एमालेको अपत्यारिलो लेखा परीक्षण प्रतिवेदन : एक करोड २७ लाख घाटा, गत वर्ष चन्दै आएन !

एमालेको अपत्यारिलो लेखा परीक्षण प्रतिवेदन : एक करोड २७ लाख घाटा, गत वर्ष चन्दै आएन !

काठमाडौँ : राजनीतिक दलहरूको तामझाम अनि उसले देखाउने आय-व्यय विवरण कहिल्यै समान देखिन्न। सामान्य कार्यक्रमका लागि समेत लाखौँ खर्च गर्ने गरेका छन् दलहरूले। तर उनीहरूले सम्बन्धित निकायमा बुझाउने आर्थिक विवरण हेर्ने हो भने पत्याउनै नसक्ने आर्थिक विवरण उल्लेख गरिएको हुन्छ।

यस्तै देखियो एमालेले निर्वाचन आयोगमा बुझाएको लेखापरिक्षण प्रतिवेदनमा। उकेराले सूचनाको हक प्रयोग गरेर प्राप्त गरेको एमालेको २०७७-०७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेखित विवरण अनुसार जम्मा चन्दा र सहयोग १८ लाख ६२ हजार मात्र पाएको थियो। २०७६-०७७ को आर्थिक विवरण पत्याउने हो भने त एक रुपैयाँ पनि चन्दा पाएन एमालेले।

अर्को आम्दानी भनेको ब्याज मात्र हो। विवरण अनुसार एमालेले सो आर्थिक वर्षमा २८ लाख ७७ हजार पायो ब्याजबाट। दुवै जोड्ने हो भने आर्थिक वर्ष ०७७-०७८ मा एमालेको जम्मा आम्दानी ५४ लाख ७५ हजार मात्र भएको देखिन्छ। प्रशिक्षण तथा कार्यक्रम र निर्वाचनमा एक पैसा खर्च भएन। अर्थात् एक वर्षको बिचमा भएका कुनै प्रशिक्षण र कार्यक्रममा पार्टीले एक पैसा खर्च गर्नु परेन।

कुनै सामाजिक कार्यक्रममा समेत पैसा खर्च नगरेको एमालेको व्यय भनेको कार्यालय सञ्चालन, प्रकाशन र पुँजीगत खर्च र लगानी मात्रै उल्लेख छ। कार्यालय सञ्चालनमा एक करोड ३४ लाख खर्च भयो।

प्रकाशनमा १३ लाख खर्च भएको र पुजिगत खर्च र लगानीमा १३ लाख खर्च भयो। भातृ सङ्गठन सम्बन्धी केही खर्च भएन। ०७७ साउनदेखि २०७८ असारसम्मको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार एमाले एक करोड २७ लाख २०९ हजार ऋणमा देखिन्छ।

आठ लाख सदस्य रहेको दाबी गर्दै आएको एमालेको लेखा परीक्षण प्रतिवेदनमा सदस्यता शुल्कबाट एक वर्षमा जम्मा २४ हजार मात्र आएको उल्लेख छ भने लेबीबाट ६ लाख ९० हजार मात्र उठेको छ। कार्यगत लेवीबाट एक पैसा पाएन पार्टीले २०७७-०७८ मा।

लेखा परीक्षण प्रतिवेदन नेपाली कांग्रेसको भन्दा व्यवस्थित देखिन्छ। तर त्यसमा उल्लेखित विवरणहरू भने अपत्यारिलो छ। उसले १८ लाख ६२ हजार व्यक्तिगत चन्दा पाएको उल्लेख त गरेको छ तर २५ हजारसम्म वा २५ हजार बढी चन्दा दिने दाता एक जना पनि नरहेको उल्लेख गरेको छ। उसले प्रकाशन बिक्रीबाट २० हजार ४ सय २० रुपैंया आम्दानी गरेको उल्लेख छ।

उसको कर्जा सहितको खुद बचत-सम्पत्ति २१ करोड ६६ लाख २७ हजार रहेको आयोगमा बुझाएको विवरणमा देखिन्छ।

आय-व्यय विवरण खै भन्यो कि किन डराउँछन् दलहरू ?

कांग्रेसको ११ बैङ्क खातामा ३ करोड ११ लाख नगद, ७६ लाखको स्रोत उल्लेख छैन

आर्थिक वर्ष ०७७-०७८ मा कार्यालय सञ्चालन खर्च १ करोड ३४ लाख ९ हजार २६९, प्रकाशन खर्च १३ लाख ४ हजार ६ सय, पुँजीगत खर्च र लगानीमा २५ लाख ६८ हजार ४६७ र ब्याज खर्चमा ९ लाख १३ हजार ६०३ गरी १ करोड ८१ लाख ९५ हजार ९३९ खर्च गरेको छ।

घर बहालमा १६ लाख ६७ हजार, सञ्चारमा ४ लाख ६६ हजार, छपाई तथा स्टेशनरीमा ५ लाख १२ हजार, बिजुली तथा इन्धनमा ८ लाख १५ हजार, यातायात तथा भ्रमणमा २ लाख ५८ हजार, जलपान तथा पाहुना खर्चमा १९ लाख २० हजार, मर्मत सम्भारमा ४१ लाख ३७ हजार, कार्यकर्ता उपचार खर्चमा ८ हजार, सरसफाइ खर्चमा १ लाख ६१ हजार, कर्मचारी तलब भत्ता ३४ लाख ६३ हजार गरी कार्यालय सञ्चालनको खर्चको जम्मा ९९ लाख ४६ हजार देखाएको छ।

प्रकाशन खर्चमा उसले १३ लाख ४ हजार खर्च गरेको छ। जसमा छपाइ खर्च १२ लाख ६५ हजार २५८ वितरण खर्च १३ हजार ९० र अन्य खर्च २६ हजार २२५ रहेको छ।

खर्चमा १४ लाख ७० हजारको फर्निचर, १० लाख ९७ हजारsJ कार्यालय उपकरण, पुजिगत खर्च र लगानी २५ लाख ६८ हजार देखाएको छ।

सम्पत्ति र लगानीको अद्यावधिक विवरणमा उसले १ करोड ३० लाख २४ हजार २१४ देखाएको छ। जसमा जग्गा ७० लाख ८० हजार, फर्निचर २४ लाख ७८ हजार, सवारी साधन ९ लाख ५२ हजार, कार्यालय उपकरण २५ लाख १३ हजार गरेर १ करोड ३० लाख २४ हजार देखाएको छ। जसमा भवन भने शून्य छ।

१० बैक र एक सहकारीमा १८ करोड

१० बैङ्क र एक सहकारीमा एमालेको खाता छ। त्यसमा सदस्यता, लेवी र नवीकरण शुल्क एकै बैङ्कमा भए पनि फरक–फरक खातामा जाने गर्छ। कृषि विकास बैङ्कमा ५ वटा खातामध्ये २ वटा बचत र ३ वटा चल्ती खाता छन्।

कृषि विकास बैङ्क (चल्ती)मा ७ लाख ७६ हजार ८५१, कृषि विकास बैङ्क (बचत)मा ४३ लाख ९ हजार १५५, कृषि विकास बैङ्क (बचत)मा १ करोड ५ लाख ८२ हजार ३५५, कृषि विकास बैङ्क (चल्ती)मा ४ लाख ७५ हजार ३५० र कृषि विकास बैङ्क (चल्ती)मा ६८ लाख ८८ हजार ५९३ रुपैयाँ रहेको छ। दुई वटा खाता भए पनि एमालेको एभरेस्ट बैङ्कमा भने आर्थिक वर्ष ०७७÷०७८ मा खातामा शून्य पैसा रहेको छ।

हिमालयन बैङ्क (चल्ती) १ लाख ४० हजार ४५ रुपैयाँ रहेको छ।  नेपाल बैङ्क –चल्ती) ४ लाख १६ हजार ४८४ रुपैंया रहेको छ। राष्ट्रिय वाणिज्य बैङ्कको तीन वटै चल्ती खातामा १ करोड ३० लाख १० हजार १९७, ७१ लाख २१ हजार ६१५ रुपैयाँ छ भने अर्को खातामा पैसा नरहेको देखाएको छ।  नवयुग सहकारीमा ३५ लाख ३९ हजार २९२ रहेको छ।

सिभिल बैङ्कमा ७६ लाख ६८ हजार ४८०, ग्लोबल बैङ्कको एउटा खातामा २ करोड ९ लाख २५ हजार १२५ रहँदा अर्कै खातामा पैसा छैन। नविल बैङ्कको (चल्ती) खातामा १ करोड ८९ लाख ८० हजार ९२१ रहँदा बचत खातामा भने ७६ लाख ३५ हजार ३०२ रहेको छ।

टुरिजम् बैङ्क (हाल मेगा बैङ्कसँग मर्जर) को मुद्दती खातामा ४ करोड ४८ लाख ९४ हजार १३३ र प्रभु बैङ्कको मुद्दती खातामा ४ करोड १२ लाख २१ हजार ४१७ रुपैयाँ रहेको छ। बाँकी नगद शीर्षकमा ६ लाख ३० हजार ३०५ देखाएको छ। एमालेको रकम मौज्दात १८ करोड ९२ लाख १५ हजार ६२५ देखाएको छ।

२० असार, २०७९, १८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।