तालबाराहीमा सन्ध्याकालीन आरती : फुरुङ्ग पर्यटक

तालबाराहीमा सन्ध्याकालीन आरती : फुरुङ्ग पर्यटक

पोखरा : पर्यटकको आकर्षक गन्तव्य हो पोखरा। यहाँ आउले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ प्याराग्लाइडिङ, केबुलकार र फेवाताल नै हो।

पछिल्लो समय फेवाताल किनारमा हुने सन्ध्याकालीन आरतीले पर्यटकलाई थप आकर्षित गरेको छ। धार्मिक तथा सांस्कृतिक जगेर्ना गर्ने उद्देश्यले फेवातालको बीच भागमा रहेको तालबाराही मन्दिरको सामुन्ने बाराहीघाटमा पर्यटकलाई लक्षित गरी सुरु गरिएको सन्ध्याकालीन आरती पुजन कार्यक्रममा धार्मिक पर्यटकको आकर्षक केन्द्र बनेको छ। 

२०७५ असोज २४ गते घटस्थापनादेखि संगीतमय महाआरती पुजन फेवा किनारमा सुरु गरिएको थियो। कोभिड–१९को संक्रमण देखिएपछि पहिलो वर्ष १० महिनापछि आरती पुजन सुरु भएको थियो।

दोस्रो लकडाउनमा समेत ६ महिना आरती पूजा बन्द गरिएको थियो। सरकारले बन्दाबन्दी हटाएपछि नियमित रुपमा सञ्चालन हुँदै आएको आरतीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण देखिन थालेको छ।

हरेक साँझ शंखध्वनिका साथ आरती सुरु हुँदा पर्यटक मन्त्रमुग्ध भएर सहभागी हुन्छन्। स्तोत्र पाठसहित सुगन्धित धुप बालेर ४५ मिनेटसम्म आरती पूजा गरिन्छ।

पोखरा आउने जो–कोही पनि बाराही मन्दिर दर्शनपछि आरतीमै सहभागी हुने गर्छन्। संगीतमय आरती हेर्न प्रत्येक साँझ फेवा किनारामा पर्यटकहरु भेला हुने गर्छन्।

बाराहीघाट नजिक ‘माता तालबाराही सेवा समिति’ले आरती सञ्चालन गर्दै आएको छ। फेवाताल किनारमा साँझपख माछापुच्छ्रे, द्यौलागिरी, अन्नपूर्ण हिमालको दृश्यावोलकन गर्दै आरती हेरेर पर्यटकहरु रमाउने गरेको आरती सेवा समितिका अध्यक्ष गिरिराज अधिकारी बताउँछन्। 

फेवातालमा विभिन्न समयमा मृत्युवरण गरेका मानिसको आत्माको बैकुण्ठ बासको कामना र आत्मशान्तिका लागि दीप प्रज्वलन सहित आरती पुजन कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताए।

यसरी गरिन्छ आरती पूजा
आरतीका लागि फेवा किनारामा मण्डप बनाइएको छ। मण्डपमा पण्डितहरु एकैसाथ गीत–संगीतकै धुनमा आरती गर्ने गर्छन्। आरती पूजामा तन्त्रदेखि सामान्य पूजा र सांस्कृतिक उत्थानका उच्चारण हुने गर्छ। 

आरतीमा बलिरहेको दिपक वा आरतीको थाली आराध्य समक्ष एक विशेष विधिले घुमाउने गरिन्छ। आरतीको टुकी घ्यु, तेल वा कपुरबाट बनाइएको हुन्छ। यसमा वैकल्पिक रूपबाट घ्यु, धुप तथा सुगन्धित पदार्थहरुको पनि मिश्रण गरिएको हुन्छ। 

यसका साथै संगीत (भजन) तथा नृत्य पनि गरिन्छ। ठूल्ठूलो आरती जसमा आगोको डल्लो जलिरहेको हुन्छ। 

हरेक साँझ शंखध्वनिका साथ आरती सुरु हुँदा पर्यटक मन्त्रमुग्ध भएर सहभागी हुन्छन्। स्तोत्र पाठसहित सुगन्धित धुप बालेर ४५ मिनेटसम्म आरती पूजा गरिन्छ। आरतीमा कर्ता बस्न चाहनेलाई निश्चित शुल्क लिने गरिन्छ। सोही शुल्क र उपस्थित भक्तजनको दानबाट दैनिक आरतीको खर्च व्यवस्थापन हुँदै आएको छ। 

तीन जना पण्डितले कला–कौशलसहित तालबाराही मन्दिरअघि फेवाताललाई पृष्ठमूमिमा पारेर आरती गर्छन्। त्यस क्रममा शिव ताण्डव नृत्य पनि देखाइन्छ। भजन–कीर्तन, टीका र प्रसाद ग्रहणसहित उल्लासमय वातावरणमा आरती पूजा गरिन्छ। 

आरतीमा नियमित सहभागी हुँदै आएका पोखराका प्रेमनारायण लामिछानेले धार्मिक आस्था र विश्वासका करण नियमित रुपमा सहभागी हुँदै आएको बताए। उनले भने, ‘फेवा किनारामा साँझ पौने घण्टा हुने आरतीमा कसरी समय बित्छ पत्तै हुँदैन। आरतीमा सहभागी भएपछि मन आनन्दित र पुलकित हुन्छ। आत्मा प्रफुल्ल हुन्छ।’

सन्ध्याकालीन आरतीमा पहिलो वर्षमा नै ४० हजार पर्यटकले अवलोकन गरेको समितिका अध्यक्ष अधिकारीले बताए। आरतीमा नेपालीपछि भारतीय पर्यटकहरुको समेत उल्लेख्य सहभागिता रहने गर्छ।

दैनिक रुपमा ५ हजार रुपैयाँका दरले हुने खर्च आरतीमा सहभागी भक्तजनको दान–दक्षिणा र अन्य दाताहरुको सहयोगबाट व्यवस्थापन गरिँदै आएको उनले बताए। 

लेकसाइडका पर्यटन व्यवसायी शिव थापाले पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि फेवातालको दृश्यावलोकन मात्र नभई आरती आध्यात्मिक र धार्मिक रुपमा मनलाई शान्त पार्ने उत्कृष्ट गन्तव्य बनेको बताए।

तालबाराही मन्दिरमा सन्ध्याकालीन आरती पूजा सुरु गरिएपछि धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको उनको भनाइ छ। 

दिउँसो मात्र पर्यटकको चहलपहल हुने फेवातालमा सन्ध्याकालीन आरती पूजाले साँझ पनि भीड लाग्ने गरेको व्यवसायी थापाले बताए।

यस्तो छ, आरतीको विधि
आरती गर्ने बेलामा भक्तहरुको मनमा पञ्चप्राणका साथै ईश्वरको आरती गरिरहेको भावना हुनुपर्छ। घ्युको ज्योति जीवको आत्मा ज्योतिको प्रतीक मानिन्छ।

आरती प्रायः दिनमा एकदेखि पाँच पटकसम्म गर्न सकिन्छ। धार्मिक समारोह एवं पर्वमा पूजाको अन्तमा आरती गरिन्छ। एउटा आरतीको थालीमा शुद्ध घ्यु लिएर त्यसमा केही बिजोर संख्या जस्तै ३, ५ वा ७ वटा टुकी जलाएर आरती गरिन्छ।

पाँच वटा टुकीबाट आरती गर्ने प्रचलन रहेको छ। जसलाई पञ्च प्रदीप पनि भनिन्छ। धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार आरती पाँच प्रकारले गर्न सकिन्छ। पहिलो दीपमालाबाट, दोस्रो जलबाट भरिएको शंख, तेस्रो सफा कपडा, चौथो आँप वा पिपल पात र पाँचौ साष्टांग अर्थात् शरीरको पाँच वटा भाग (मस्तिष्क, हृदय, काँध, हाथ र घुँडा) बाट गर्न सकिन्छ। 

आरतीको थाली वा दियोको इष्ट देवको प्रतिमा सामुन्ने माथिबाट तल गोलाकार घुमाउने गरिन्छ। यसका साथै आरती गान पनि समूहमा गाइन्छ।

आरती भएपछि पण्डित वा आरती गर्ने व्यक्तिले दीपलाई उपस्थित भक्तजनहरुको समूहमा घुमाउने गरिन्छ। श्रद्धालुहरुले आफ्नो दुवै हातको तल गरेर घुमाउँछन्। साँचो अर्थमा यसको उद्देश्य इश्वरप्रति आफ्नो समर्पण वा प्रेम दर्शाउनु हुन्छ।

आरतीको थाली पीतल, तामा, चाँदी वा सुन लगायतको धातुबाट बनेको हुन्छ। यसमा मुछिएको वस्तुमा आँटा, धातु, गिलो माटो लगायतको दियो राखिएको हुन्छ। दियो पञ्चमुखी, सप्तमुखी, अधिक विषम संख्या मुखी पनि हुनसक्छ।

यसमा तेल वा शुद्ध घ्युद्वारा कपासको बत्तीबाट जलाइन्छ। बत्तीको स्थानमा कपुर पनि प्रयोग गर्न सकिन्छ। आरतीको थालीमा दीप, पूजाको फलफूल, धुप अगरबत्ती आदि पनि राखिएको हुन्छ।

३१ जेठ, २०७९, ०७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।