सौन्दर्य प्रतियोगिताको आवरणमा शङ्कर आर्टका सञ्चालकले प्रतियोगीलाई यौन दुर्व्यवहार गरेको आरोप

सौन्दर्य प्रतियोगिताको आवरणमा शङ्कर आर्टका सञ्चालकले प्रतियोगीलाई यौन दुर्व्यवहार गरेको आरोप

काठमाडौँ : अर्की एक युवतीले सौन्दर्य प्रतियोगिताको आवरणमा भएको यौन दुर्व्यवहारको घटना सार्वजनिक गरेकी छिन्। झापाको दमकमा शङ्कर आर्ट फाउन्डेसनले गरेको मिस्टर एन्ड मिस कलेज २०२२ को एक प्रतियोगीले फाउन्डेसनका निर्देशक लालबहादुर शङ्करले च्याटमा पठाएका सन्देशसहित उनले गरेको दुर्व्यवहारको घटना सार्वजनिक गरेकी हुन्।

फेसबुक मेसेन्जर र ह्वाट्सएपमा भएका कुराकानीमा शङ्करले प्रतियोगीलाई विजेता बनाइदिए बापत मलाई के हुन्छ भन्दै अप्रत्यक्ष यौन सम्बन्धको प्रस्ताव राखेको देखिन्छ। उनले शङ्करले मेसेन्जरमार्फत यौन दुर्व्यवहार गरेको सामाजिक सञ्जालमा लेखेकी छिन्।

शङ्करले प्रतियोगिता जित्ने हो भने म सँग नजिक हुनुपर्छ, मैले मिलाएर जिताए भने मलाई के दिन्छौँ भन्ने मेसेज पठाएको देखिन्छ। उनले शङ्करले पठाएको मेसेजले आफूलाई यौन दुर्व्यवहार भएको अनुभव गरेको भन्दै भोलिका दिनमा अन्य प्रतियोगीले आफूजस्तै दुर्व्यवहार भोग्नु नपरोस् भनेर घटना सार्वजनिक गरेको उल्लेख गरेकी छिन्।

२०२२ मे १० मा प्रतियोगिताको फाइनल भएको थियो। आयोजकले यो बिचमा मिस्टर एन्ड मिस एसइई २०२२ को आयोजनाको घोषणा गरेको थियो।

१२ जेठ, २०७९, १५:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।