एकीकृत समाजवादीमा माधव-झलनाथको ओली रूप, राजीनामा गर्न मन्त्रीलाई धम्की र चेतावनी 

एकीकृत समाजवादीमा माधव-झलनाथको ओली रूप, राजीनामा गर्न मन्त्रीलाई धम्की र चेतावनी 

काठमाडौँ : केपी ओलीको निरङ्कुशता विरुद्ध विद्रोह गरेर नयाँ पार्टी गठन गरेको दाबी गर्ने एकीकृत समाजवादीका नेतृत्व पार्टीको निर्णय भन्दै आफ्नै दलका सांसदमाथि निरङ्कुशता भित्र्याउन सक्रिय भएका छन्।

पार्टीकातफर्बाट सरकारमा सहभागी ४ मन्त्री फिर्ता बोलाउन पार्टीले गरेको निर्णयविरुद्ध उभिएका १० सांसदलाई शुक्रवार बसेको पोलिटब्युरो बैठकमा नेताहरूले' फिर्ता नआए भविष्यमा पार्टीबाट मन्त्री बन्न अयोग्य हुने' चेतावनी दिएर गलाउने प्रयास गरेका छन्।

नेताहरूको चेतावनीपछि ८ बुँदा मागसहित पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाउनेहरू ब्याक हुने अवस्थामा पुगेको एक नेताले दाबी गरे।

चार मन्त्रीलाई फिर्ता गर्ने पार्टीको सिफारिस विरुद्ध विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ, कृष्ण लाल महर्जन, गोपालबहादुर बम, विना देवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पत्र बुझाएका थिए।

‘आज त त्यस्तो भयो-भयो भविष्यमा पनि मन्त्रीबाट ‘डिसक्वालिफाइड’ हुने गरी वातावरण बन्दै छ। किनभने पद पाएपछि मरिगए छोड्दैन भन्ने नजिर बसाएपछि कसले बनाउँछ भोलि ?,’ एक केन्द्रीय पदाधिकारीले उकेरासँग भने, ‘एकै पटकमा विश्वास नजितेपछि अर्को पटक कसले विश्वास गर्छ?’

पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको निर्णयबाट ब्याक नहुने र निर्णय नमाने कारबाही गर्ने भन्दै ओली शैलीमै चेतावनी दिएका छन्।

‘पार्टीको सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले अनुमोदन गरेको छ। फेरि केन्द्रीय कमिटीमा यसरी कुरा उठ्नु सहज कुरा होइन,’ खनालले भने, ‘पार्टी निर्णय नमान्नेलाई पार्टीले आवश्यक कारबाही गर्छ। पुनर्विचार गर्दैनौँ।’

माधव नेपालले त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पार्टीको निर्णय कार्यान्वयन नगरे सरकारलाई नै अप्ठ्यारो पर्ने चेतावनी दिएर आइसकेका छन्।

शुक्रवारको बैठकमा सांसदको पत्रबारे कस्तो छलफल भयो भन्ने बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको भनाइबाट पनि पुष्टि हुन्छ। उनले पार्टीमा तत्काल विद्रोह हुने सम्भावनै नरहेको तर्क गर्छन्।

‘उहाँहरूले पार्टी छोड्न सक्नुहुन्न अहिले, उहाँहरूसँग छोड्ने तागत छैन। छोड्न नपर्ने हुनाले छोड्दिऊ–छोड्दिऊ भनेका हुन क्या’, ८ बुँदे ध्यानाकर्षण बारे उपाध्यक्ष पाण्डेले भने, ‘केही गर्नुपर्ने कुरा होइन, क-कसलाई कुन मन्त्रालयमा पठाउने भनेर हामीले बसेर निर्णय गर्यौँ। मै हो बसेर चिठी बनाउने। उहाँहरू गुटुटु दौडेर मन्त्री भएका होइनन्। चिठीले मन्त्री हुनुभएको हो। त्यस्तै अर्को चिठी जान्छ। त्यसैले फर्केर आउनुहुन्छ।’

उनले फिर्ता हुने-नहुने शनिवार बेलुकासम्म कुर्न पत्रकारहरूलाई आग्रह समेत गरे।

पार्टीमा जतिसुकै विवाद भए पनि पार्टीको शीर्ष नेतृत्व मन्त्रीहरू बदल्ने निर्णयमा अडिग देखिएका छन्। यसका लागि उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो पत्र कार्यान्वयन नभए सरकारलाई नै समस्या पर्नेसम्मको चेतावनी दिएर आइसकेका छन् बुधवार।

‘मन्त्री फेर्ने पार्टीको सार्वभौम कुरा हो। गठबन्धनमा पनि यो विषयमा छलफल गरेकै छ। पार्टीभन्दा मागी व्यक्ति हुँदैन। सचिवालय र स्थायी कमिटीले गरेको निर्णय आधिकारिक निर्णय हो। त्यहाँ भन्दा दायाँ बायाँ हुँदैन,’ पोलिटब्युरो सदस्य आलोक रायमाझीले उकेरासँग भने।

प्रेम आलेले ३ मिनेट समय मागेर पोलिटब्युरो बोल्दै आफू पार्टीको निर्णय स्वीकार गर्न तयार रहेको बताएका थिए। उनले ४८ घण्टाभित्रमा राजीनामा दिने बताएका थिए बैठकमा।

‘मन्त्री ज्यूले ४८ घण्टाभित्र पार्टीको निर्णय कार्यान्वयन हुन्छ, कार्यान्वयन गर्न भूमिका खेल्नु भन्नुभएको छ,’ पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘फिर्ताको निर्णयअघि जानकारी गराइएन र बजेटबारे छलफल चलिरहेको समयमा निर्णय भयो भन्ने मात्र गुनासो रह्यो।’

स्वास्थ्य मन्त्री विरोध खतिवडाले १० जना सांसदहरूले पार्टी अध्यक्ष नेपाललाई चित्त नबुझेका कुरा ध्यानाकर्षण गराएको बताए।

‘मन्त्री छाड्न तयार छौँ। शतप्रतिशत छाड्छौँ,’ उनले भने, ‘हामी मन्त्री छाड्न तयार छौँ भनेर लेखेर पनि पार्टीलाई दिइसकिएको छ।’ राष्ट्रिय सभाबाट बजेट पारित भएपछि आफूहरूले स्वतः मन्त्री छाड्ने खतिवडाले बताए।

मन्त्रीमा सिफारिस भएकाहरूमा भने पार्टीको सिफारिस छिट्टै कार्यान्वयनमा आउने आशा देखियो। संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले मन्त्री फेरबदलबारेको निर्णय छिट्टै कार्यान्वयन हुने बताए।

पार्टीको विवाद बजारमै छताछुल्ल भइसक्दा पनि उनले पार्टीमा कुनै विवाद नभएको झुटो दाबी गरे।

‘पार्टीगत रूपमा केही पनि विवाद छैन। सर्वसम्मत निर्णय हो। कार्यान्वयनमा मात्रै केही कारणले ढिलासुस्ती भएको होला’ श्रेष्ठले भने ‘स्थायी समिति बैठकमा स्वयम् दुई जना मन्त्रीज्यूहरू स्थायी समिति सदस्य विरोध खतिवडा र रामकुमारी झाँक्री उपस्थिति हुनुहुन्थ्यो। त्यहाँ कुनै पनि मतभेद भएको छैन। उहाँहरूकै उपस्थितिमा निर्णय भएको छ।’

 

 

१० असार, २०७९, २०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।