थापागाउँमा यो के बन्दैछ ? बुटिक होटेल हो कि मन्दिर !

थापागाउँमा यो के बन्दैछ ?  बुटिक होटेल हो कि मन्दिर !

काठमाडौँ : काठमाडौँको अनामनगर–हनुमानस्थान–विजुलीबजार हुँदै नयाँ बानेश्वर पुग्नुअघि आउँछ थापा गाउँ। विजुलीबजार हुँदै बानेश्वरतर्फ जाँदा दायाँ मोहडातर्फ उकालोमा अवस्थित छ, बानेश्वर ब्यांक्वेट। त्यसको छेउमैमा छ, थापा गाउँ मन्दिर।

कोभिड १९ का कारण लकडाउन सुरु हुनुअघि सानो आकारमा एउटा मन्दिर देखिन्थ्यो। मन्दिरमा बस्न पाटीजस्तो बनाइएको थियो। गाडीमार्फत वा पैदल हुँदै सो बाटो ओहोरदोहोर गर्ने अधिकांशले मन्दिर देख्दावित्तिकै ढोग्ने गर्थे। कुन देवीदेवताको मन्दिर हो भन्ने अधिकांशलाई थाहा नभए पनि बाहिरबाट हेर्दा मन्दिर कस्तो देखिन्थ्यो लकडाउन अघिसम्म सो बाटो ओहोरदोहोर गर्ने अधिकांशलाई थाहा छ। तर यति बेला सो ठाउँमा मन्दिर आकारको कुनै संरचना देखिँदैन ।

सो स्थानमा यति बेला एउटा नयाँ संरचना बनिरहेको छ। निर्माणको क्रममा सडक छेउसम्मै आउने टाँगिएका बाँस र डोरीहरू फुकालिएको छ। सो संरचना बाहिरबाट हेर्दा चाइनिज इट्टा प्रयोग गरी बनाइएको देखिन्छ।

संरचनामा प्रयोग भएका झ्याल ढोका र त्यसमा कुदिएका कलाकृतिहरू नयाँ हुन्। भवन संरचनामा आँखीझ्याल र टुँडाल राख्ने प्रक्रिया अघि बढिरहेको छ।  परम्परागत शैलीमा बनिरहेको सो संरचनामा कङ्क्रिट सामग्री प्रयोग गरिएको छ।

नयाँ बनिरहेको संरचना मन्दिर आकारको छैन। कुनै निवास वा बुटिक होटेल जस्तै देखिन्छ। हेर्दा मन्दिरजस्तो संरचना नदेखिए पनि २०७२ को भूकम्पले पुरानो मन्दिरको केही भाग भत्काएपछि साबिककै स्थानमा मन्दिर विस्तार गरिएको जानकारहरू बताउँछन्।

सो मन्दिर निर्माणको जिम्मा थापा गाउँ सुधार समितिले लिएको छ। सुधार समितिको तर्फबाट अनुगमनको जिम्मा लिएका एक व्यक्तिले पुरानै मन्दिरलाई अग्लो बनाइएको र हाल छत राख्न सुरु गरिएको र पछि छतमाथि मन्दिरको गजुर राखिने बताए।

भवनको भुईतलामा भजन मण्डल, पहिलो तलामा मन्दिर र त्यसभन्दामाथिको तला खुला राखिने उनले जानकारी दिए।

‘सुन्धारापछाडि रहेको सङ्कटा मन्दिर परिसरभित्र रहेको मन्दिर भवनको डिजाइनजस्तो बन्न छ’ उनले भने, ‘तल भजन मन्डली हुन्छ, माथि मन्दिर र त्यसभन्दा माथि ओपन नै हुन्छ ।’

उनकाअनुसार सो स्थानमा मन्दिर स्थापना गर्दा सुरुमा गणेश र सरस्वतीको मन्दिर थापना गरिएको थियो। त्यसपछि मात्र भगवतीको मन्दिर थापना गरिएको हो। करिब ४० वर्षअघि पहिलो पटक निर्माण गरिएको सो मन्दिर टोलवासीहरूले नै निर्माण गरेको उनले भनाई छ। मन्दिरको इतिहास र  निर्माणबारे थप जानकारी माग्दा उनले बताउन मानेनन्।

हाल काठमाडौँ महानगरपालिका अन्तर्गत वडा न १० मा पर्ने थापागाउँको दायाँबायाँका केही पसलमा सरस्वती नगर लेखिएको भेटिन्छ। मन्दिरबारे थप जानकारी लिन वडा कार्यालय पुग्दा त्यहाँका अधिकारीहरूले सबै जानकारी थापा गाउँ सुधार समितिलाई नै थाहा भएको बताए।

प्रदेश सरकार र नगरपालिकाको बजेटमार्फत सो मन्दिर निर्माण भइरहेको वडा १० का वडा सदस्य निरोज अर्यालले बताए।

‘त्यो मन्दिर बनिरहेको झन्डै एक वर्ष भयो। वडाले नभई प्रदेश सरकार र महानगरपालिकाको बजेटमा बनिरहेको हो’ उनले भने, ‘ मलाई थाहा भएसम्म प्रदेश सरकारले ५० लाख उपलब्ध गराएको हो। सो संरचना निर्माणको जिम्मा थापा गाउँ सुधार समितिले नै लिएको छ। डिपिआर पनि उहाँहरूकै टोलीले गर्नुभएको हो। बाँकी विवरण उहाँहरूलाई नै थाहा हुन्छ ।’

सो मन्दिर यसअघि २०२६ सालतिर बनेको र पुरानै मन्दिरलाई सुधार गरेर नयाँ मन्दिर बनाइएको थापा गाउँ सुधार समितिका अध्यक्ष दीपक थापाले बताए।

‘यसअघि विस २०२६ सालतिर बनेको जस्तो लाग्छ। पहिला भगवतीको मन्दिर थियो। अहिले पनि त्यही मन्दिर बनाइएको हो’ उनले भने, ‘मन्दिर बनाउनको लागि एक व्यक्तिले जग्गा उपलब्ध गराउनुभएको थियो। हाल मन्दिरभित्रका मूर्ति र अन्य सामानहरू तिनै व्यक्तिको घरमा राखिएको छ।’

सो मन्दिर दशैअघि निर्माण सम्पन्न भइसक्ने र दशैको अवसरमा उद्घाटन गरिनेसमेत उनले जानकारी दिए।

१४ असार, २०७९, १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।