कांग्रेसको ११ बैङ्क खातामा ३ करोड ११ लाख नगद, ७६ लाखको स्रोत उल्लेख छैन

कांग्रेसको  ११ बैङ्क खातामा ३ करोड ११ लाख नगद, ७६ लाखको स्रोत उल्लेख छैन

काठमाडौँ : सत्ताधारी दल नेपाली कांग्रेसको नाममा विभिन्न ११ बैङ्कमा रहेका १५ वटा खातामा ३ करोड ११ लाख रुपैंया रहेको छ। कांग्रेसले नियम अनुसार सार्वजनिक नगरेको आर्थिक वर्ष ०७७-०७८ को लेखा परीक्षण प्रतिवेदन अनुसार उसले क्रियशिल सदस्यता शुल्कबाट मात्रै ७ करोड ११ लाख आम्दानी गरेको छ। उकेराले सूचनाको हक प्रयोग गरेर निर्वाचन आयोगबाट प्राप्त गरेको प्रतिवेदन अनुसार सदस्यता शुल्कबापत ७ लाख ५० हजार, लेवी बापत २ करोड ५ लाख गरेर नौ करोड २४ लाख रकम आम्दानी गरेको देखिन्छ।

कांग्रेसको नाममा विभिन्न बैङ्कमा रहेका खाताहरूमध्ये प्राइम कमर्शियल बैङ्कमा १२ लाख ५० हजार, सेन्चुरी कमर्सियल बैङ्कमा एक खातामा ९४ हजार र अर्कोमा खातामा १५ हजार, बैङ्क अफ काठमाडौँको खातामा ६२ हजार, नेपाल बैङ्कको एउटा खातामा ४८ हजार र अर्को खातामा ४५ लाख, सनराइज बैङ्कको खातामा ४७ लाख, राष्ट्रिय वाणिज्य बैङ्क एउटा खातामा २ करोड २७ लाख ३२ हजार र अर्को खातामा २० हजार अनि तेस्रो खातामा ३ लाख ९९ हजार, ग्लोबल आएएमइ बैङ्कको खातामा ५४ हजार, इन्भेस्टमेन्ट बैङ्कको एउटा खातामा ५० हजार र अर्कोमा ३६ हजार, प्रभु बैङ्कको एउटा खातामा ४५ हजार र प्रभु बैङ्ककै निर्वाचन खातामा ६ लाख २५ हजार रहेको छ।

ब्याजबाट ७ लाख ९९ हजार आम्दानी गरेको कांग्रेसको लेखा परीक्षण प्रतिवेदनमा  ७६ लाख आम्दानीको स्रोत भने खुलेको छैन। त्यसलाई केवल अन्य शीर्षकमा मात्र राखिएको छ। गत आर्थिक वर्षमा व्यक्तिगत चन्दा १० हजार पाएको पार्टीले उपनिर्वाचन चुनावका लागि ५५ लाख चन्दा उठाएको उल्लेख छ। यस पटक यी तीनै शीर्षकमा केही रकम उल्लेख छैन। कोभिड चन्दा शीर्षकमा भने १ करोड सङ्कलन गरेको उल्लेख छ।

गत आर्थिक वर्षमा चुनाव र उम्मेदवारको प्रचार प्रसारमा एक करोड ५५ लाख मात्र खर्च भएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार कांग्रेससँग  पाँच करोड ५४ लाखको स्थिर सम्पत्ति रहेको छ त्यसमा जग्गा, भवन, सवारीसाधनहरू राखिएको छ।

पार्टीको साधारण जगेडा कोषमा ९ करोड ९७ लाख ४३ हजार  र निश्चित प्रयोजन कोष (भवन निर्माण) ७ करोड ५ लाख ७४ हजार रहेको छ। अन्य चालु सम्पत्तिमा ३ करोड ६८ लाख ५ हजार २८० रहेको छ। न्यून चालु दायित्वमा १ करोड ८० लाख ७० हजार  रहेको छ। खुद चालु सम्पत्ति ४ करोड ९८ लाख ७४ हजार रहेको छ।

साधारण जगेडा कोषमा आर्थिक वर्ष ०७६-०७७ गत वर्षको बाँकी १ करोड ८० लाख ८१ हजार र आर्थिक वर्ष ०७७-०७८ को ८ करोड १६ लाख ६२ हजार गरी ९ करोड ९७ लाख ४३ हजार रहेको छ। भवन निर्माण कोषमा सो आर्थिक वर्षमा पैसा थपिएन। सो कोषमा अघिल्लो आर्थिक वर्षकै ७ करोड ५ लाख ७४ हजार ९१० रहेको छ।

कांग्रेसले तिर्न पने दायित्व १ करोड ८० लाख ७० हजार रहेको छ। भवन निर्माण सम्बन्धी दायित्व २० लाख ४० हजार,  अर्थ समिति सम्बन्धित दायित्व १५ लाख र भुक्तानी दिन बाँकी १ करोड ४५ लाख २९ हजार  रहेको प्रतिवेदनमा उल्लेख छ।

कांग्रेसको लगानी मुद्दती खातामा ६ करोड ५० लाख रहेको निर्वाचन आयोगमा बुझाएको लेखा परीक्षण विवरणमा उल्लेख छ।

आय-व्यय विवरण खै भन्यो कि किन डराउँछन् दलहरू ?

स्पर्श गर्न सकिने सम्पत्तिमा जग्गा २५ लाख ४६ हजार ६००, भवन ५ करोड ११ लाख ४९ हजार १००, मेसिनरीहरु ३१ हजार, सवारी साधनहरू ३२ हजार, अफिस सामानहरू ११ लाख ३२ हजार, कम्प्युटर ८६ हजार, पुस्तकालय पुस्तक ३ हजार र फर्निचर तथा फर्निचर्स ४ लाख ६० हजार गरेर ५ करोड ५४ लाख ४३ हजार रहेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ।

अन्य चालु सम्पत्तिमा लिनुपर्ने रकम ३ करोड ४२ लाख ११ हजार ८८८, भवन सम्बन्धित पेस्कीमा  ७ लाख १६३ र अन्य सापटी तथा पेस्कीमा १८ लाख ९३ हजार २२९ रहेको छ।

कांग्रेसले आर्थिक वर्ष ०७६÷०७७मा सदस्यता शुल्कबाट ७ लाख ५० हजार ८ सय, आवधिक लेवीबाट २ करोड ५ लाख ५३ हजार १५० र क्रियाशील सदस्यता शुल्कबाट ७ करोड ११ लाख ९० हजार ९९४ उठाएको छ। दस्तुर तथा नवीकरणबाट कांग्रेसले सो आर्थिक वर्षमा ९ करोड २४ लाख ९४ हजार ९४४ उठाएको छ।

कोभिड चन्दा १ करोड ३ लाख ४१ हजार ६५७ उठाएको छ।  आइडी कार्ड बिक्रीबाट २ हजार ६५०, प्रकाशन विक्रीबाट ८ लाख ३६ हजार ४ सय गरी ८ लाख ३९ हजार ५० रुपैयाँ उठाएको छ। सो आर्थिक वर्षमा कांग्रेसले ब्याजबाट मात्रै ७ लाख ९९ हजार ५८६ आम्दानी गरेको छ। अन्य आम्दानीमा उसले ७६ लाख ३५ हजार ९८३ का हिसाब लेखा परीक्षणमा देखाएको छ। कर्मचारीको तलब भत्ता ज्यालामा खर्चमा उसले ९२ लाख ९३ हजार ८३१ देखाएको छ।

साधारण तथा प्रशासनिक खर्चमा कांग्रेसले १ करोड ७८ लाख ८८ हजार खर्च देखाएको छ। टेलिफोन तथा इन्टरनेट महसुल ४ लाख २१ हजार , अतिथि सत्कार खर्च १ लाख ५४ हजार, छपाइ तथा मसलन्द खर्च १३ लाख ४४ हजार, भ्रमण ट्याक्सी तथा गाडी भाडा २२ हजार, चिया-जलपान खर्च १७ हजार, पानी महसुल १ लाख ३१ हजार, विद्युत् महसुल ४ लाख खर्च भएको उल्लेख छ

यसै गरी, मर्मत सम्भार खर्च ३ लाख ५८ हजार, इन्धन खर्च १ लाख ५५ हजार, आर्थिक सहयोग कोरोनाको १ करोड २८ लाख ५४ हजार, कार्यक्रम खर्च ६५ हजार, खाजा तथा चिकेन खर्च १ लाख ६७ हजार, बैठक खर्च १ लाख ६२ हजार , बैङ्क चार्ज ७ सय २५, सोसलिष्ट इन्टरनेशनलको सदस्यता शुल्क ३ लाख ३१ हजार, सरसफाइ खर्च ५ हजार १ सय, पत्रपत्रिका तथा पुस्तक खर्च ३२ हजार, श्रद्धाञ्जली खर्च ३२ हजार, बिमा खर्च ३८ हजार, विविध खर्च १ लाख २ हजार, लेखा परीक्षण शुल्क ५० हजार,  पूजा खर्च १० हजार, उपचार खर्च ३ लाख १७ हजार, गार्डेन खर्च १५ हजार, केन्द्रीय समिति बैठक खर्च २ लाख, सवारी नवीकरण २ लाख २२ हजार र वेबसाइट सम्भार १ लखा ५० हजार रुपैयाँ खर्च भएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ।

१९ असार, २०७९, १५:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।