पोखराको १५औं मेयरका रुपमा उदाएका आचार्यको यस्तो छ विगत

पोखराको १५औं मेयरका रुपमा उदाएका आचार्यको यस्तो छ विगत

पोखरा : भौगोलिक हिसाबले देशकै ठूलो महानगरपालिका पोखरामा एकीकृत समाजवादीका धनराज आचार्य पन्ध्रौं मेयरका रुपमा उदाएका छन्।

गठबन्धनका तर्फबाट पोखराको मेयरको उम्मेदवार बनेका आचार्य वैशाख ३० मा सम्पन्न निर्वाचनमा प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाभन्दा ६ हजार ४५ मत बढी ल्याएर विजयी भएका हुन्। आचार्यले ५८ हजार ८ सय ९३ मत पाएका छन् भने थापाले ५२ हजार ८ सय ४८ मत पाएका छन्।

आचार्य एकीकृत समाजवादीका कास्की जिल्ला अध्यक्षका साथै पार्टीको केन्द्रीय सदस्य समेत हुन्। एमाले विभाजन भएसँगै माधव नेपाललाई साथ दिएका आचार्यको कम्युनिस्ट पार्टीमा आबद्धता चार दशक भन्दा लामो छ। २०२६ सालमा कास्कीको भरतपोखरीमा जन्मिएका आचार्यले २०३९ सालमा विद्यालयस्तरमै अनेरास्ववियु प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेका थिए। 

उनी क्याम्पस स्तरको अध्यायनका लागि पृथ्वीनारायण क्याम्पसमा २०४४ सालमा भर्ना भएसँगै एमाले निकट अनेरास्ववियु प्रारम्भिक कमिटीमा आद्ध भएर सक्रिय राजनीतिलाई अगाडि बढाएका थिए। 

नेता आचार्य २०४५ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, २०४६ सालमा सचिव र २०४७ सालमा अध्यक्ष बनेका थिए। 

नेता आचार्यले विद्यालय, क्याम्पस, जिल्ला हुँदै २०४८ सालमा अनेरास्ववियु गण्डकी अञ्चल अध्यक्षको जिम्मेवारी पाएका थिए। त्यसैगरी उनी २०४९ सालमा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य बनेका थिए। आचार्य २०५१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए। 

त्यसैगरी उनले २०५० देखि २०५४ सालसम्म संगठनको पश्चिमाञ्चल प्रमुख, २०५४ देखि २०५८ सालसम्म केन्द्रीय सचिवालय सदस्य भएर जिम्मेवारी निर्वाह गरेका थिए। 

त्यसैगरी आचार्यले २०६० सालमा एमाले सम्बद्ध ब्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय वाणिज्य संघ केन्द्रीय कमिटी अध्यक्ष भएर समेत उनले जिम्मेवारी निर्वाह गरेका छन्। त्यस्तै उनी नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सचिव समेत बनेका थिए।

राजनीतिसंगै आचार्यले व्यापार-व्यवसायलाई सँगै अगाडि बढाएका थिए। अहिले उनीले दर्जनौं व्यवसायमा करोडौं लगानी गरिरहेका छन्। २०५४ सालमा एमाले विभाजित भएपछि मालेतिर लागेपछि उनले व्यापार ब्यवसायलाई प्राथमिकता दिएका थिए। 

आचार्यले नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थायी कमिटी सदस्य, एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य र नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्य भएर देशव्यापी संगठन विस्तारको काम समेत गरेका थिए।

त्यसैगरी समाजसेवाको अग्रणी संस्थाका रुपमा चिनिएको लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बी १ नेपालको गभर्नर समेत बनेर काम गरे।

त्यसैगरी उनले २०७४ मा रवीन्द्र अधिकारीको र त्यसपछि भएको उपनिर्वाचनमा रवीन्द्रकी धर्मपत्नी विद्या भट्टराईको चुनावी कमाण्ड समेत भएर काम गरेका थिए।

आचार्यले एमालेमा रहदा अहिलेका प्रतिस्पर्धी कृष्ण थापालाई २०५४ सालमा मेयर उमेदवार बन्दा अग्रमार्चामा रहेर सहयोग गरेका थिए। कास्की क्षेत्र नम्बर २ को ‘क’बाट प्रदेश सांसद बन्दा पनि नेता थापालाई आचार्यले महत्वपूर्ण सहयोग गरेका थिए। 

यस्तो छ पोखराका मेयरको इतिहास 
नगर पञ्चायतको रुपमा २०१६ सालमा गठन भएको पोखरामा यसअघि १४ जना व्यक्ति मेयर बनेर कार्यकाल सकाएका छन्। पोखराको पहिलो अर्थात् संस्थापक मेयर बनेर शिवबहादुर थापाले २०१६ देखि ०१८ सम्म काम गरेका थिए। 

त्यसैगरी दोस्रो कार्यकालका लागि नगेन्द्रबहादुर रायमाझीले २०१९ देखि ०२४ सम्म जिम्मेवारी सम्हालेका थिए। २०२४ देखि २०२८ सम्म अम्बरबहादुर कार्की मेयर बन्ने अवसर पाए।

२०२८ देखि २०३१ सम्म रुद्रबहादुर कार्कीले मेयर बनेर पोखराको विकासमा इँटा थप्ने काम गरे भने २०३१ देखि ०३२ सम्म दीलिपकुमार पालिखे र त्यसपछिको ७ महिना रमेशबहादुर भट्टराई मेयर बनेका थिए।

त्यस्तै २०३२ देखि २०३८ सम्म गणेश शेरचनले मेयर बनेर पोखराको बागडोर सम्हालेका थिए। २०३८ देखि ०३९ सम्म श्रीप्रसाद गुरुङ, २०३९ देखि ०४१ सम्म उत्तमबहादुर पुन, २०४१ देखि २०४६ सम्म सूर्यबहादुर केसीले मेयरका रुपमा काम गरेका थिए। 

२०४९ पछि भने स्थानीय निकायको रुपमा निर्वाचनमा पहिलो मेयरको रुपमा कांग्रेसका भोला थापा निर्वाचित भएका थिए। २०५४ मा अहिलेका एमाले उम्मेदवार कृष्ण थापा नै मेयर भएर काम गरिसकेका छन्। 

त्यसपछि २०६० सालमा हर्कबहादुर गुरुङलाई राजाले मेयरमा नियुक्त गरेका थिए। २०६२ सालमा तत्कालीन ७ दलको बहिस्कारका वावजुद राजाले गरेको चुनावमा भीमसेन थापा मेयर बनेका थिए।

२०७४ मा पोखरा महानगरपालिका बनेपछि एमालेका मानबहादुर जिसी १४औँ मेयरका रुपमा निर्वाचित भएका थिए। जिसीको ५ वर्षे कार्यकाल सकिएपछि अहिले सम्पन्न निर्वाचनपछि १५औँ मेयरका आचार्यको आगमन भएको छ।

११ जेठ, २०७९, ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।