जसपामा बाबुराम-उपेन्द्र सम्बन्ध : न मधुर मिलन, न बैधानिक डिभोर्स

जसपामा बाबुराम-उपेन्द्र सम्बन्ध : न मधुर मिलन, न बैधानिक डिभोर्स

काठमाडौँ : तत्कालीन मधेसी जनअधिकार फोरमको एक समूह जनता समाजवादी पार्टीसम्म आइपुग्दा वैचारिक रूपमा दल पूर्व सङ्घीय समाजवादी, राजपाको मात्र नभई पूर्व फोरम समूह र पूर्व नयाँ शक्ति समूहको ककटेल बनेको छ। त्यही ककटेल विचारको प्रभाव विवादसम्म पुग्दा स्थानीय तहको निर्वाचन सकिएको एक महिना लाग्दा सम्म पनि उनीहरूले समीक्षा बैठक समेत राख्न सकेका छैनन्।

जसपाका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई अनि अध्यक्ष उपेन्द्र यादव समूहबिच स्थानीय तह निर्वाचन अगाडि नै विवाद चर्किएको थियो। तर निर्वाचनको मुखमा विवाद चर्काउँदा घाटा हुने भन्दै त्यसलाई निर्वाचन नसकिएसम्म पेन्डिङमा राखियो। चुनाव सकिएन मात्रै पार्टीले आशा गरे अनुसारको परिणाम पनि ल्याएन।

यसले आगामी सङ्घीय निर्वाचनसम्म प्रभाव पार्ने प्रस्टै छ। त्यसैले अहिले नै बाबुराम समूहले यादवविरुद्ध मोर्चा कस्न थालिसकेको छ। उनीहरूले यादवलाई पार्टीमा निरङ्कुशता लादेको भन्दै आएका छन्।

‘अर्को निर्वाचन (सङ्घीय) सम्म पार्टी सग्लो रहन्छ कि रहँदैन भन्न नसकिने अवस्था छ। अध्यक्ष उपेन्द्र जीको स्वेच्छाचारितामा पार्टी रहन सक्दैन,’ जसपाका एक पदाधिकारीले उकेरासँग भने।

उता यादव पनि बाबुराम समूहको सम्भावित विद्रोहबाट हुनसक्ने घाटा पुरा गर्ने रणनीतिमा लागिसकेका छन्। यसका लागि मधेसका साना दलहरूसँग एकता मात्रै हैन उनले यो बिचमा जसपाबाट अलग भएर गएको लोकतान्त्रिक समाजवादी पार्टीसँग समेत एकताको छलफल अगाडि बढाएका छन्। उनले आइतबार राजपा लोकतान्त्रिकसँग त एकता नै गरे बाबुरामविना।

असार १ मा विधान अधिवेशन होला !

यस अगाडि नै पार्टीभित्रको विवाद मिलाउन असार १ गते विधान अधिवेशन गर्ने सहमति भइसकेको छ। तर त्यसको तयारी छैन। पार्टीको अन्तरिम विधानमा दुईजना अध्यक्ष रहने प्रावधान छ। एक जना अध्यक्ष महन्थ ठाकुर लोसपा गठन गरेर हिडेपछि अहिले पार्टीमा उपेन्द्र मात्रै अध्यक्ष छन्।

एक पक्षले कि विधान अनुसार दुई अध्यक्ष हुनुपर्यो या विधान संशोधन गर्नुपर्यो भनेपछि विधान अधिवेशनको मिति तय भएको थियो।

भट्टराई पक्ष दुई अध्यक्षात्मक प्रणालीको पक्षमा देखिएका छन्। उनी जसपालाई सबै समूहको पार्टी भएको सन्देश दिन मधेस, पहाड र जनजातिबाट एक-एक अध्यक्ष बनाउनुपर्ने पक्षमा छन्। तर यादव भने एक अध्यक्षात्मक प्रणालीको पक्षमा छन्।

आफ्नो योजना अनुसार पार्टीको संरचना बनाउन अहिले दुवै समूह समूहगत भेलामा सक्रिय छन्। तर शीर्ष नेता भेला भएर छलफल गर्ने वातावरण अझैँ बनेको छैन। यसको असर सत्ता गठबन्धनमा समेत परिसकेको छ।

सङ्घीय निर्वाचनमा अहिलेको सत्ता गठबन्धन कायम रहन्छ भन्ने उकेराको प्रश्नमा एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘यो बिचमा केही परिवर्तन हुनसक्छ। केही पार्टीहरू मर्ज हुन सक्छन्। केही पार्टीहरू फुट्न सक्छन्। त्यसले गर्दा मङ्सिरसम्म पुग्दा चुनावको गणित फरक हुनसक्छ।’

उनले कुनै दलको नाम नलिए पनि विभाजित हुनसक्ने जसपा नै हो। अनि एकीकृत हुनसक्ने जसपाबाट विभाजित हुने उपेन्द्र र लोसपा।

अध्यक्ष यादवलाई दबाब दिन सङ्घीय परिषद् अध्यक्ष भट्टराई पक्षले पार्टीभित्र हस्ताक्षर अभियानसमेत चलाएको थियो। सो हस्ताक्षर पार्टी विभाजन भएका खण्डमा कित्ता क्लियर गर्न सहज हुने देखिन्छ।

बहुमत सदस्यको हस्ताक्षरको दबाबमा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समिति र केन्द्रीय समितिको बैठक राख्न बाध्य भए। पार्टीमा एकल अध्यक्ष हुन यादवले संस्थागत निर्णय गर्न अध्यक्ष यादव, सङ्घीय परिषद् अध्यक्ष भट्टराई र वरिष्ठ नेता अशोक राईलाई राखेर हेडक्वार्टर बनाए।

स्थानीय तहको टिकटमा हस्ताक्षर गर्न वरिष्ठ नेता राईलाई अख्तियारी दिएको थियो र विवाद निर्वाचनपछि टुङ्ग्याउने सहमति थियो। तर अहिले अध्यक्ष यादव बैठक बोलाउन भट्टराई पक्षका नेताहरूको मागलाई तत्काल सुनुवाइ गर्ने पक्षमा देखिएका छैनन्।

‘फोरमदेखि जसपासम्म उपेन्द्रजीको निरङ्कुशता र स्वेच्छाचारिताको कारण पार्टी ८ पटकसम्म विभाजन भएको छ। उहाँ अहिले पनि सुध्रनु भएको छैन। पार्टीमा एकलौटी गर्न छाड्नुभएको छैन,’ भट्टराई पक्षका एक नेताले उकेरासँग भने, ‘चुनावी समीक्षा र मुल्याकंन गर्न समेत बैठक राख्न चाहेका छैनन्।’

यादव पक्षका नेता भने पार्टी भित्रको विवादलाई सामान्य रूपमा मान्नुपर्ने तर्क गर्छन्। ‘नेतृत्वबिच हुने छलफलमा सबै समाधान हुन्छ। अहिले बजेटको छलफल चलिरहेको छ सांसद सबै संसद्मा व्यस्त छन्। विधान अधिवेशनको मिति छिट्टै तय हुन्छ, जसपाका सांसद प्रमोद शाहले उकेरासँग भने, ‘जीवन्त पार्टीमा विवाद भइहाल्छ र त्यसका समाधान पनि हुन्छ।’

पार्टीका नेता मोहम्मद इस्तियाक राईले अहिले पार्टीभित्र देखिएको विवादको मूल कारक अध्यक्ष यादवको एकलौटी निर्णय भएको बताउँछन्। मन्त्री परिवर्तन गर्न गुटगत भेला गरिएको र पार्टी फुटाउने कुरामा सत्यता नरहेको उनले दाबी गरे।

अध्यक्ष यादवले पार्टीलाई व्यक्तिगत रूपमा सञ्चालन गरेकाले स्थानीय तहको निर्वाचनमा त्यसको असर देखिएको उनको टिप्पणी छ।

‘निर्वाचनको समीक्षा गर्न पनि अध्यक्ष तयार हुनुभएको छैन। पार्टीलाई एक व्यक्तिको आधारमा नभएर सामूहिकतामा चलाउनु आवश्यक छ’, राईले भने।

 ब्याकअपमा दलको नाम तयार छ

भट्टराई पक्षले ‘ब्याकअप’को रूपमा गत फागुनमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको थियो। समाजवादी विद्यार्थी युनियनका पूर्व विद्यार्थी नेता दीपक लामिछाने नाममा नयाँ पार्टीका अध्यक्ष छन्।

‘गत फागुन ३–४ मा हामीले समावेशी लोकतान्त्रिक पार्टी दर्ता गरेका हौँ,’ लामिछानेले उकेरासँग भने। पार्टीको पृष्ठभूमि र अवस्थाबारे उकेराको जिज्ञासामा उनले केही बताउन चाहेनन्। ‘म अहिले बाहिर छु, यसबारे पछि कुरा गरौँला,’ उनले भने। 

२९ जेठ, २०७९, २१:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।