कांग्रेस-राप्रपा गठबन्धनले एमालेलाई ओलीको गृहनगर गुम्ने डर

कांग्रेस-राप्रपा गठबन्धनले एमालेलाई ओलीको गृहनगर गुम्ने डर

इटहरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो दमक। झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमक नगरपालिकामा ओलीको प्रतिष्ठा जोडिएको छ।

अघिल्ला निर्वाचनमा एमाले विजयी हुँदै आएको यो नगरपालिकामा यस पटक भने नेपाली कांग्रेस र राप्रपाले तालमेल गर्ने निर्णय गरेपछि एमालेलाई आफ्नो बिरासत जोगाउन चुनौती देखिएको छ।

स्थानीय निर्वाचन २०७४ मा झापाका दमक नगरपालिका र कमल गाउँपालिकामा एमाले विजयी भएको थियो। यिनै दुई पालिकाको बलमा ओलीले प्रतिनिधिसभा निर्वाचनमा सहज जित हासिल गरेका थिए।

२०७४ को स्थानीय निर्वाचनमा एमाले, राप्रपा, कांग्रेस र माओवादी केन्द्र दमक नगरपालिकामा एक्लै भिडेका थिए। यस पटक भने कांग्रेस र राप्रपा तालमेल गरेर चुनावमा जाने भएका छन्। आजको बैठकले दमकमा राप्रपाले प्रमुख र कांग्रेसले उपप्रमुख पाउने गरी सहमति भएको छ। 

१० वडामा भने भागबण्डाको लागि बुधबार पुनः छलफल हुने नेपाली कांग्रेस नगर सचिव प्रकाश प्रसाईंले बताए। आइतबारदेखि जारी छलफलमा अझै वडाकै विषयमा कुरा नमिलेको उनले जानकारी दिए। 

अहिले पनि दमकमा एमालेको बलियो प्रभाव रहेकाले बाँकी दलहरु एक भएर पराजित गर्ने रणनीति बनाइएको उनको भनाइ छ। नगरपालिकामै एमालेलाई पराजित गर्न सके प्रदेश र संघीय संसदको निर्वाचनमा पनि ओलीलाई कमजोर बनाउन सकिने उनको बुझाइ छ। 

माओवादी केन्द्र प्रदेश १ का कोषाध्यक्ष गगन पुरी सरकारी जग्गा कीर्ते प्रकरणमा मुछिएपछि माओवादी दमकमा कमजोर अवस्थामा पुगेको छ। १० मध्ये ८ वडामा विजयी भएको एमालेको प्रभावशाली क्षेत्र हो दमक। अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकैले दमक बढी चर्चामा छ। 

२०७४ को निर्वाचनमा एमालेलाई मत दिएको बताउने स्थानीय महेन्द्र अधिकारी यस पटक पुनर्विचार गर्ने सोचमा छन्। स्थानीय तह निर्वाचनमा राम्रो व्यक्ति छनोट गर्नुपर्ने बताउने उनी एमालेबाट विजयी भएका मेयर रोमनाथ ओलीले खासै काम गर्न नसकेको बताए।

राम थापाको प्रचार बढी भए पनि चुनावमा प्रभाव पार्ने अवस्था नभएको उनले सुनाए। चुनावको मिति नजिकिएसँगै उनी पनि उम्मेदवारलाई चासोपूर्वक हेरिरहेका छन्। 

राजमार्गका रिक्सा चलाइरहेका एक युवाले पनि एमालेप्रति असन्तुष्टि व्यक्त गरे। यसअघि धनीपुर्जाको लोभ देखाएर विजयी भएको एमालेले खासै काम देखाउन नसकेको उनको बुझाइ छ। उनले दमकमा कांग्रेसको अत्तोपत्तो नभएको तर राप्रपाको पक्षमा माहोल देखिएको सुनाए। बजारमा राम थापाको बारेमा निकै चर्चा हुने गरेको उनको भनाइ छ। 

जुत्ता सिलाइरहेका रामविलास रामले पनि राम थापाको माहोल सकारात्मक भएको प्रतिक्रिया दिए। 'गाउँमा सबैले राम थापालाई जिताउँ भन्दै लागेका छन्। एमालेका रोमनाथलाई जिताएर ५ वर्षमा पनि एक पटक अनुहार देख्न पाइएन,' उनले भने, 'राम थापा गरिबको नेता हो। उसले हामीजस्ता सुकुम्बासीको पक्षमा बोल्छ।' 

२०७४ सालको स्थानीय निर्वाचनमा दमकमा कुल ४६ हजार ८ सय ५३ मतदाता थिए। एमालेका मेयरका उम्मेदवार ओलीले दमकबाट १० हजार ८ सय ६ मत ल्याएका थिए। राप्रपाका उम्मेदवार थापाले ७ हजार ६ सय ५५ मत प्राप्त गर्दा तेस्रो स्थानमा माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरी (गगन) ले ६ हजार ८ सय ९८ मत ल्याएका थिए। कांग्रेस ढुण्डीराज भण्डारीले ५ हजार ५ सय ३९ मत प्राप्त गरेका थिए। 

वर्तमान एमाले विरुद्धको गठबन्धन हेर्दा राप्रपामा उम्मेदवार थापा अगाडि देखिन्छन्। अघिका मेयरले जनताको अपेक्षा पूरा नगरेकोले गठबन्धन बलियो देखिएको आकलन गरिएको छ। थपिएका ११ हजार ८ सय मतले पनि निर्वाचन परिणाम प्रभाव पार्ने देखिन्छ।

७ बैशाख, २०७९, ०७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।