कांग्रेसका ‘बागी’ उम्मेदवार कार्कीले धनराजलाई समर्थन गर्दै फिर्ता लिए उम्मेदवारी

कांग्रेसका ‘बागी’ उम्मेदवार कार्कीले धनराजलाई समर्थन गर्दै फिर्ता लिए उम्मेदवारी

पोखरा : पोखरा महानगरपालिकामा मेयर पदमा‘ बागी’ उम्मेदवारी दिएका काँग्रेस नेता विमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका छन्। पार्टीले पोखराको मेयर गठबन्धन दलमध्येको एकीकृत समाजवादीलाई दिएपछि उनले असहमति जनाउँदै मेयरमा उम्मेदवारी दर्ता गराएर चुनावी प्रचार–प्रसारमा जुट्दै आएका थिए।

नेता कार्कीले उम्मेदवारी फिर्ता लिएर गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार बनेका धनराज आचार्य र कांग्रेसकी कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन्।

कार्कीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन अनुसार आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएका छन्। ‘पार्टीको निर्देशन र साथीभाइको सल्लाह अनुसार मैले गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु’, प्रेस विज्ञप्तिमा उनले भनेका छन्,‘मेरो उम्मेदवारी आजैदेखि निष्क्रिय भएको जानकारी गराउँदै गठबन्धनको उम्मेदवार आचार्य र रानाभाटको चुनावी प्रचारप्रसारमा सरिक रहने छु।’

कार्कीको उम्मेदवारी फिर्ता भएपछि गठबन्धनको साझा उम्मेदवारलाई बागी उम्मेदवारले मत काट्ने चिन्ता हटेको छ। पोखरा १४ स्थानीय घर भएका काँग्रेस नेता कार्कीले गठबन्धनका उम्मेदवारलाई सघाउने भएपछि गठबन्धनका दलमा उत्साह थपिएको छ।

२६ बैशाख, २०७९, २०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।