गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्ने सपना देखेको छ : अध्यक्ष ओली

गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्ने सपना देखेको छ : अध्यक्ष ओली

पोखरा : एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले पाँच दलीय गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्ने सपना देखेको आरोप लगाएका छन्। सोमबार एमालेले पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले मतपत्र च्यात्ने, चपाउने र धाँदली गर्ने योजना बनाएको बताए। उनले भने, ‘पाँच दलीय गठबन्धनले जनताको मत पाएर हैन, चुनावमा बुथ कब्जा गर्ने, मतपत्र चपाएर निर्वाचन जित्ने सपना देखेको छ। त्यसैले यिनीहरूको मतपत्र च्यात्ने, चपाउने बानी परेको छ। 

भरतपुरमा पहिले त्यसै गरेका हुन्। त्यसैले हाम्रा साथीहरू मतदानको गणना नसकिएसम्म चनाखो बन्नु पर्छ। उनीहरूको षड्यन्त्रलाई एमालेका नेता कार्यकर्ताले विफल बनाउनु पर्छ। उनीहरूको कब्जा गर्ने योजनाको प्रतिरोध गर्नु पर्छ।’
 
ओलीले सबै खाले षड्यन्त्रविरुद्ध चनाखो हुनुपर्ने बताए। अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन लोकतन्त्र, गणतन्त्र र संसदीय ब्यवस्थाको कलंक भएको आरोप लगाए। उनले भने,‘पाँच दलीय गठबन्धन लोकतन्त्र गणतन्त्र, संसदीय व्यवस्थाको कलंक हो। यो झाडीमा जन्मिएको गठबन्धनलाई जनताले समर्थन गर्दैन। यस गठबन्धनलाई चुनावमा जनताले भोट दिदैनन।’

उनले लामो समयसम्म एमालेको रस चुसेर प्रधानमन्त्री समेत भएका माधब कुमार नेपालले आइतबार एमालेलाई सिध्याउने धम्की दिएको आरोप लगाए। उनले भने, हिजो यही ठाउँबाट एमालेमा बर्षौसम्म बसेर रस चुसेर प्रधानमन्त्री समेत भएका एक जनाले एमालेलाई सिध्याउने धम्की दिए। कांग्रेसलाई पनि धम्काउँदै धमण्ड गरे एमाले जस्तो हुने चेतावनी दिए।’

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा आफ्नो छोरीले निर्वाचनमा हारे देश दुर्घटनामा पर्ने भन्दै जनतालाई धम्काएको आरोप लगाए। उनले माओवादी अध्यक्ष दाहालमा पारिवारिक मोह र स्वार्थ मात्र रहेकाले आफ्नो पार्टीमा प्रवेश गर्न माओवादी नेता कार्यकतालाई आग्रह गरे।  

२६ बैशाख, २०७९, १५:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।