्यक्रममा समय सान्दर्भिक अध्ययन सामग्री नहुँदा आफूलाई चाहिने ज्ञानको लागि युट्युब र इन्टरनेटको भर पर्नु परेको उनी बताउँछन्। 

‘सिभिल इन्जिनियरिङमै पनि अहिले कलेज पढ्दा अटोक्याड, सफ्टवेर केही पनि सिकाउँदैन, त्यो चिजहरू कोर्समै नभएकाले सबै आफैँले बाहिर युट्युब वा इन्टरनेटबाट हेरेर सिक्थ्यौँ। मैले पनि कलेजमा स्केलबाटै धर्का तान्न सिकेँ’ उनी भन्छन्, ‘कलेजसम्म त्यति भए पनि ठीक छ जस्तो लाग्थ्यो। तर अचेल काम गर्न थालेपछि जब कुनै संरचनाको पाटो आउँछ त्यसको डिजाइन अथवा ड्रइङ बनाउँदा स्केलको कामै हुँदैन। सिधै सफ्टवेयर र अटोक्याड चलाउन जान्नुपर्ने रहेछ। स्केल र पेन्सिल लिएर टेबलमा बसेर धर्का तान्ने दिन गए।'

उनका अनुसार ल्यापटमा सफ्टवेयरको सहायताले गरेको काम एक्युरेट र छिटो पनि हुन्छ।

श्रेष्ठ मात्र नभई कलेजको वर्षौँ पुरानो पाठ्यक्रमकै कारण आफू मर्कामा परेका बताउँछन्, जगदिश खड्का। आफूलाई चाहिएको व्यवहारिक ज्ञान कलेजबाट प्राप्त गर्नुपर्नेमा उनले इन्टरनेट र युट्युबको साथ लिनुपरेको बताउँछन्। 

‘हाम्रो इलेक्ट्रोनिक्सभित्र थुप्रै विषयहरू छन्। जति पनि छन् सबै पुराना छन्। जस्तो मलाई वेबसाइट बनाउनु पर्यो भने त्यो कलेजमा सिक्न पाइँदैन। पाठ्यक्रममै नभएको कुरा कलेजले सिकाउने कुरा पनि भएन। त्यसको लागि चाहिने कोडिङ मैले युट्युब हेरेर सिक्छु’ उनी सुनाउँछन्।

आईओई अन्तर्गतको थापाथली इन्जिनियरिङ क्याम्पसबाट स्नातक तहको इलेक्ट्रोनिक्स विषय उत्तीर्ण गरेका खड्का पुरानो पाठ्यक्रमका कारण आफूले जागिर पाउन समेत समस्या परेको बताउँछन्। 

‘अहिलेको हाम्रो मार्केटमा जे विदेशतिर चल्छ यहाँ पनि त्यही चल्छ। तर हाम्रो पाठ्यक्रम वर्षौँ पुरानो छ’ उनी भन्छन्, ‘पाठ्यक्रम पुरानो भएकै कारण थुप्रै ठाउँमा मैले जागिर पनि पाउन सकिनँ। जागिरको लागि अन्तर्वार्तामा बोलाएर प्रश्न गर्छन्। मैले कलेजमा सिकेको एउटा हुन्छ, उनीहरूले मागेको अर्कै हुन्छ। यदि पढ्दै गर्दा, मार्केटमा जे चाहिएको हो त्यहि पढ्न र सिक्न पाएको भए सहजै जागिर पाउन सकिन्थ्यो। युट्युब हेरेर सिकेको ज्ञान पनि त्यति गुणस्तरीय मानिदैन रहेछ।’

नियममा हरेक पाँच वर्षमा परिमार्जन हुनुपर्ने, व्यवहारमा वास्तै छैन
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नियमअनुसार प्राविधिक, गैरप्राविधिक गरी हरेक विषयवस्तुको पाठ्यक्रम हरेक चार-पाँच वर्षमा परिमार्जन हुनुपर्छ। तर त्रिविले भने १२-१५ वर्ष बितिसक्दा पनि पाठ्यक्रम परिमार्जन गर्नेतर्फ वास्तै गरेन।

बल्ल, आगामी शैक्षिक सत्रदेखि भने त्रिविअन्तर्गतका सबै निकायले पाठ्यक्रम परिमार्जन गर्न लागेको त्रिविका शिक्षाध्यक्ष शिव भुसाल बताउँछन्।

‘कुनै पनि पाठ्यक्रमको एउटा साइकल (चक्र) स्नातकमा चार-पाँच वर्ष र स्नातकोत्तरमा दुई वर्ष हुन्छ। यो अवधि पूरा भएपछि पाठ्यक्रम परिमार्जन गर्नुपर्ने नियम छ। एउटा विषयमा भर्ना भएको विद्यार्थीले कोर्स पूरा गरुञ्जेलको अवधीलाई पाठ्यक्रमको एउटा साइकल मानिन्छ’, उनी भन्छन्।

उनी आफैँ पनि नियम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार्छन्। उनका अनुसार पछिल्लो समय त्रिविको फ्याकल्टी बोर्डले पाठ्यक्रम पुरानो भएकाले परिमार्जन गर्नुपर्ने निर्णय गरेको छ। 

सोही निर्णयअनुसार आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी सबै विषयको पाठ्यक्रम ढिलै भए पनि परिमार्जन हुने उनले दावी गरे।

तर प्राविधिक विषयको हकमा भने आवश्यकता अनुसार सम्बन्धित विश्वविद्यालय एवम् संस्थानका डिनहरूले पाठ्यक्रम परिमार्जन गर्न पाउने भुसाल बताउँछन्। 

‘इन्जिनियरिङ जस्ता प्राविधिक विषयको हकमा भने सम्बन्धित निकायको फ्याकल्टी बोर्डले आवश्यक परेको खण्डमा पाठ्यक्रम परिमार्जन गर्न पाउने हुन्छ। आईओई जस्ता निकायहरूले आफूअनुकूल पाठ्यक्रम परिमार्जन गरिरहेका छन्। तर प्राविधिक विषयको पाठ्यक्रमहरू समयअनुसार परिमार्जन नहुनु भनेको निकै ढिला हुनु हो।’

आईओईले १३ वर्षपछि परिमार्जन गर्दै पाठ्यक्रम
आईओईले भने अब झण्डै १३ वर्षपछि पाठ्यक्रम परिमार्जन गर्ने भएको छ। आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी आईओईले स्नातक तहअन्तर्गत इन्जिनियरिङ र आर्किटेक्चरको पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेको हो।

अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आईओईको पाठ्यक्रम तुलना गर्दै बजारमुखी र व्यवहारमुखी हुनेगरी हालको पाठ्यक्रमलाई परिमार्जन गर्दै शैक्षिक कार्यक्रम अघि बढाउने निर्णय गरिएको र आगामी वर्षदेखि लागू हुने आईओईका सहायक डिन प्रा. डा सुशील बज्राचार्यले बताए।

आईओईले यसअघि सन् २००९ मा स्नातक तहको पाठ्यक्रम परिमार्जन गरेको थियो। आईओईले स्नात्तकोत्तर तहको पाठ्यक्रम भने दुई वर्षअघि नै परिमार्जन गरिसकेको छ।

‘शैक्षिक सत्र २०८०/८१ देखि लागू हुनेगरि सबै पाठ्यक्रमको खाका तयार भइसकेको छ’ बज्राचार्यले भने, ‘पाठ्यक्रम परिमार्जनसम्बन्धी खाका र मापदण्ड लकडाउनअघि नै बनिसकेको थियो। हामीले गत वर्षदेखि नै परिमार्जित पाठ्यक्रम लागू गर्ने भने पनि लकडाउनले गर्दा लागू हुन सकेको थिएन।'

उनका अनुसार परिमार्जित सबै कोर्सहरू बजार र व्यवहारमुखी छन्। सबै कोर्समा इन्टर्नको व्यवस्था हुनेछ।

डिन बज्राचार्यका अनुसार आईओइमा हाल इन्जिनियरिङ र आर्किटेक्चर गरी जम्मा १२ वटा कार्यक्रमहरू सञ्चालनमा छन्। आईओईले हालसम्म आर्किटेक्चर, मेकानिकल इन्जिनियरिङ र केमिकल इन्जिनियरिङमा मात्र इन्टर्नको व्यवस्था गर्दै आएको थियो।

२१ असार, २०७९, ०८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।