कार्यकाल सकिन लाग्दा पनि माडिका तीन वडाध्यक्षले फर्काएनन् दोहोरो सुविधाको रकम

कार्यकाल सकिन लाग्दा पनि माडिका तीन वडाध्यक्षले फर्काएनन् दोहोरो सुविधाको रकम

चितवन : माडी नगरपालिकाका तीन जना वडाध्यक्षले दोहोरो सुविधाबाट लिएको रकम फिर्ता नगरी कार्यकाल पूरा गर्न लागेका छन्। माडी नगरपालिकाका पाँच वटा वडाका अध्यक्षले राज्यबाट पेन्सन र वडाध्यक्ष दुवैको सुविधा लिएका थिए। तीमध्ये दुई वटा वडाका अध्यक्षले दोहोरो सुविधा बापतको रकम फिर्ता गरे पनि । तर, तीन जनाले भने कार्यकाल पूरा गर्न लाग्दा पनि रकम फिर्ता गरेका छैनन्।

वडा नम्बर २ का अध्यक्ष  ईश्वरी प्रसाद ढकाल, वडा नम्बर ४ का अध्यक्ष चन्द्रदीप महतो र वडा नम्बर ७ का अध्यक्ष बालकृष्ण सापकोटाले अहिलेसम्म दोहोरो सुविधा बापतको रकम फर्काएका छैनन्।

उनीहरूले वडाध्यक्ष बापतको मासिक सुविधा २१ हजार रुपैयाँका दरले लिएका थिए भने पेन्सन बापत ढकालले मासिक १२ हजार ८ सय रुपैयाँ, महतोले मासिक १४ हजार ७ सय २ रुपैयाँ र सापकोटाले मासिक १८ हजार ७ सय ३१ रुपैयाँ बुझेका थिए।

वडा अध्यक्षमा निर्वाचित भएपछि २०७४ जेठ महिनादेखि २०७६ असार सम्म उनीहरूले मासिक रूपमा लिएको दोहोरो सुविधा बापतको रकम फिर्ता गर्न महालेखा परीक्षकको कार्यालयले भनेको थियो।

महालेखाका अनुसार दुई वर्षसम्म लिएको दोहोरो सुविधा हिसाब गर्दा ईश्वरीप्रसाद ढकालको ३ लाख ३२ हजार ८ सय रुपैयाँ, चन्द्रदीप महतोको ३ लाख ८२ हजार २ सय ५२ रुपैयाँ र बालकृष्ण सापकोटाले ४ लाख ८७ हजार ६ रुपैयाँ फिर्ता गर्नुपर्छ।

स्थानीय सरकार सञ्चालन ऐनले कुनै पनि नागरिकले राज्यको दोहोरो सुविधा लिन नपाउने र दुई मध्य रोजेर एक मात्रै सुविधा लिन सक्ने उल्लेख गरेको छ।

तर, पूर्व शिक्षक समेत रहेका वडा अध्यक्षहरूले अहिलेसम्म दोहोरो सुविधा बापतको रकम फिर्ता गरेनन्। ढकाल र महतो माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन् भने सापकोटा एकीकृत समाजवादीका वडा अध्यक्ष हुन्। बाँकी दुई जना वडा अध्यक्ष कृष्णराज अधिकारी र शिवहरि सुवेदीले पहिले जानकारी नभएर दोहोरो सुविधा लिएको भन्दै उक्त रकम फिर्ता गरिसकेका छन्।

-सम्पादनसहित प्रकाशित

१४ बैशाख, २०७९, १९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।