गण्डकी प्रदेशका २८५ मतदान केन्द्र अति संवेदनशील

गण्डकी प्रदेशका २८५ मतदान केन्द्र अति संवेदनशील

पोखरा : गण्डकी प्रदेशमा स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचनका लागि प्रदेशका ११ वटा जिल्लामा निष्पक्ष धाँधलीरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

प्रदेशका सबै जिल्लामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी पूरा भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रदेशमा १ हजार २५३ मतदान स्थल अन्तर्गत २ हजार ३ सय मतदान केन्द्र रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए ।

त्यसमध्ये २८५ मतदान केन्द्र अति संवेदनशील देखिएकाले आवश्यक सुरक्षा प्रबन्ध गरिएको उनले बताए। प्रदेशमा ४२२ मतदान केन्द्रको सुरक्षा अवस्था सामान्य रहेको छ भने ५४६ मतदान केन्द्र संवेदनशील रहेकाले केन्द्रको अवस्था अनुसारको सुरक्षा व्यवस्था गरिएको छ। अति संवेदनशील मतदान स्थलमा गोरखामा ६७, स्याङ्जामा ५३ र कास्कीमा ५० रहेका छन् । यसैगरी संवेदनशीलमा गोरखाका १३७, लमजुङका ८० र स्याङ्जाका ७३ मतदान स्थल रहेका छन्।

भौगोलिक रूपमा देशकै ठूलो पोखरा महानगरसमेत रहेको कास्कीमा १५० मतदान स्थलमध्ये ५० मतदान स्थल अतिसंवेशनशीलको रूपमा पहिचान गरिएको निर्वाचन सुरक्षा समितिले जनाएको छ। सुरक्षा समितिले पोखरा महानगरका वडामा रहेका मतदान स्थललाई सामान्यमा राखेको छ। त्यसैगरी गाउँपालिकामा रहेका स्थल अतिसंवेदनशील र संवेदनशीलमा विभाजन गरेर सुरक्षाको व्यवस्था मिलाएको छ।

सुरक्षा समितिले भौगोलिक अवस्था, यस अधिका राजनैतिक दलको क्रियाकलाप लगायतलाई विचार गरेर मतदान स्थलको वर्गीकरण सहित सुरक्षा व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका कास्कीका डिएसपी एवं प्रवक्ता सुन्दर तिवारीले बताए। कास्कीका सबै मतदानस्थितको सुरक्षाका भित्री घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहने छन् भने  बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको छ।

निर्वाचन सुरक्षाका लागि कास्कीमा २ हजार ३ सय ७५ सुरक्षाकर्मी परिचालन गरिएको डिएसपी तिवारीले बताए। कास्कीका १५० मतदान स्थलमा ३३६ वटा मतदान केन्द्र रहेका छन्। पोखरा महानगरमा ९८ मतदान स्थल अन्तगत २४२ मतदान केन्द्र, अन्नपूर्ण गाउँपालिकामा १५ मतदान स्थल अन्तरगत २६ मतदान केन्द्र र रुपा गाउँपालिकामा ८ मतदान स्थलमा अन्तरगत १८ मतदान केन्द्र तोकिएको छ।

त्यसैगरी मादीमा १७ मतदान स्थल अन्तरगत २५ केन्द्र र माछापुच्छ्रे गाउँपालिकामा १२ मतदान स्थल अन्तरगत २५ मतदान केन्द्र रहेका छन् । कास्कीमा एउटा मतदान स्थलमा ६ वटासम्म मतदान केन्द्र रहेका छन्।

पोखराको मतदान केन्द्र हाँक्दै महिला 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पोखरा महानगरको वडा नम्बर ६ बैदाममा रहेको अन्नपूर्ण आधारभूत विद्यालयमा रहेका मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ। त्यस केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस मतदान केन्द्रमा जिल्ला अदालत शाखा प्रमुख सविता ढुंगानालाइ मतदान अधिकृतका रूपमा खटाइएको हो। त्यसैगरी प्रदेश निर्वाचन कार्यालय नायब सुब्बा शर्मिला रानाभाटलाई सहायक मतदान अधिकृतका रूपमा खटाइएको छ।

पोखरामा रहेका २४४ मतदान केन्द्रमध्ये अन्नपूर्ण आधारभूत विद्यालयमा रहेको केन्द्रमा अधिकृतदेखि सबै महिला कर्मचारी खटाइए हो। निर्वाचनका लागि कास्कीमा २ हजार ६ सय ९५ जना कर्मचारी र स्वयंसेवक खटाइएको छ। एउटा मतदान केन्द्रमा ५ जना कर्मचारी र ३ सय स्वयंसेवक खटाइएको छ।

२९ बैशाख, २०७९, १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।