पोखरा महानगर: केन्द्रीय नेताको आडमा चुनाव जित्ने आचार्य र थापाको दाउ

पोखरा महानगर: केन्द्रीय नेताको आडमा चुनाव जित्ने आचार्य र थापाको दाउ

पोखराः भौगोलिकरूपमा देशकै ठूलो महानगरपालिका पोखरामा पाँच दलीय गठबन्धन, एमाले, राप्रपा लगायतका दलबाट मेयरमा ११ जनाले उम्मेदवारी दिएका छन्। महानगरका मुख्य प्रतिस्पर्धी गठबन्धन र एमालेले चुनावी रौनक बढाउन पार्टीका केन्द्रीय नेताहरूलाई डाकेर पोखरामा विशाल चुनावी सभा समेत गरिसकेका छन्। 

कास्कीमा पाँच वटा पालिका छन्। पाँचै पालिकामा गठबन्धन र एमाले सहित अन्य दल चुनावी प्रतिस्पर्धामा होमिएका छन्।

गठबन्धनले आइतबार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई डाकेर चुनावी सभा गरेको थियो। 

भोलिपल्टै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ल्याएर एमालेले पनि आमसभा गरेको थियो। 

गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। अन्य दलहरूले पनि चुनाव केन्द्रित प्रचारप्रसारदेखि विभिन्न कार्यक्रमहरू गर्दै आएका छन्।

०७४ को निर्वाचनमा कास्कीमा पोखरा महानगरसहित चार वटा पालिकामा एमालेका उम्मेदवारहरू निर्वाचित भएका थिए। कांग्रेसले अन्नपूर्ण गाउँपालिकामा मात्र विजय हासिल गरेको थियो।

यस पटक एमालेको रणनीति यसअघि जितेको पालिका सुरक्षित गर्नु हो। 

यता पाँच पार्टीबीचको गठबन्धन भएकाले विगतमा एमालेले जितेका पालिकाहरूमा जित हासिल गर्ने योजनामा गठबन्धनका दलहरू पनि लागिपरेका छन्। 

दलहरू मौन अवधि सुरु हुन लाग्दा चुनाव जित्न विभिन्न रणनीति अपनाउँदै छन्। मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले पार्टीका उम्मेदवारहरूले भित्रभित्रै सम्पर्क बढाउने, चिनेजानेका मार्फत छरछिमेकमा मत माग्ने र टेलिफोन सम्पर्क गर्ने लगायतका कार्य गर्न थालेका छन्। 

यता एमालेले ०७४ मा स्मार्टसिटी, मनोरेल लगायतका सपना बाँडेर निर्वाचन जिते पनि सोअनुरूप कुनै काम गर्न नसकेपछि अहिलेका उम्मेदवारले जनताका यिनै गुनासाको जवाफमा समय खर्चिनु परेको छ।

यसअघिको निर्वाचनमा पोखराको मेयर-उपमेयरसहित दुईतिहाइ वडाहरूमा जितेको एमालेलाई मेयर मानबहादुर जिसीको असफलता घाँडो भइरहेको छ।

एमालेका मेयर उम्मेदवार कृष्णबहादुर थापा र उनीसँगै चुनावी घरदैलोमा रहेकी उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले पनि आक्रोशलाई शान्त पार्ने प्रयास गरिरहेका छन्। 

उपमेयर गुरुङ यसअघि पनि पोखराको उपमेयरमा निर्वाचित भएकी थिइन्। उनी पुनः उम्मेदवार बनेकी हुन्।

यता, गठबन्धनका मेयरका उम्मेदवार धनराज आचार्य एकीकृत समाजवादीका हुन्। उनी पार्टी विभाजनपूर्व एमालेमै रहेकाले उनले एमालेका मत तान्ने त्रास थापालाई छ।

त्यसैले थापा, यो उम्मेदवारी नै आफ्नो अन्तिम उम्मेदवारी भएको भन्दै मत माग्न बाध्य भएका छन्। थापालाई धनराजले एमालेकै मत तान्ने चिन्ताले सताएको प्रष्टै देखिन्छ। 

अर्को तर्फ, गण्डकी प्रदेशमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्र गुट चलाएका छन्। 

उनी अधिकारी निकट भएकाले पृथ्वीसुब्बा समूहले अन्तर्घात गर्ने चिन्तामा थापा देखिन्छन्। उता, पोखराको मेयरको टिकट खोसिएका नेता दीपक पौडेल पक्षले समेत आफूलाई हराउन लाग्ने त्रास थापामा देखिन्छ।

आचार्यले पनि एमालेले विगतमा गरेको बेइमानीलाई चुनावी मुद्दा बनाएका छन्। आचार्यलाई उपमेयर कोपिला रानाभाटले समेत साथ दिइरहेकी छिन्।

कास्कीका अन्य दलहरूले पनि विगतमा एमालेबाट विजयी भएका मेयर जिसीले गरेको विभिन्न बदमासीलाई जोडतोडले उठाइरहेका छन्। 

आचार्यले यता पोखरेलीलाई आफू निर्वाचित भएदेखि एक वर्षभित्र गर्ने कामको कार्ययोजना समेत प्रस्तुत गरेर आश्वस्त पर्ने प्रयाय गरेका छन्।

यस्तो छ कास्कीको विगत
कास्कीमा एउटै दलले लगातार चुनाव जितेको इतिहास छैन। ०४९ को स्थानीय निर्वाचनमा पोखराको प्रमुखमा कांग्रेसका भोला थापाले चुनाव जितेका थिए। उपमेयरमा कांग्रेसकै नरेसशंकर पालिखेले चुनाव जितेका थिए। 

तत्कालीन पोखरा उपमहानगरका १८ वडामध्ये ११ वटामा कांग्रेस र ६ वटा एमालेले जित हासिल गरेको थियो। एउटा वडामा राप्रपा विजयी भएको थियो।

०५४ मा एमालेका कृष्णबहादुर थापा विजयी भए। उपमेयरमा एमालेकै मानबहादुर गुरुङ विजयी भएका थिए। त्यसबेला पोखराका १८ वडामध्ये ९ वडा कांग्रेसले जितेको थियो भने एमालेले ७ वडा मात्रै जितेको थियो। २ वडामा राप्रपा विजयी भएको थियो।

०७४ मा भएको स्थानीय निर्वाचनमा एमालेले महानगरका मेयर, उपमेयरसहित ३३ वडामध्ये २२ वटा वडा अध्यक्ष जितेको थियो। 

कांग्रेसले महानगरका ११ वटा वडामा मात्र जित हासिल गरेको थियो।

पोखरामा मतदाता कति?
पोखरा महानगरपालिकामा मतदाताको संख्या दुई लाख सात हजार ७०५ रहेको छ। ०७४ मा पोखरामा एक लाख ६८ हजार ६७ मतदाता थिए। 

यसअघिभन्दा अहिले पोखरामा ३९ हजार ६३८ जना मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ। ०७४ को स्थानीय निर्वाचनमा पोखरामा एक लाख २५ हजार ९३२ अर्थात् ७४.९३ प्रतिशत मत खसेको थियो।

यसअघिको अंक गणित यस्तो छ

०७४ को निर्वाचनमा पोखराको मेयरमा एमालेका मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए। मतान्तर साढे १३ हजार मतको थियो।

उपमेयरमा एमालेकी मञ्जु गुरुङले ५६ हजार ४४८ मत ल्याएर विजयी भइन्। प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन्। 

माओवादीले मेयरमा कांग्रेसलाई सघाएकाले उपमेयर गोमा ढकाललाई उम्मेदवार बनाएको थियो। ढकालले उपमेयरमा ८ हजार ७९६ मत ल्याएर तेस्रो भएकी थिइन्।

गत निर्वाचनमा पोखरा महानगरका ३३ वडामध्ये एमालेले २२ र कांग्रेसले ११ वडामा वडाध्यक्ष जितेको थियो। तर, अहिले एमाले विभाजन भएको छ।

२७ बैशाख, २०७९, १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।